जेष्ठ १०, २०८२ शुक्रबार

एक सालीन अभिभावकको अवशान !

राजेन्द्र गौतम 

तिथि मिति ठ्याक्कै याद भएन । यो चाहिँ हेक्कामा छ, तपाईंसँग पहिलोपटक भेट भएको २०६५ साल फागुनमा हो । जतिबेला तपाईं  ( पदमकुमारी कडरिया – ६७, सपरिवार )  माता मन्दिर नजिक बस्नु भएको थियो । सानो घर, सत्कार निक्कै उच्च । तपाईंले पकाएको खाना  त्यही दिन हो, मैले पहिलोपटक खाएको । पहिलो भेट नै निक्कै गहिरो गरी गडेको छ । खाना थपेर नै खाएको हो । अहिले पनि त्यो दिनको याद तपाईंको सम्झना झैँ मानसपटलमा अमीट छ ।

त्यहाँबाट सुरु भएको भेटको शृङ्खला २०८२ सालको पहिलो  महिनाको अन्तिम दिनसम्म चल्ह्यो । भौतिक भेटको शृङ्खला, जेठ ४ आइतबार बिहानैबाट पूर्णविराम लाग्यो । अबको भेट मैले महसुस गर्ने र भावनात्मक मात्रै हुनेछ । यो सांसारिक नियम हो ।  यो नियमलाई लल्कार्ने न मेरो तागत छ, न तपाईंको थियोे । न अरु कसैको नै छ ।

मैले पहिलोपटक खाना खाएको र तपाईंलाई साँझमा देखेको ।त्यो घरमा तपाईंहरु कति रहनुभयो, त्यसमा म एकपटक बाहेक पुगिनँ । पछि किराँतचोक सर्नुभयो । आउने जाने क्रम निक्कै बाक्लो बन्यो । त्यसमा तपाईंको स्नेह प्रमुख कारण हो । तपाईकी  छोरीरत्न  कल्पना  र म सँगै काम गर्ने भएकोले पनि म बारबार घरमा आइरहेँ ।  खाइरहेँ, बसिरहेँ ।

अहिले तपाईं यो घरमा होइन, धरामा नै हुनुहुन्न । तपाईंले  छाडेर गएको घरमा जाने क्रम रोकिएको छैन, रोकियोस् पनि कसरी ! पीडादायी यो चोटमा भावनात्मक मल्हमपट्टी गर्ने समय हो । दिनचर्या यही हो, तपाईंका सत्गुणको कुरा सुन्यो । कनकाई कोटिहवन आर्यघाटमा दनदनी दन्किएको आगो सम्झियो । त्यही तपाईंलाई भस्म बनाउने त्यही दृष्य दिमागमा राख्यो र  निन्याउरो अनुहार हेरेर फर्कियो ।

यो ०६८ सालतिरको कुरा हो । त्यसताका मेरो जीवनसाथी धनु हिमाली मावि पृथ्वीनगरमा कार्यरत थिएन् , बिर्तामोडमा म एक्लै बस्थेँ । खाना पकाउन अल्छी लाग्यो कि तपाईंको घरमा हिंड्ने बानी नै पर्‍यो । म बिहान, बेलुका जतिबेला पनि बिना संकोच टुप्लुक्क पुगिहाल्थे। एउटै अफिसका सहकर्मी कल्पना साथी भएपछि मलाई उसँग जान कुनै रोकटोक नै भएन । आउने जाने चलिरह्यो, परिवारको एउटा सदस्य झैँ । घर आफ्नै जस्तो। घरमा जे छ त्यो खानेदेखि मिठोमसिनो भाग लागिरह्यो ।

शनिश्चरेमा घर किनेपछि तपाईंहरु उतै लाग्नुभयो । बिर्तामोडबाट ५ / ६ किलोमिटर टाढा भएपनि म तपाईंको घर धेरै पटक गएँ । बिर्तामोड कोठामा अल्छी लाग्यो कि शनिश्चरे हिँडिहाल्यो । खायो, बस्यो, पारिवारिक गफ यसरी नै समय अघि बढीरह्यो

। एकपटक धनुसहित तपाईंको घर शनिश्चरे घर गएका छौँ, हामी ।  आज पर्यन्त यो रोकिएको छैन, चलिनै रह्यो, अहिले तपाईं हुनुहुन्न  तर पनि यो क्रम चलिकै छ । र, मलाई लाग्छ, अब पनि चलिरहनेछ ।

