झापामा विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानको तयारी
बिर्तामोड । राष्ट्र निर्माता पृथ्वीनारयण शाहका आर्थिक सल्लाहकार तथा नेपाल एकीकरणका सारथी मानिएका विसे नगर्चीको नाममा स्थापित राष्ट्रिय सम्मान कार्यक्रमको तयारी गरिएको छ । गोर्खा फाउण्डेशन नेपालले सम्मान कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।
गत वर्ष वरिष्ठ निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल , अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली भुवन सिंह बिश्वकर्मा, दलित महिलाबाट प्रथम प्रमुख जिल्ला अधिकारी सीता परियार र सामाजिक अभियन्ता तथा सहकारीकर्मी महेन्द्र गिरीलाई जनही ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।
फाउण्डेशनका महासचिव सुवास त्रिखत्रीले जेठ ३१ गते शनिबार कार्यक्रम सम्मान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । यस वर्ष सम्मानित हुने बिभिन्न ब्यक्तित्वहरुको छनौट कार्य भइरहेको बताइएको छ ।
गत वर्ष चैत्र २१ गते सम्पन्न गरिएको कार्यक्रम हरेक वर्ष गरिने अध्यक्ष वीरु दर्नालले जानकारे दिए । उनका अनुसार विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ब्यक्तित्वलाई यो सम्मान् समर्पण गरिने छ । सबै जातजातिका महिला र पुरुषलाई चयन गरी समावेसी हुने गरी यो कार्यक्रममा सम्मान गरिने कार्यक्रमको उद्देश्य रहेको बताईएको छ ।
गोरखा दरवारमा राज खलका भोटो सिलाउने, नगरा बजाउने तथा युद्धकालमा साथ दिएका विसेको योगदानलाई वर्तमान पुस्तालाई जानकारी गराउँदै एउटा दलित जातिको पनि त्यो बेला राष्ट्र एकिकरण अभियानमा प्रमुख भूमिका र जिम्मेवारी थियो भन्ने ईतिहासलाई चीरकालसम्म स्मरण गर्दै ताजा बनाउ कार्यक्रमको परिकल्पना गरिएको अध्यक्ष दर्नालको धारणा छ ।
अध्यक्ष दर्नाल भन्छन्, ‘ त्यो बेला पनि कपडा सिउने र बाजा बजाउने विसेले तत्कालिन् राजाको सहयात्री भएर ईतिहास बनाएको देखिएकोले उनलाई हेरेर पनि वर्तमान पुस्ताले समाज र राष्ट्रको लागि केही योगदान गर्न सक्नु पर्छ ।’