चारआली डिपो प्रमुखले हटाएका कर्मचारीले थाले आन्दोलन
झापा । नेपाल आयल निगम चारआली डिपोमा कार्यरत कर्मचारीहरुलाई बिना कारण कामबाट हटाइएपछि उनीहरु आन्दोलित भएका छन् । माथिको आदेश भन्दै डिपो प्रमुख गीता सापकोटाले पाँच कर्मचारी हटाएपछि पुनर्बहालीको माग गर्दै आजबाट आन्दोलन सुरु गरेका हुन् ।
चार महिनादेखि हाजिर गर्न नदिएपछि हटाइएका कर्मचारीहरुले आज चारआलीस्थित निगमको ढोकामा पुनर्बाहली र गिता सापकोटा फिर्ता जानु पर्ने माग सहित नारावाजी गरेका थिए । आफुहरुको रोजीरोटी खोस्ने डिपो प्रमुख सापकोटाले एकै प्रकृतिका कर्मचारी कोही राख्ने कोहि हटाउने व्यवहार देखाएर ठुलो गल्ती गरेको पीडित कर्मचारी गोविन्द पाठकले जानकारी दिए ।
१५ वर्षदेखि काम गर्दै आएका कर्मचारी समेतलाई हटाइएको छ, उनले भने, ‘हामीले यस सम्बन्धमा श्रम कार्यालयमा निवेदन दिएका छौं । जनप्रतिनिधिहरुले समेत के कसो भएको हो भन्दा उल्टैधम्की आउने गरेको छ ।’ १३ नंं वडाका वडाध्यक्ष कृष्ण सिग्देलले हाकिमबाट मजदुरमाथि अन्याय भएको बताए । उनले आन्दोलनरत मजदुरहरुको पक्षमा रहेको भन्दै तत्काल पुनर्बाहली गर्न सूझाव दिएका छन् ।
दुई दिनअघि मेचीनगर उपप्रमुख मिना पोखरेल र वडाध्यक्ष सिग्देलले सापकोटालाई भेटेर हटाइएका मजदुरलाई काममा फर्काउन आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई स्वीकार गर्नुको बदलामा हाकिमले अफवाह फैलाउने काम गरेको वडाध्यक्ष सिग्देलले जानकारी दिए ।
प्रमुख सापकोटाले नौजना कर्मचारीलाई हटाएकी थिएन् । केहि कर्मचारीलाई काममा फर्काए पनि पाँच जनालाई अझै पनि हाजिर हुन दिएको पीडित कर्मचारीहरुको भनाई छ ।
वर्षौदेखि करार र ज्यालादारी सेवामा काम गर्दै आएका कर्मचारीलाई सापकोटाले हटाएपछि उनीहरुको विचल्ली भएको छ । हटाइएका कर्मचारीलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनर्बहाली गर्न निर्देशन दिएपनि प्रमुखले अटेरी गरेको पीडितहरुको भनाई छ ।
पीडित कर्मचारीहरुलाई डिपो प्रमुख सापकोटाले भेट गर्न नदिने, फोन रिसिभ नगर्ने व्यवहार देखाइरहेको पाठक बताउँछन् ।
कार्यालय प्रमुखले अमोद भट्टराई, चन्द्रकान्त लाल दास, शान्ता पोखरेल, गोविन्द पाठक र अस्मिता विकलाई हटाएकी हुन् । पीडित कर्मचारीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने, तालावन्दी गर्ने चेतावनी दिएका छन् ।
कर्मचारीहर हटाएको विषयमा बुझ्न सम्पर्क गर्दा डिपो प्रमुख सापकोटा र सूचना अधिकारी लोकमणि पौडेको फोन सम्पर्क हुन सकेन ।