विषाक्त माछा आयात गर्नेलाई कारबाही गर
सम्पादकीय
भारतबाट मरेका माछा भित्रिने गरेको तथ्य एकपटक फेरि चर्चामा छ । मरेका माछालाई सड्न नदिन फर्मालिन लगायतका रसायन प्रयोग गरिएको तथ्यका बीच स्थानीय उत्पादनले अपेक्षा अनुसार बजार नपाएको विषयले चर्चा पाएको हो । बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा माछापालक किसानले अहिले पनि भारतबाट मरेका माछा आयात हुने क्रम नरोकिएको बताउँदै त्यसले नेपाली उत्पादनको बजारीकरणमा तीव्र समस्या भइरहेको गुनासो गरेका छन् । यसले व्यावसायिक लगानी गरेर माछापालन गर्दै आएका स्थानीय किसानलाई ठूलो समस्यामा पारेको छ । भारतीय माछासँगको प्रतिस्पर्धात्मक बजारमा नेपाली उत्पादनको बजारीकरणमा देखिने समस्या आफैँमा चुनौतिपूर्ण छ ।
बिर्तामोड नगरपालिकाले भारतबाट भित्रिएका मरेका माछा बिक्री वितरणमा कडाई गर्दै प्रतिबन्ध पनि लगाएको थियो । त्यसरी भित्र्याइएका माछा धेरैपटक नगरपालिकाले नष्ट पनि गरेको छ । भारतीय माछा बेच्ने व्यवसायीलाई पटक(पटक सचेत समेत गराइएको छ । अझ फर्मालिन प्रयोग गरेर भारतबाट भित्र्याइएका माछा प्रयोग नगर्न उपभोक्तालाई समेत नगरपालिकाले सार्वजनिक रुपमा आग्रह गर्दै आएको छ । तर, उपभोक्ता पनि यस विषयमा सचेत छैनन् । स्थानीय उत्पादन किन्नु भन्दा पनि उनीहरू भारतबाट आयात भएका माछामा आकर्षित भइरहेका छन् । प्रतिस्पर्धाको बजारमा आम उपभोक्तालाई छनोटको अधिकार हुन्छ । यो स्वाभाविक विषय हो । तर, उपभोक्ताले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर त्यसरी भित्रिएका माछा खरिद गर्न छोड्नुपर्छ ।
बिर्तामोड नगरपालिकाले त्यसरी भित्रिएका माछा नियन्त्रणका लागि जुन प्रयास र प्रयत्न गरेको थियो, झापाका अरु पालिकाले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । सीमा भएको क्षेत्रमा बिर्तामोडको एकल प्रयास मात्रै नियन्त्रणका लागि पर्याप्त थिएन र छैन पनि । यसका लागि झापाका सबै स्थानीय तहको गम्भीर चासो, चिन्ता र प्रतिबद्धता हुनुपर्छ । एउटा स्थानीय तहले अर्कालाई देखाउने र पन्छिने प्रवृत्ति पटक्कै राम्रो होइन । बिर्तामोडले जे उद्देश्य राखेर प्रारम्भिक प्रयास थालेको थियो, त्यसलाई असफल बनाउन अनेकौं प्रयत्न पनि भए । आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले अहिले पनि त्यस्ता माछाको बिक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने विषयमा आफ्नो स्पष्ट धारणा राख्दै आएको छ । फर्मालिन लगायतका रसायन प्रयोग गरिएका माछाको सेवनले क्यान्सर लगायतका प्राणघातक रोगको संक्रमण छिट्टै बढ्छ । हुन त आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने कोही कसैलाई अधिकार छैन । तर, पैसा कमाउने दाउमा उपभोक्ताको स्वास्थ्यलाई जोखिममा राखेर विषादीयुक्त माछा बेच्ने व्यवसायी पनि यतै वरिपरि घुमिरहेका छन् । त्यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने हिम्मत स्थानीय सरकारले गर्न सक्नु पर्छ ।