बैशाख १९, २०८२ शुक्रबार

विधुतीय तारको व्यवस्थापन गर

सम्पादकीय
सडकको दायाँबायाँ अव्यवस्थित बिजुलीका तार छन् । यसको व्यवस्थापनमा सरोकारवाला कसैको पनि ध्यान गएको पाइँदैन । लत्रिएका अव्यवस्थित तारका कारण मानवीय क्षतिका घटना पनि भइरहेका छन् । यति हुँदा समेत सरोकारवालाको कानमा बतास लाग्न सकेको छैन । जथाभावी लत्रिएका तारका कारण करेन्ट लागेर मानिसको ज्यान गइरहेको छ । सोमबार मात्रै लत्रिएको बिजुलीको तारबाट करेन्ट प्रवाह हुँदा पाथिभरा दर्शनका लागि गएका एकै घरका तीनजनासहित चार जनाको मृत्यु भएको छ । ताप्लेजुङमा भएको दुस्खद यो घटनाले फेरि एकपटक धेरैलाई स्तब्ध पारेको छ । सडकको दायाँबायाँ तारहरू अव्यवस्थित रुपमा रहेका छन् । त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा ढिलाई भइरहेको छ । जसका कारण बर्सेनि विभिन्न जिल्लामा मानवीय क्षतिका घटना भइरहेका छन् ।

ताप्लेजुङमा मात्रै होइन, विद्युत् सेवा विस्तार भएका सबै जिल्लामा अव्यवस्थित तारबारको समस्या छ । लत्रिएका तारबारमा अल्झिएर होस् वा अरु कुनै ढङ्गले मानिसले ज्यान गुमाइरहेका छन् । पोलको उचाइ बढाएर अथवा सडक र घर नजिक लत्रिन नदिने व्यवस्थापन मिलाउन ढिलाई भइसकेको छ । सरोकारवाला निकाय जति उदासीन हुन्छ, उति नै मानवीय क्षतिका घटना हुन्छन् । ताप्लेजुङको यो मानवीय क्षतिको घटनाबाट सरोकारवाला सबैले पाठ सिक्नुपर्छ । विद्युतीय पोलहरू कमजोर भएर ढल्ने अवस्था हुँदासमेत मर्मतका लागि समयमा चासो नदिने सरकारी रवैया घटनाको मुख्य कारक हो । तुरुन्तै मर्मत गर्ने वा प्रतिस्थापन गर्ने काममा भइरहेको ढिलाईले थप जोखिम निम्त्याइरहेको छ । सरोकारवाला निकायलाई सचेत गराउन स्थानीय नागरिकको भूमिका समेत महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काममा सचेत नागरिकले समेत अग्रसरता लिन जरुरी छ ।

जोखिमयुक्त ठाउँहरूको पहिचानका लागि निगरानी समिति बनाउने, समस्या देखिएका ठाउँमा अविलम्ब प्राविधिक परिचालन गरी तारबार व्यवस्थित गर्ने, विद्युत् आपूर्ति व्यवस्थित र सुरक्षित बनाउने नीति अवलम्बन गर्ने जस्ता काम तुरुन्त गरिनुपर्छ । लापरवाहीले कोही कसैको ज्यान धरापमा पार्ने अधिकार छैन । सरोकारवालाको संवेदनशीलता आजको दिनमा महत्वपूर्ण शर्त हो । आफ्नो जिम्मेवारी र भूमिकामा विद्युत् प्राधिकरण लगायतका निकायले आफूलाई अब्बल साबित गर्नुपर्छ । आफ्नो प्राथमिकताको क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने दायित्व पनि प्राधिकरणको हो । यसमा अरुलाई दोष देखाएर उम्किने अवस्था प्राधिकरणका लागि छैन । ताप्लेजुङमा भएको मानवीय क्षतिको घटनाबाट प्राधिकरणले समेत पाठ सिक्न जरुरी छ ।

प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]