‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दैछ’
मोरङ, ७ जेठः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना र पूर्वी पृतना हेडक्वाटर सुनसरीको व्यवस्थापनमा सञ्चालित ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिल चौरमा भूकम्प तथा आगलागी जोखिम न्यूनीकरण पूर्वअभ्यास गरिएको थियो ।
सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणको क्रममा कमजोरी एवं त्रुटिका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको हो । उहाँले विपद्को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखी जोखिम व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले नीति र कानुन निर्माण गरी विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व बोध गर्दै सचेतना कार्यक्रम, स्रोत साधनको व्यवस्था गरिने बताउनुभयो । उहाँले आधुनिक प्रविधि, तालिम प्राप्त सुरक्षा निकायका जनशक्ति, स्थानीय निकायको सहयोगमा प्रदेश सरकारले झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन केन्द्र’ निर्माण सुरु गरेको जानकारी दिनुभयो ।
दुई दिने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता थियो ।