बैशाख २०, २०८२ शनिबार

लिफ्ट बन्ने भएपछि बिर्ता बजारको भवन सञ्चालनमा ढिलाई

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा निर्माण गरिएको कृषि तथा सामुदायिक भवन पूर्ण रुपमा दशैंदेखि सञ्चालनमा आउने भएको छ । संरचना निर्माण सम्पन्न भए पनि लिफ्ट निर्माणको कामले सञ्चालनको समय अलि ढिलो हुने वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।

बिर्तामाड नगरपालिकाले बजार व्यवस्थित गर्नका लागि सो क्षेत्रमा रहेको टहराहरु हटाएर व्यवस्थित तीनतले भवन निर्माण गरेको हो । अण्डरग्राउण्डसहितको बिर्ता बहुउद्देश्यीय व्यवसायिक भवन ५ करोड ३० लाख लागतमा निर्माण सम्पन्न गरिएको हो । वडाध्यक्ष बुढाथोकीका अनुसार बैशाखदेखि सञ्चालनको तयारी गरिएको थियो, लिफ्ट बनाउने बजेटको व्यवस्था भएपछि समय सरेको छ । तीन तले भवनमा ६४ वटा कोठा भाडामा लगाइने उनको भनाई छ ।

सो भवन निर्माण भएको ठाउँमा टहरामा व्यापार गर्नेहरु नगरपालिकाले नै व्यवस्थापन गरेर अस्थायी टहरा मार्फत व्यवसाय गरिरहेका छन् । उनीहरुले नै भवनमा प्राथमिकता पाउने अध्यक्ष बुढाथोकीको भनाई छ । उनले भने, पहिलो प्राथमिकता पुरानै व्यापारीहरुलाई हुनेछ, बजारको मापदण्ड पुरा गर्न नसक्नेहरु बस्न पाउने छैनन् ।

कृषिसहित अन्य व्यवसायीहरुलाई नयाँ भवनमा राख्ने बताइएको छ । वडाअध्यक्षको संयोजकत्वमा बजार समिति बनाउने योजना रहेको छ । उक्त समितिले नै भाडाको समेत निर्धारण गर्ने बुझिएको छ ।

उक्त भवन निर्माणको क्रममा कमसल इँटा प्रयोगको विषयले विवाद भएको थियो । कमशल निर्माण सामग्री प्रयोग गरेको भेटिएप्छि नगरपालिकाको अनुगमन टोलीले भत्काइदिएको थियो ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले अनुगमनका क्रममा कमसल इँटा प्रयोग भएको भेटेपछि वाल तुरुन्तै भत्काएर गुणस्तरीय इँटा प्रयोग गरी नयाँ वाल निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको थियो ।

निर्माण कम्पनी शिवालय-आरएस जेभीले २०७९ वैशाख ४ गते भवन निर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नुपर्नेमा हालसम्म हस्तान्तरण गरेको छैन ।

प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]