जेष्ठ ३, २०८२ शुक्रबार

जोखिमयुक्त क्षेत्रका बारेमा बेलैमा सोचौं

सम्पादकीय
वर्षेनि बाढीको समस्याले झापा पीडित हुन्छ । यहाँका खोला नालामा उर्लिएर आउने बाढीको समस्या नौलो होइन । बाढीबाट सयौं नागरिक बर्सेनि विस्थापित हुन्छन् । उनीहरूको पुनस्थापनाका लागि सरकारी तहबाट पर्याप्त र प्रभावकारी पहल भएको पाइँदैन । विस्थापितहरू बाढी घटेपछि फेरि खोला किनारमै कटेरो बनाएर बस्छन् । अर्कोपटक बाढी आउँदा फेरि उही समस्या दोहोरिन्छ । खोलाको कटान रोक्न सक्ने सामथ्र्य राज्यसँग छैन भने पनि हुन्छ । खोलाले बर्सेनि धार परिवर्तन गर्दै आएपछि नजिकका बस्तीहरु प्रभावित हुन्छन् । कतिपय अवस्थामा पानीको सतह नघटेसम्म आउजाउमा समेत समस्या हुने गरेको छ । बाढी घरभित्र पसेपछि त्योभन्दा ठूलो अरु समस्या के होला र ? प्रभावित क्षेत्रका बासिन्दाले समयमा उद्धार र राहतको प्रतिक्षामा ठूलो सास्ती व्यहोर्नु पर्छ ।

विपतको बढ्दो जोखिमका कारण दीर्घकालीन सामाजिक आर्थिक क्षति हुँदै आएको छ । यस्तो अवस्थामा पूर्व तयारी तथा व्यवस्थापनका काम थाल्नु उपयुक्त हुन्छ । विपतको सम्भावित संकटलाई बुझेर होला नेपाल रेडक्रस सोसाइटी झापाले प्रभावित क्षेत्रमा गैरखाद्य सामग्री पठाउने काम सुरु गरेको छ । टेन्ट कम्बल सरसफाई सामग्री कपडा लगायत अरु थुप्रै गैर खाद्य सामग्री सम्भावित प्रभावित क्षेत्र वरिपरि लगिएका छन् । अग्रिम रूपमा यस्ता सामग्री व्यवस्थापन गर्ने र राहत वितरणमा तदारुकता देखाउने रेडक्रस जस्ता परोपकारी संस्थाको भूमिका निकै प्रशंसनीय छ ।

विपद् व्यवस्थापनमा ‘पूर्व तयारी’ महत्वपूर्ण विषय हो । जोखिम बढ्दै गएको बेला आवश्यक सामग्रीहरू जोखिमयुक्त क्षेत्रहरूमा पठाउनु पूर्व तयारीको महत्वपूर्ण पाटो हो । समयमा राहत नपाइरहेको स्थिति अन्त्यका लागि समेत यस प्रकारको तयारी आवश्यक छ । यसका लागि स्थानीय संयन्त्र बलियो हुनुपर्छ । स्थानीय तह वा सामाजिक संघसंस्था रेडक्रस र समुदायमा आधारित अरु समूहहरूले काम गर्न सक्छन् । यो उनीहरूको प्राथमिक दायित्व पनि हो । यसबाट कोही पनि टसमस हुनु हुँदैन । विपत् व्यवस्थापनका लागि पूर्व तयारी गर्ने सन्दर्भमा सरोकारवालाहरू बीचको छलफल समेत अनिवार्य छ । उद्धारमा खटिने टोली हुन् वा कुनै पनि स्वयंसेवक, उनीहरूको भूमिकालाई थप समन्वयकारी र प्रभावकारी बनाउन आवश्यक छ । विपदका बेलामा सूचना व्यवस्थापन पनि महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा विद्युत समेत नहुँदा सूचना प्रवाहमा समस्या हुने खतरालाई पनि ध्यान दिनुपर्छ । आवश्यक सतर्कता सबभन्दा ठूलो महत्वपूर्ण विषय हो । सतर्कता अपनाउन सकियो भने जोखिमबाट बच्न सकिन्छ । जोखिमको सम्भावित आँकलन गरेर त्यसबाट बस्ती उपाय अवलम्बन गर्ने सन्दर्भमा नागरिक तहबाट पनि सोचिनु पर्छ । समय छँदा अलमल र हेलचेक्राई गर्ने र विपत परेपछि आत्तिने वा हतारिने मनस्थिति राम्रो होइन । सम्भावित धनजनको क्षतिबाट बस्ने गरी विपत नियन्त्रणका उपाय अपनाइनु पर्छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०८२ शुक्रबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]