सञ्जालबाट एकता भाँड्ने काम नगरौं
सम्पादकीय
नेपाली समाजका आफ्नै मर्यादा छन् । हुन त समाजका आफ्नै मर्यादा र सीमा हुन्छन् । सामाजिक बनोटले समेत समाजको मर्यादालाई आत्मसात गर्छ । हरेक मानिसले आधारभूत रूपमा सामाजिक मर्यादाको पालना गर्नु पर्छ । मूलत त सामाजिक मर्यादा भनेको समाजको अडान हो । सामाजिक नियम र परम्पराहरूलाई समेत सामाजिक मर्यादाका रुपमा बुझ्न सकिन्छ। । आपसी व्यवहार र सम्बन्धलाई दिगो, भरपर्दो र मित्रवत बनाइ राख्नका लागि सामाजिक मर्यादाको खाँचो पर्छ । आपसी सहयोग, सद्भाव र समन्वयबाट समाज चल्छ । यो एउटा सुसंस्कृत र सभ्य समाजका लागि ठूलो सम्पत्ति पनि हो । तर, आजभोलि समाज मर्यादित छैन । सामाजिक मर्यादालाई समाजले भुल्दै गएको छ । अझ भनौ, समाजका नागरिक सामाजिक मर्यादाको सीमा नाघेर आफूलाई सभ्य बनाउने प्रयासमा छन् ।
समाजले यतिबेला आपसी सहयोग बिर्सेको छ । आपतविपतमा गर्नु पर्ने समन्वय भुलेको छ । ऐँचो पैँचो सकिएको छ । आ(आफ्नै व्यवहार, परिस्थिति र बाध्यताले नागरिकहरू थिचिएका छन् । हिजोका दिनमा यस्तो परिस्थितिमा घरपरिवारले समाजसँग छलफल गर्थे । आज त्यस्ता छलफल हुन छोडेका छन् । मानिस आफ्नो कुरा कसैले थाहा नपाओस् भन्ने चाहिरहेको छ । आफ्नो समस्यासँग एकल जुध्ने प्रयत्नमा छ । प्रविधिको बढ्दो प्रयोग र सामाजिक सञ्जालको उपलब्धताले पनि होला, मानिस एकल काटे बन्दै गइरहेका छन् । अझ सञ्जाल प्रयोगकर्ताले उग्र भएर गर्ने मर्यादाहीन टिप्पणीले सामाजिक मर्यादालाई धुलिसात बनाइरहेको छ ।
समाजको एकता र शान्ति भाँड्ने गरी सामाजिक सञ्जालमा प्रकट हुने अभिव्यक्तिले समाज गतिहीन बन्दै जाने खतरा पनि उत्तिकै बढेको छ । समाजको एउटा सदस्यका रूपमा मानिसले आफूले आफैंलाई बिर्सेको छ । अरुलाई होच्याएर आलोचना वा टिप्पणी गर्दा आफ्नो इज्जत र मान प्रतिष्ठा बढ्छ भन्ने संकुचित सोचाई र धारणा मानिसमा व्याप्त बन्दै गएको छ । हिजोका दिनमा आदर र इज्जत जसरी आदान प्रदान हुन्थ्यो, आज त्यो हराउँदै गएको छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न हिच्किचाउनु पर्ने परिस्थितिको सामना गर्दैछ समाज । समाजका सदस्यहरू त्यसलाई नजिरका रूपमा स्थापित गर्न आफ्नो भूमिका खोजिरहेका छन् । हिजोका दिनमा सन्तुलित थियो मान्छे । व्यवहार सन्तुलित थिए । जिम्मेवारीले पोल्थ्यो । तर, आज मान्छे गैरजिम्मेवार बन्दैछ ।