विद्यालयमा ट्राफिक सचेतना शिक्षाको आवश्यकता
सम्पादकीय
सडकमा दैनिक जसो भएका दुर्घटनाका समाचार आउँछन् । सञ्चारमाध्यममा आएका ती समाचारले हामीलाई कुनै न कुनै रूपमा पिरोलिरहेको हुन्छ । आफन्त, साथीभाइ वा अरु चिनजानकै कोही मान्छे परेकी भन्ने डर सधैँ व्याप्त हुन्छ । झापामा मात्रै वार्षिक रुपमा सवारी दुर्घटनामा परेर १०० जनाको हाराहारीमा मानिसको मृत्यु हुन्छ । बढ्दो मानवीय क्षतिका घटनाले समाजलाई साँच्चिकै पीडाबोध गराइरहेको छ । बालिकादेखि वृद्धवृद्धासम्म कोही पनि सडक दुर्घटनाबाट अछुतो छैन । यस्तो संवेदनशील विषयमा बिर्तामोड नगरका विद्यालयमा ट्राफिक सचेतना शिक्षा अनिवार्य गरिने निर्णय समयानुकूल र स्वागतयोग्य छ ।
विद्यार्थीमार्फत समुदायमा सचेतना अभियानमा सहयोग गर्ने नीति आफैँमा प्रशंसनीय विषय हो । विद्यार्थीलाई सवारी नियमका विषयमा पूर्णरुपमा सचेत गराउने र उनीहरूमार्फत आम अभिभावकलाई समेत ट्राफिक नियमका विषयमा अवगत गराउने कार्यलाई तदारुक्ताका साथ सञ्चालन गरिनुपर्छ । यो एउटा आवश्यकताको विषय पनि थियो । हरेक विद्यालयका एकजना शिक्षकलाई तालिम दिएर विद्यार्थीलाई प्रशिक्षित गर्ने र त्यसमार्फत ट्राफिक सचेतना फैलाउने कार्यले अर्थपूर्ण परिणाम दिन सक्छ । विद्यार्थीलाई सुरक्षित यात्रा गर्ने संस्कार सिकाउने, उनीहरूका माध्यमबाट परिवार र समाजसम्म पनि ट्राफिक अनुशासनको सन्देश पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
विद्यालय तहमा ट्राफिक सचेतना शिक्षा प्रदान गर्नुको मुख्य उद्देश्य भनेको बालबालिकामा सानैदेखि नै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, नियम र अनुशासनका बारेमा व्यवहारिक ज्ञान दिनु हो । यो शिक्षा केवल किताबमा सीमित नभई विद्यालयबाट विद्यालय बाहिर सडकमा पाइला टेक्ने बित्तिकै लागू गर्न मिल्ने खालको हुनुपर्छ । यस्तो खालको जीवनोपयोगी शिक्षाले विद्यार्थीसँगै अभिभावक र समुदायमा समेत गहिरो प्रभाव पार्न सक्छ । ट्राफिक शिक्षा लिने शिक्षकले विद्यालयमै ट्राफिक प्रशिक्षकको रूपमा काम गर्न सक्नेछन्, जसले विद्यालयलाई ट्राफिक अनुशासनयुक्त शिक्षालय बनाउने दिशामा पुर्याउनेछ । बिर्तामोड नगरपालिकाको यो अभियानलाई देशका अन्य स्थानीय तहले पनि उदाहरणको रूपमा लिन सक्नुपर्छ । ट्राफिक सचेतना शिक्षा केवल कक्षा कोठाको पाठ होइन, यो जीवनशैलीको अंग हो भन्ने सन्देश फैलाउनु आजको आवश्यकता हो ।