हामी नवौं वर्षमा
सम्पादकीय
इजलास दैनिक आजदेखि नवौँ वर्षमा प्रवेश गरेको छ । प्रकाशन यात्राको आठ वर्ष हामीले सगौरव पूरा गरेका छौँ । नवौँ वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा समस्त पाठक, शुभेच्छुक एवम् विज्ञापन दातामा हार्दिक आभार व्यक्त गर्दछौँ । सञ्चार क्षेत्रमा पछिल्लोपटक देखिएको चुनौतिलाई चिर्दै पाठकको दृष्टिकोणमा एउटा अब्बल प्रकाशनको रुपमा इजलासले आफूलाई स्थापित गरेको छ । इजलासले समाज रूपान्तरणमा सञ्चार क्षेत्रमार्फत निर्वाह गरेको भूमिका हामी आफैँले भन्नुभन्दा पनि आम पाठकले मूल्याङ्कन गर्नु भएकाे छ । हामीले निर्वाह गरेको भूमिका कति निष्पक्ष र प्रभावकारी छ भन्नेमा गुणदोष छुट्याउने जिम्मा आम पाठककाे हो । पाठकको इजलासमा परीक्षित हुन हामी पटक- पटक तयार छौँ । सञ्चार क्षेत्रले जुन भूमिका निर्वाह गर्नुपर्छ, त्यो भूमिकामा हामी हिजो पनि विचलित थिएनौँ । आज पनि छैनौं र भोलि पनि हुने छैनौँ ।
राष्ट्र र जनताप्रतिको दायित्व बोध गरेर हामीले आफूलाई समाजको आर्थिक सामाजिक रूपान्तरणकाे अभियानमा उभ्याउँदै आएका छौँ । आठ वर्षको अवधिमा हामीले कयौँ जटिलता भोगेका छौँ । इजलासका पाठक यस विषयमा विज्ञ पनि हुनुहुन्छ । अखबारी लेखन संकटमा पर्दै आएको यो अवस्थामा हामीलाई पाठक वर्गबाट प्राप्त भएको माया, सद्भाव र हौसला सदैव प्रेरणादायी छ । अझ विज्ञापनदाताले निर्वाह गर्नु भएको भूमिका हामीले कुनै पनि अर्थमा भुलेका छैनौँ । धेरैको मेहनत र परिश्रमको बलमा इजलास आजको दिनसम्म आइपुगेको हो । हुन त एउटा अखबारका लागि आठ वर्षको समय केही पनि होइन । तर, हामीले यो पछिल्लो आठ वर्षमा राजनीतिक क्षेत्रमा भएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेका छौँ । जनताले प्रत्यक्ष चासो, चिन्ता र सरोकार राख्ने विषय हो राजनीति । राजनीतिको आमूल परिवर्तनको श्रृङ्खलामा हामी त्यस्ता साक्षी हौं, जसले संघीय संरचनाको प्रारम्भिक कार्यान्वयनको चरण देख्ने अवसर प्राप्त गरेको छ । यसमा हामीलाई गौरव पनि छ । कोरोना सङ्क्रमणको कहालीलाग्दो परिवेश पार गरेर जनजीविकाका मुद्दाहरूलाई उठाउँदै सरकारलाई घच्घच्याउने मामिलामा हाम्रो प्रत्यक्ष भूमिका रहँदै आएको छ ।
सामाजिक जीवनयापनका कयौँ विषयमा हामीले कलम चलाएका छौँ । हामीले सधैँ आफूलाई आलोचकका रुपमा प्रस्तुत गर्यौ । सरोकारवालालाई प्रश्न गर्ने मामिलामा हामी सदैव चनाखो दृढ र प्रतिबद्ध पनि छौँ । हाम्रा कैयौँ प्रश्नले पत्रकारितालाई जीवित राख्न सहयोग पनि गरेको छ । व्यक्ति, संस्था वा समुदायले बोकेका वा आत्मसात गरेका मुद्दालाई हामीले सामूहिकताका आधारमा महत्वपूर्ण स्थान पनि दिएका छौँ । आग्रह पूर्वाग्रहको मनस्थितिबाट माथि उठेर विचलित नभई उभिने हाम्रो साहस आगामी दिनमा अझै सशक्त र प्रभावकारी हुनेछ । कैयौँ प्रभावबाट मुक्त भएर निष्ठापूर्ण पत्रकारितामा आफ्नो जगलाई बलियो बनाउने अवसरलाई हामीले भरपुर सदुपयोग गरेका छौँ । पाठकबाट प्राप्त हुने आलोचना र टिप्पणीलाई स्वागत गर्दै आगामी दिनमा अझ सशक्त ढंगले प्रस्तुत हुने मामिलामा हामी गम्भीर र दृढ छौँ ।