भावनाका अगाडि भूगोलले हारिरह्यो । भावनाले जित्यो । तर, त्यही भावनात्मक महल आज भत्किएको छ । भताभुङ्ग भएको छ । भग्नावसेषमा रुपान्तरण मात्रै भएको होइन, भावना बाहेक हाम्रो भागमा केही छैन ।  तपाईं महाप्रस्थानको यात्रामा निस्कनु भयो, हामीसँग भनिने मात्र एउटा जीवन छ ।

जीवनको आखिरीतिर वैशाख ३१ गते तपाईं अस्पतालको वेडमा हुनुहुन्थ्यो । तपाईं वेडमा रहदाको तस्वीर मसँग सुरक्षित छ । आफूसँग भएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्न म निक्कै हतारो गर्ने मान्छे हो । तपाईंको धैर्यताको साक्षी बनेको म त्यो तस्वीर पोष्ट गर्न पटक्कै हतारिइनँ । त्यो तपाईंको भावना विपरीत हुन्थ्यो । किनकि, तपाईं नहडबढाउने मान्छे । चिनजान भएदेखि नै एउटा असल, सरल, शालीन मान्छेलाई अधैर्यहरुले मृत्यु पश्चात् असहजतामा पार्नुहुन्न भन्ने मलाई लागिरह्यो ।

मसँग तपाईंका अरु थुप्रै तस्वीरहरु छन् । एउटा तस्वीर चाहिँ तपाईंको देहावसानकै दिन पोष्ट गर्न चाहेँ तर गरिनँ। त्यसको आफ्नै कारण छ । यही स्मरण आलेखमा कतै न कतै कारण खोल्ने छु । त्यही तस्वीर संस्मरण आलेखमा छ । मेरो निर्क्यौल  हो, यो शान्तिसँग जोडिएको छ । तपाईं जहाँ हुनुहुन्छ, तपाईंको आत्माले शान्ति पाओस्, मेरो कामना । जीवनभरको शान्त र अटल मानिसलाई अभिषेकीय प्रतीकसहितको श्रद्धासुमन !

याद याद हो । सम्झना सम्झना हो । तर, स्नेह र सद्भाव कति गाढा हुन्छ, त्यो व्यक्त गर्ने शब्द मसँग छैन । यद्यपि, एउटा कुरा छ, त्यो हो, तपाईंले मलाई गरेको विश्वास । यो विश्वास यस्तो विश्वास हो, तपाईं रहदा जुन उचाईमा थियो, नरहदा पनि धरमराउने छैन । तपाईंले हामीप्रति दर्शाएको भाव र सिकाएको पाठ पनि त्यही हो, जो डगमगाउने छैन ।

मानिसका कुरा हुन्, थुप्रै हुन्छन् । मैले देख्दा कहिल्यै नरिसाउने तपाईंको स्वभाव मानिसकै हो ? यो प्रश्न सर्वथा अनुत्तरित रहनेछ, मेरो जीवनकालभर  ।  एउटा आदर्श मानिसको अभिभावकीय साथ गुमाउँदा कसलाई पीडा हुन्न र ! त्यो पीडा स्वभाविक हो, मलाई पनि छ । यो स्मरण लेख झैं तपाईंको याद सधैं – सधैं रहनेछ ।

मैले ८० साल पुस ५ गते  बुबा गुमाएँ । अहिले कल्पनाले आमा गुमाएकी छन् । एउटा संयोग छ, मेरो बुबाको नाम हो, डिल्लीप्रसाद । आज डिल्लीराम कडरियाले श्रीमती गुमाएका छन् ।  कमल र गोपालले आमा गुमाएका छन् । बुहारीद्वय रमा र रोजीले सासुआमा गुमाएका छन् । श्रीमती र आमा गुमाउँदाको पीडा उनीहरूलाई छ । तर, मलाई पीडा छ, अकन्टक सरल र सहनसिलताको प्रतिमूर्ति अनि संघर्षको गर्भमा एउटा शालीन अभिभावक गुमाएको  ।

मानिसको अवसान कसैका लागि प्रिय हुँदैन । शत्रुकै मृत्यु पनि अप्रिय हुन्छ, यो मानवीय सम्वेदना हो । गुणले भरिपूर्ण एउटा मानिस गुमाउँदा सारालाई पीडा छ । हो, निधनसँगै तपाईं हामीबाट भौतिक रूपमा लुप्त हुनुभयो । हामीले साथ गुमायौँ,लाग्छ  धेरैले धेरै  गुमाएका छन् । धेरैकी प्रिय “कान्छीदिदी ” अब कहिल्यै उनीहरूले सकल पाउने छैनन् । कतिले  “धाप काइली ” गुमाए । यसको अर्थ जान्नेले नै लगाउने छन् । तपाईंको अवसानसँगै समाजले गुमाएको चाहिँ एउटा निस्फिक्री र सरल स्वभाव हो ।

