बैशाख २०, २०८२ शनिबार

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम, २९ चैतः कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो । गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उहाँ दोधारमा हुनुहुन्थ्यो ।

“गत साल सूर्योदय नगरपालिकाले रेमी कार्यक्रममार्फत कुखुरा पाल्न अनुदान दियो”, पौरखी मुखियाले भन्नुभयो, “नगरपालिकाले सात दिनको उद्यमशिलता तालिमसँगै कुखुरा पालन गर्न ४० हजार अनुदान पनि दिएपछि स्थानीय जातका कुखुरा पाल्न थालेँ । अब विदेश जान्न”

डेढ लाख लगानीमा व्यवस्थित खोर बनाएर ६०० वटा चल्ला पाल्नुभएका उहाँले कुखुरा बेचेर मनग्गे आम्दानी गरिरहनुभएको छ । उहाँमात्र होइन उक्त वडाका इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी, विराज तामाङले नगरपालिकाको अनुदानबाट कुखुरा पालन गरिरहनु भएको छ ।

साढे तीन वर्ष साउदी अरब बस्नुभएकी सपना सुवेदीलाई त्यहाँको दुःख सम्झदा आङ सिरिङ्ग हुन्छ । बाख्रा र कुखुरापालन सँगै चियाखेतीमा व्यस्त उहाँ पनि विदेश नजाने अठोटका साथ कृषि कर्ममा रमाउनुभएको छ । नगरपालिकाबाट उहाँले रु एक लाख अनुदान लिनुभएको हो ।

“गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन । रेमीले बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ । तीन वर्षमा साँवा फर्काउने मात्र हो । ब्याज लाग्दैन”, कुुखुरालाई दाना दिँदै उहाँले भन्नुभयो ।

गत वर्ष नगरपालिकाले स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । व्यक्तिगत रूपमा रु एक लाखसम्म र समूह वा सहकारीमा आबद्ध भएमा रु पाँचदेखि दश लाखसम्म बिना ब्याज ऋण दिइने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]