जेष्ठ ८, २०८२ बुधबार

न्यू मिडिया र आगामी कार्यदिशामाथि प्रेस चौतारी झापाको प्रशिक्षण

बिर्तामोड – प्रेस चौतारी झापाले बुधबार पत्रकारितामा नवीन प्रविधिको प्रभाव र संस्थाको भावी योजना विषयमा सदस्यहरूलाई प्रशिक्षित गरेको छ । पत्रकारितामा न्यू मिडियाको प्रयोग र भावी कार्यदिशाका विषयमा प्रेस चौतारीले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

चौतारीको सभाहलमा आयोजित प्रशिक्षणमा प्रेस चौतारी नेपालका शीर्ष नेतृत्वद्वारा प्रशिक्षण प्रदान गरिएको छ ।कार्यक्रममा केन्द्रीय अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, सचिव विक्रम लुइटेल, कोशी प्रदेश इन्चार्ज नुतन श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभयो ।

केन्द्रीय नेतृत्वले चौतारीलाई एक सुदृढ र व्यावसायिक पत्रकार संगठनको रूपमा स्थापित गर्ने योजनामा आफूहरू जुटेको स्पष्ट पारेको छ । अध्यक्ष पाण्डेका अनुसार याे वर्षलाई ‘प्रशिक्षण वर्ष’को रूपमा मनाउने निर्णय गरिएको छ ।

पत्रकारहरूको सीप र क्षमता विकासलाई प्रेस चौतारीले पहिलो प्राथमिकतामा राखेको अध्यक्ष पाण्डेले बताउनु भयो । महासचिव लामाले संस्थालाई सबल र प्रभावशाली बनाउन सबै सदस्यलाई प्रशिक्षित गर्ने योजना प्रस्तुत गर्नु भयो ।

उपाध्यक्ष चेतन अधिकारीले डिजिटल प्रविधिको विकाससँगै न्यू मिडियाको प्रयोग व्यापक बन्दै गएको उल्लेख गर्दै त्यससँगै आएका चुनौतिहरूलाई सामना गर्न सक्षम जनशक्तिको खाँचो रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोखरेलले स्थानीय सञ्चार माध्यमको प्रवर्द्धनमा स्थानीय सरकारको अपेक्षित सहयोग नपाएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । केन्द्रीय सदस्य माधव विद्रोहीले झापाको सञ्चार क्षेत्रको पछिल्लो अवस्था प्रस्तुत गर्नु भयाे ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले सदस्यहरूलाई संगठनको भावी कार्यदिशा र कार्ययोजनाबारे स्पष्ट जानकारी गराउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको जानकारी दिनुभयो ।

उक्त अवसरमा झापा जिल्ला कमिटीद्वारा तयार पारिएको आगामी कार्ययोजना प्रेस चौतारी झापाका इन्चार्ज मनकुमार गदालले केन्द्रीय महासचिव लामालाई हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव युवराज आचार्यले गर्नु भएको थियो भने उपाध्यक्ष राजु पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ८, २०८२ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]