हामी जीवित छौँ । ठाकठुक पर्न सक्छ । तर, तपाईं जीवित रहुन्जेल त्यो कहिल्यै भएन । एउटा आदर्श अभिभावकको अवसानसँगै यो बिलुप्त भएको छ । मैले धेरै अभिभावकबाट धेरै सिकेको होला ! तपाईंबाट सिकेको कुरा चाहिँ उदारता हो । उदारता भनेको धनदौलत फजुज बाढ्नु मात्र होइन । भावनाको उदारता, मनको उदारता , प्रेमको उदारता, व्यवहारको उदारता । जो गुण तपाईंमा थियोे । धेरैमा पाइन्न र छैन ।

आफूसँग जेछ, त्यो बाँढेर खानु पर्ने । एक्लै के खानु र ! यो कुरा मैले आफैं र अरुबाट सिके पनि तपाईंले सिकाएको चाहिँ निरन्तर अभ्यासमा रहने छ । किनकि, त्यो त्यसकारण भिन्न छ, त्यहाँ अंश थिएन । धेरथोरको भाग थिएन । पुगनपुगको कुरै थिएन । आफैंले खान मेहनतले बनाएको अचार अलिकति लानु । साग छ,सिमी छ,  कुरिलो दुईचार वटा छ लिएर जानु । दुईजनालाई पुगिहाल्छ नि! घिउ बनाइदिएको छ , लिएर जानु । ओइ! ( कल्पना ) त्यो सामान हाल्दे !  हाल्दिस् ? यो दिलदार मन जसले संगत गर्‍यो, उसले अनुभव गरेको छ । तपाईंको जीवन समाप्तिसँगै त्यही गुम्यो । अब सित्तैमा कुनै कुरा पाइन्न भन्ने लोभ होइन । पाइन्न भन्ने लोभ हो तपाईंको जस्तो दिलदार मन चेत र समभाव ।

तपाईंलाई  दुश्मन रोग लाग्यो । आखिरी क्षणसम्म तपाईंमा हिम्मत थियोे । मैले तपाईंलाई वैशाख ३१ गते अस्पतालमा अन्तिम पटक भेटेँ । अस्पतालबाट घर फर्किएको ३ दिन पछि  तपाईं यो संसारबाट हराउनुभयो । मैले त्यसपछि तपाईंलाई निष्प्राण भौतिक रूपमा तुलसाकोमोठमा भेटेको हुँ । जतिबेला तपाईं मलाई देख्नु हुन्न थियोे । मुडो शरीर । प्राणपखेरु तपाईंलाई छाडेर अन्यत्रै गइसकेको थियो ।

सायदै विद्यालयको ढोका छिरेर अक्षर पढ्नु भएन । किताबी ज्ञानको प्रमाणपत्र थिएन । तर प्रत्येक मानिसको मन पढ्न सक्ने क्षमता अद्भुत थियो । सबैको मन यसरी पढ्नु भयो, जसले मलाई छोइरहन्छ । केही खाएको छ, छैन । सोध्ने र घरमा जे छ त्यो खाएर मात्रै जानुपर्छ भन्ने भावना मापनको सीमाबाट निक्कै माथि छ । जसको रेखा कोर्न सकिन्न । भोक, प्यास र कामको चापलाई बुझ्ने तपाईंमा रहेको सामर्थ्य अक्सर  मानिसमा हुँदैन । घरमा चिया नै पाक्यो भने पनि तल मिलमा भएको मानिसलाई बोलार दिनै पर्ने, खुवाउनै पर्ने तपाईंको सरल तर उत्कृष्ट कर्म अब हाम्रा लागि प्रेरणा बन्नु पर्छ , बनिनै रहने छ ।

करिब एक वर्ष अघिबाट तपाईं विरामी परेपछि उपचारका लागि काठमाडौँ अन्य अस्पतालमा पुग्नुभयो । यो सिलसिलामा म धेरै पटक घर आएको छु । बिर्तामोडको अस्पतालको बसाइँको बेला तपाईंलाई भेट्न सायदै छुटाएँ । त्यसको एउटा कारण हो – मानवीयता । योभन्दा मसँग अरु कुनै स्वार्थ थिएन र छैन । तर, तपाईंको हिम्मत देखेर लाग्थ्यो – आमा भनेको आमा हो । उसले अनेक पीडा लुकाएर पनि सन्तान, आफन्त र चिनजानका मानिसलाई खुसी दिन चाहान्छिन् । आफू दुखेरै पनि अरुलाई खुसी दिन्छिन् ।  जीवनको आखिर क्षणसम्म तपाईंमा त्यो कायम रह्यो ।

