बैशाख २४, २०८२ बुधबार

गुरुकुलको घटना छानविन गर

सम्पादकीय

शिवसताक्षीको एउटा गुरुकुलमा एकजना बालकले आत्महत्या गरेको घटना शंकास्पद देखिएको छ । १२ वर्षीय उत्सव गौतमको मृत्युको विषय शंकास्पद देखिएको हो । यद्यपि, घटनाका विषयमा छानबिन गर्ने सन्दर्भमा प्रहरी प्रशासनले तदारुकता देखाएको छैन । पीडित परिवारले घटनालाई शंकास्पद रुपमा लिइरहेका छन् । उत्सवले आत्महत्या गरेको भनिरहँदा त्यसको कारण खोतल्ने प्रयास गरिनु पर्छ । तर, यस विषयमा सरोकारवालाहरूले चासो दिइरहेका छैनन् ।

गौतमको परिवार पीडा लिएर भौतारिँदै हिँडिरहेको छ । गुरुकुलको स्टोरमा मृत अवस्थामा भेटिएका बालक कक्षा ५ मा पढ्दै आएका थिए । उनले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको पारिवारिक दाबीका बीच प्रहरीले घटनाको अनुसन्धानका लागि जाहेरी समेत दर्ता गर्न मानिरहेको छैन । के पीडित परिवारले छानबिन गरियोस् भन्ने माग राखेर दिएको जाहेरी दर्ता गर्न प्रहरी प्रशासनले अस्वीकार गर्न मिल्छ ? शंकास्पद देखिएका घटनामा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने दायित्व प्रहरीको होइन ? प्रभावकारी अनुसन्धानको विधिमार्फत घटनाको वस्तुगत अध्ययन गर्ने अधिकार प्रहरीले मात्रै राख्छ ।

यसर्थ, पीडित परिवारलाई आश्वस्त पार्ने ढङ्गमा प्रहरीले आफ्नो अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै घटनाका सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाउनु पर्छ । गुरुकुल प्रशासनले घटनाको छानबिनका लागि आफूहरूले सघाउने बताइरहेको छ । यस्ता घटनाले अरु विद्यार्थीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न गरेको परिस्थितिमा घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्छ । घटना भएको एक महिना बित्न लाग्दा समेत छानबिनको प्रक्रिया अगाडि नबढ्नु आश्चर्यको विषय हो । शंकास्पद देखिएका कतिपय घटनामा प्रहरीले समयमा छानबिन नगर्दा उत्पन्न भएको परिस्थितिले थप जोखिम निम्त्याएका उदाहरण हाम्रै वरिपरि छन् । त्यस्ता घटनामा अर्को मानवीय क्षति भएको विषयलाई समेत ध्यानमा राखेर शङ्का निवारणका लागि भए पनि प्रहरीले पीडित परिवारको माग बमोजिम छानबिनको प्रक्रियालाई अविलम्ब सुरु गर्नुपर्छ ।

प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]