सम्पादकीय
झापाका पर्यटकीयस्थल लागूऔषध प्रयोगकर्ताको अखडा भइरहेका छन् कि भन्ने चिन्ता बढ्दै गएको छ । लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले समेत यस विषयमा पर्याप्त सूचना पाएको छ । त्यही सूचनाका आधारमा दुई दिनअघि प्रहरी टोली झापाको मेचीनगरस्थित कालिका सिमसार पर्यटकीय स्थलमा पुगेको थियो । त्यहाँबाट प्रहरीले ठूलो सङ्ख्यामा युवालाई नियन्त्रणमा लियो । प्रहरीकै भनाइमा ४३ जना युवा पक्राउ परे । उनीहरू कुन उद्देश्यले त्यहाँ पुगेका थिए भन्ने विषयमा प्रहरीले प्रष्ट त भनेको छैन । तर, लागूऔषध कारोबारका सिलसिलामा उनीहरू त्यहाँ पुगेको प्रारम्भिक जानकारी प्रहरीसँग छ । सबैका साथमा लागूऔषध नभेटिँदा आवश्यक कानुनी कारबाहीको दायरामा ल्याउन असम्भव भए पनि एउटा सम्भावित घटना सार्वजनिक भएको छ ।
पर्यटकीय केन्द्रमा जाने, राम रमाइलो गर्ने, लागूऔषध सेवन गर्ने र फर्किने कतिपयको उद्देश्य प्रहरीको अनुसन्धान घेरामा परेको छ । यसको अर्थ हाम्रै वरपरका पर्यटकीय गन्तव्यहरूमा लागूऔषधजन्य गतिविधि भइरहेका छन् भन्नलाई यो घटनाले पर्याप्त ठाउँ दिएको छ । धेरै युवा कुलतमा फसिरहेको सन्दर्भमा प्रहरीले गरिरहेको आक्रामक नियन्त्रण प्रयास आफैँमा पर्याप्त मात्रामा परिणाममुखी हुन सक्दैन । यसका लागि समुदायको आवश्यक साथ, सहयोग र समन्वयको खाँचो पर्छ । समुदायको दृढ इच्छाशक्ति र सहयोगबिना लागूऔषध नियन्त्रण सम्भव पनि देखिँदैन । प्रहरी अधिकारीहरूसमेत यस विषयमा सचेत छन् । झापाका अधिकांश पर्यटकीय गन्तव्य समुदायको व्यवस्थापनमा सञ्चालनमा छन् ।
समुदायको प्रत्यक्ष लगानी, रेखदेख र संरक्षणमा सञ्चालन भइरहेका पर्यटकीय क्षेत्रमा लागूऔषधका गतिविधिहरू हुनु विडम्बनाको विषय हो । यसतर्फ संस्थाहरूले समेत गम्भीर चनाखो हुने बेला आएको छ । यसका लागि कालिका सिमसार क्षेत्रको घटना पर्याप्त छ । यसलाई उदाहरण मानेर अरु पर्यटकीय गन्तव्यमा यस किसिमका गतिविधि हुन नदिन समुदायले आफ्नै हिसाबले विशेष सक्रियता देखाउन जरुरी छ । जब पर्यटकीय गन्तव्यहरू लागूऔषध प्रयोगकर्ताको अखडा बन्छन्, अरु आन्तरिक तथा बाह्य पर्यटकको आगमन स्वभाविक रुपमा घट्छ । यसले व्यवस्थापक संस्थाको आम्दामी मात्रै घट्दैन, पर्यटकीय गन्तव्यहरू थप बदनाम पनि हुन्छन् । यो बदनामीको भारी बोक्न कोही पनि तयार हुनुहुँदैन । यसर्थ, सबै पर्यटकीय गन्तव्यहरूलाई सुरक्षित बनाउने उपाय अवलम्बन गर्नु आजको आवश्यकता हो ।







प्रतिक्रिया