आफू भित्रभित्रै भतभती सहेर पनि बाहिर देखाउनु भएन। “मलाई केही भएको छैन । म बिरामी नै होइन । कसैले बिरामी भन्दैमा म बिरामी हुन्छु र ! पर जौ, माथि फर्म जौ। मलाई डाक्टरले बिरामी पार्‍यो … ।” भनिनै रहनुभयो । तपाईंले यसो भनिरहदा लाग्थ्यो, के अद्भुत शक्ति छ – तपाईं ( पदमकुमारीमा ।

यति हुँदाहुँदै पनि तपाईं आखिरी दिनमा अलिक गल्नु भएको अवश्य थियो । वैशाख अन्तिम साताको एकदिन मेरो हात छोएर तपाईं रोएपछि लाग्यो, गल्नुभयो । तर, तपाईंले आफू गलेको स्वीकार्नु भएन । तपाईंको सदभावपूर्ण संकेतलाई व्यवहारिक आकार र मूर्तरुप दिइनेछ , जो भावनात्मक हुनेछ । एउटा निकट साहकर्मीको माध्यमबाट सुरु भएको भावनात्मक सम्बन्धलाई भावनात्मक नै बनाइरहिनेछ । तपाईंले नेतृत्व गरेको सम्बन्धको मार्गलाई दर्बिलो बनाइनेछ । विश्वासको हस्त स्पर्शलाई त्यही धरातलबाट अगाडि बढाइनेछ । अन्तरध्यान भएको आत्मलाई धराबासीको श्रद्धासहितको विश्वास।

रोगले च्याप्यो, तपाईंले औषत आयु जिउन पाउनु भएन तर तपाईंको हिम्मतले त्यो पूरा गर्नुहुन्छ भन्ने मलाई लागिरह्यो । परिवारले पनि त्यही विश्वास राख्यो ।  अन्तत : कालले जित्यो, नेपालीको औषत आयु पुग्न ६ / ७ वर्ष अघिनै कालले तपाईंलाई आफ्नो कोपभाजनमा पार्‍यो । र , सदासदाका लागि यो धराबाट खोस्यो । तपाईंलाई भौतिक रूपमा खोसेको हो, भावनात्मक रूपमा तपाईंलाई कसैले र केहीले पनि खोस्न सक्दैन । किनकि, तपाईंले गरेको कर्मले त्यो सिद्ध गरेको छ ।

प्रत्येक मानिसले काल जन्मसँगै काल लिएर आउँछ, आएको हुन्छ । जीवन सक्रिय रहुन्जेल कालको केही लाग्दैन । जीवन जब निष्क्रिय हुन्छ र काल सक्रिय हुन्छ, यो धरामा हुने यस्तै हो । मानिस बिर्सनका लागि जन्मेको हो, थुप्रै कुरा हामी बिर्सदै जानेछौँ। तपाईंको जन्म मिति र देहावसानको मिति बिर्सन सकिएला तर तपाईंले गरेको स्नेहपूर्ण व्यवहार र मानवीय कर्मले जोडेको पवित्र नाता कहिल्यै बिर्सने छैन, जुनदिनसम्म तपाईंले सुरु गरेको महाप्रस्तानको पथमा हाम्रो यात्रा प्रारम्भ हुँदैन ।

मानिसले मानिसलाई हेर्ने दृष्टि आआफ्नै हुन्छन् । जन्मदै त्यो गुण केही न केही प्रत्येक मानिसमा आवश्य आएको हुन्छ । उमेरसँगै त्यसमा मात्र थपघट हुने हो । तपाईं बिरामी परेपछि त्यो खबर हामीले पायौं । अरुले पनि पाए, त्यो स्वभाविक हो । तपाईं बिरामी परेको बेला एकजना झापाली विद्वानले गरेको टिठलाग्दो टिप्पणी जीवित रहुन्जेल मेरो मानष्पटलबाट हट्ने छैन । ती विद्वानको विद्वताप्रति मेरो खास टिप्पणी छैन । यति चाहिँ भन्नु नै छ – कुरा बुझेरै गरेको राम्रो, हासिल गरेको ज्ञान कुविद्वताको चप्परीले नछोपेकै उत्तम ।

