जेष्ठ २४, २०८२ शुक्रबार

व्यवसायी राहत कोष प्रशंसनीय काम

सम्पादकीय
बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यतिबेला व्यवसायीले उत्साहजनक रुपमा रकम जम्मा गरिरहेका छन्। आफ्नो जन्मदिन वा वैवाहिक उत्सवका अवसरमा व्यवसायीले वाणिज्य संघले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरिरहेका छन्। वाणिज्य संघमा एक वर्षअघि निर्वाचित भएको नेतृत्वले कोष स्थापना गर्ने निर्णय गर्दै त्यसका लागि विभिन्न अवसरमा व्यवसायीबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गर्ने निर्णय गरेको थियो। सङ्घको निर्णय अघि व्यवसायीले निर्वाचन ताका प्रतिबद्धता पनि व्यक्त गरेका थिए। परिणामत कोष स्थापना भयो। अहिले कोषमा २० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ। यसलाई १ करोड रुपैयाँ पुर्‍याउने सङ्घको लक्ष्य रहेको छ।

व्यावसायिक सक्रियताका हिसाबले दुई हजार भन्दाबढी व्यवसायी अहिले वाणिज्य संघसँग छन्। हुन त वाणिज्य संघमा सदस्यको सङ्ख्या पाँच हजार हाराहारीमै होला। मतदान प्रयोजनका लागि बनाइएका सदस्यको के अर्थ रु उनीहरू भोट हाल्ने बेला आउने हुन् । जति सक्रिय सदस्य छन्, उनीहरूको सानो योगदानले वाणिज्य संघमा एउटा ठूलो कोष स्थापित हुने प्रक्रियामा छ । आपतविपतमा परेका व्यवसायीलाई सङ्घको तर्फबाट राहत उपलब्ध गराउने मुख्य लक्ष्य राखेर स्थापना गरिएको यो कोष आफैमा प्रशंसनीय प्रयास हो । यसले आपतविपतमा परेका व्यवसायीलाई अभिभावक संस्थाका रूपमा वाणिज्य सङ्घ साथमा छ भन्ने सन्देश प्रभाहित गर्छ।

सङ्घको सानो सहयोगले पनि अप्ठ्यारोमा परेका व्यवसायीलाई ठूलो राहत मिल्छ। यसर्थ पनि यो कोषको दीर्घकालीन आफ्नै विशिष्ट महत्व छ। लक्ष्य राखेर अगाडि बढ्ने हो भने असम्भव केही पनि छैन। सानोसानो सहयोगले ठूलो फण्ड जम्मा हुन्छ। व्यवसायी बीचको आपसी एकता समन्वय र सद्भाव कायम गर्न पनि यसले ठूलो भूमिका खेल्छ। अहिलेको वृद्धि हुने क्रममा छ। आगामी दिनमा यसलाई कसरी परिचालन गर्ने भन्ने सन्दर्भमा संघले आवश्यक कार्यविधि बनाउनुपर्छ । अहिले बिर्तामोडका व्यवसायी सङ्घको कार्यालयमा आफ्नो जन्मदिन वा वैवाहिक उत्सव मनाइरहेका छन्। यसको अर्थ आफू आबद्ध संघप्रति गरिएको दृढ विश्वास र भरोसा हो। यसले सङ्घको नेतृत्वलाई समेत व्यवसायीको पक्षमा जिम्मेवार भएर दृढतापूर्वक उभिन प्रेरित गर्छ। आपत्कालीन सहायताको सुनिश्चितता गरेर सङ्घले जसरी कोसिस स्थापना गरेको छ, यसले संघप्रति व्यवसायीको भरोसा समेत बढाएको छ। यसर्थ कोष स्थापना र वृद्धिको अभियानलाई संघले अझै व्यवस्थित र प्रभावकारी बनाउँदै सबै व्यवसायीलाई यसमा आबद्ध गराउन सक्नुपर्छ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ बिहीबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]