बैशाख १९, २०८२ शुक्रबार

नयाँ एसपी सामु चुनौतिका चाङ

सम्पादकीय 

भर्खरै झापा प्रहरीको नेतृत्व फेरिएको छ । प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी प्रमुखका रूपमा झापामा एसपी राजन लिम्बूलाई खटाएको छ । यसअघिका प्रहरी प्रमुख मिलन केसी सरुवा भएका छन् । प्रहरीमा आउजाउ र सरुवा बढुवा नियमित विषय हुन् । प्रहरीमा मात्रै नभनाैँ, सरकारी नोकरीमा यो प्रक्रिया चलिरहन्छ । तर, आफ्नो जिम्मेवारीमा रहँदा कसले कति काम गर्यो भन्ने विषय सधैँ चर्चामा हुन्छ । हुन त यो चर्चै चर्चाको जमाना पनि हो । प्रहरी अधिकारीमा देखिने प्रचारमुखी कार्यशैली पनि यसभित्र लुकेको छ । यस अघिकाले गरे कि गरेनन् भन्नुभन्दा पनि अब नयाँ आउने प्रहरी प्रमुखका लागि चुनौतिहरु के के हुन सक्छन् ? हुन त झापाको प्रहरी कमाण्ड सम्हाल्न आइपुगेका लिम्बूका अगाडि यहाँका थुप्रै समस्याको चाङ छ । प्रधानमन्त्रीको गृह जिल्लामा रहेका समस्याका विषयमा एसपी लिम्बू पर्याप्त जानकार पनि छन् । यसअघि झापाको दमकमा बस्दाको उनको अनुभवले पनि यहाँ देखिएका समस्याको समाधानका लागि अगाडि बढ्न उनलाई सजिलो हुनेछ ।

आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक हिसाबले पनि झापा संवेदनशील जिल्ला हो । भारतीय सीमावर्ती क्षेत्रको प्रभावले पनि उत्तिकै जटिल समस्या झापामा छन् । मूलत लागूऔषध दुर्व्यसनकाे एउटा अघोषित अखडाका रूपमा झापा स्थापित भएको छ । झापाका लागि यो एउटा ठूलो बज्रपात हो । यसलाई अधिकतम् नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीले चाल्ने कदम निर्भर छ । सीमावर्ती क्षेत्रमा देखिएको सुरक्षा चुनौति पनि अहिलेका लागि जटिल समस्याको विषय हो । खुला सीमाका कारण आपराधिक पृष्ठभूमिका मानिसको आवतजावत हुन सक्नेप्रति पनि प्रहरी नेतृत्वको ध्यान जान सक्नुपर्छ ।

गरिबी, अशिक्षा र अवसरको अभावका कारण पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रलोभनमा पारेर ल्याइएका चेलीहरू सीमा कटाइने गरेका घटना पनि बग्रेल्ती छन् । यसविरुद्ध पनि प्रहरी संगठनलाई चुस्त दुरुस्त राख्नु आजको आवश्यकता हो । खुला सीमाका कारण अवैध रूपमा हुने आयात निर्यातको निराकरणका लागि समेत प्रहरीको परिचालन प्रभावकारी हुनुपर्छ । राजस्व चुहावट र आपराधिक गृहको प्रभाव रोक्नका लागि प्रहरी अग्रसर नभई हुँदैन । झापाको होटलहरूमा अवैध रुपमा यौन धन्दा चल्छ । यसको नियन्त्रणका लागि पनि प्रहरीले काम गरेजस्तो गर्दै आएको छ । संगठित अपराधसँग जोडिने यस प्रकारका विषयले हत्या, हिंसा बलात्कार जस्ता घटना पनि हुँदै आएका छन् ।

जनतासँगको विश्वासको सम्बन्ध बलियो बनाएर सूचना प्रवाहलाई सजिलो बनाउने दायित्व प्रहरीको हो । प्रहरीले गर्ने समन्वयमा कैयौँ विषय लुकेका छन् । प्रविधिको प्रयोग गर्दै गुप्त सूचना संकल्पमा समेत निगरानी राख्नुपर्ने अवस्था छ । सीमा सुरक्षा मजबुत पार्न भारतीय सुरक्षा अधिकारीहरूसँगको समन्वयलाई समेत प्राथमिकतामा राखिनुपर्छ । प्रहरी आफैँभित्र हुने मिलोमतो, शक्तिको दुरुपयोग र लाभहानीको हिसाब किताब नियन्त्रण पनि नयाँ प्रहरी प्रमुखका लागि चुनौतिको विषय हुन सक्छ ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]