मैले यो बेला सम्झिरहेको मर्म स्पर्शी र मानवतावादी गीत हो – फूलको आँखाना फूलै संसार, काँडाको आँखामा काँडै संसार …। जस्तो देख्यो, त्यस्तै बुझ्यो । त्यो उसको दृष्टि हो । बुझ्ने क्षमता हो । तपाईंमा समर्पित यो स्मरण आलेखमा डेढ दशकभन्दा लामो मानवीय र भावनात्मक सम्बन्धको सबै केस्रा, केस्रा र पत्रपत्र उल्लेख गर्न सम्भव छैन । धेरै खोतल्नु पनि हुन्न, त्यसले झन् बढी नै दुख्छ ।

काँडा बिझेको ठाउँमा सियोले गहिरो कोट्ट्यायो भने खाडल पर्छ, खुन बग्छ र दुख्छ । तपाईंसँगको विछोडको बेला  र पीडादायी समयमा यहाँभन्दा बढी भन्नु छैन । स्नेहको खडेरीमा शब्दको वाण चलाइराखेर कसैलाई थप दुखाउनु छैन । भनिन्छ, चिन्नु, नचिल्नु । म कसैलाई चिल्दिनँ, किनकि, तपाईंसँगको सामिप्यताको विच्छेदले मन त्यसै चर्‍याइ  रहेको छ । काटेको घाउमा योभन्दा बढी नुनचुक किन र !

बज्रपातको यो मारमा मात्रै तपाईंको स्मरण ।  मैले एक वर्ष अघि बुबाको देहावसानमा जुन पीडा बेहोरे त्यस्तै मातृवियोगको पीडा मेरो मिल्ने मध्येको एकजना साथी कल्पना  र उसको परिवारले बेहोरिरहेको छ । भावनात्मक नाताको परिवारमा परेको असीम पीडाको करुणामय क्षणमा सिङ्गो  कडरिया परिवारमा गहिरो समवेदना !

मलाई राम्रो थाहा छ – यो बेला सबैले सहानुभूति दर्शाउनु हुन्छ । यो परिपालित नियम हो । तर, सहने आफैंले हो । जे परेपनि परेकै व्यक्तिले नै सहनुपर्छ । यो टिप्पणी आमशुभेच्छुक, शुभचिन्तकको स्वाभिमान र प्रचलित नियम, संस्कारमा प्रहार पनि होइन । आलेखकर्ताको त्यो मनसाय हुँदैहोइन । यद्यपि, यो सत्य मात्रै होइन, तथ्यसहितको सत्य हो । दाइ डिल्ली,साथी कल्पना, भाइबुहारीहरु कमल – रमा, गोपाल – रोजीमा मातृवियोगको  पीडा सहने शक्ति प्राप्त होस् !

सम्बन्ध रगतको मात्र हुँदैन, भावनात्मक सम्बन्धको नाता पनि उत्तिकै निकट हुन्छ ।  यही नातासँग जोडिएको सम्बन्धको एउटा अध्याय व्यक्तिगत रुपमा समाप्त भएको छ । सामुहिक भावना भने झन् फराकिलो बनेको छ । हाम्रा लागि त्यो तपाईंले अगुवाई गरेको पथ हो । एक पथिकका तर्फबाट तपाईं जीवन्त हुँदा आन्तरिक शान्तिको कामनासहित पुरोहित गरेको अभिषेक सहितको यो तस्वीरका साथ अन्तष्करणबाट श्रद्धाञ्जली !

मैले पाँच दिनसम्म तपाईंको कुनै तस्वीर पोष्ट नगर्नुको खास कारण चाहिँ परिवारका तर्फबाट नगरेकैले हो । आज मलाई लागिरहेछ, तपाईंले सन्तानलाई सिकाएको धैर्यताको पाटो पनि यही हो । व्यवसायिक प्रयोजन बाहेक  कुनै तस्वीर खास समयमा पोष्ट गर्न भनेर खिचिन्नँ । संस्मरण वा संग्रहका लागि खिचिएको हुन्छ । पुराण समापनका दिन पुरोहितले गरेको यो शान्ति अभिषेकले तपाईंको दिवंगत आत्मलाई पनि शान्ति देओस् ।

हामी अध्यात्ममा विश्वास गर्नेहरू जीवनकालमा मात्रै होइन, मृत्यु पछि पनि  उद्दार र शान्तिको  कुरा गर्छौ । श्राद्ध, तर्पणपानी गरिँदै आइएका कर्म हुन् । रगतको बाहेक अरु नातामा त्यो बर्जित जस्तै छ, गरिन्न । तर, स्वर्गको बासको कामना त निरन्तर गरिनै रहेन्छौँ । यो तस्वीरले त्यही लयको ढोका खोलोस्, आध्यात्मिक पूर्णपेक्षा !

प्रकाशित मिति : जेष्ठ १०, २०८२ शुक्रबार  ११ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]