शास्त्रीय परामर्श विना छतमा मन्दिर नबनाऔं
सम्पादकीय
नेपाली समाज बहुधार्मिक एवम् बहुभाषिक छ । जाति समुदायले आ–आफ्नो धर्म संस्कृति अनुसार पूजा गर्ने प्रचलन छ । नेपाली समाजमा धार्मिक स्वन्त्रता छ । खासगरी हिन्दु बाहुल्य रहेको नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । सबै धर्म, जाति यहाँ समान छन् । यो नेपाली समाजको विविधता हो । पछिल्लो समय हिन्दु परिवारमा घरको छतमा मन्दिर बनाउने प्रचलन बढ्दै गइरहेको छ । ठुला, अग्ला घरहरुमा गजुरसहितको मन्दिर बनाउन थालिएको छ । धर्मकर्म नगर्ने, नास्तिकहरुका लागि यो खास विषय नहुन सक्छ । हिन्दु परिवारका लागि मन्दिर महत्वपूर्ण छ । त्यसैले यसमा सबैको चासो पनि छ ।
पहिले–पहिले घरको धुरीको प्रयोजन फरक थियो । लहरे सागसब्जी फलाउने काम गरिन्थ्यो । अहिले प्रायः परिवारहरुको आर्थिक हैसियत सम्पन्न भइरहेको छ । जसका कारण घरको स्वरुप पनि बदलिदै गएको छ । घरको स्वरुप परिवर्तनसँगै हिन्दु परिवारको छतमा अहिले मन्दिर निर्माण गर्न थालिएको छ । हालै मेची क्याम्पसका एक विद्यार्थीले मानशास्त्रीय अनुसन्धानबाट छतमाथि निर्माण गरिने गजुरसहित मन्दिर शास्त्रीय हिसावले अनुपयुक्त भन्ने निष्कर्ष निकालेका छन् । घरको छतमा मन्दिर बनाएर कुनै एक दिन पनि पुजा रोक्न नमिल्ने धर्म गुरुहरुको बुझाई छ । धर्म गुरुहरुले दैनिक पुजा गर्न नसक्दा समस्या आउने धारणा व्यक्त गरेका छन् ।
घरको आगनमा मन्दिर निर्माण गरिन्थ्यो । अहिले पनि आगनहरुमा मन्दिर देखिन्छ । घरभित्र पूजा कोठा बनाइन्छ । जहाँ कुनै कारणवस पूजा रोकिएमा खास समस्या नहुने अध्ययनमा फेला परेको छ । सजिलोको लागि मात्र पूजा गरिदैन । धार्मिक आस्था र भावनासँग जोडिएको विषयमा लापरबाही गर्न हुदैन । प्रायः छतमा मन्दिर बनाउनेहरुले कुनै धार्मिक विधि अपनाएर सुरु गरेको पाइदैन । पाउभन्दा मुनी नपरोस् भन्ने तर्क मात्र सुनिन्छ । त्यसरी मन्दिर बनाउनेहरुले वास्तुशास्त्रलाई ख्याल गरे पनि धर्म गुरुहरुसँग परामर्श गरेको पाइदैन । धर्म गुरुहरु पनि छतमा मन्दिर नबनाउन सूझाव दिन्छन् । यदि बनाउने हो भने पूजाको नियमिततामा टुट्न नदिऔं । शास्त्रीय परामर्शबाट मात्रै मन्दिर बनाऔं ।