असार २१, २०८२ शनिबार

शिखर सहकारी : ३३ करोड बचत फिर्ता, ३१ करोड उठाउन बाँकी

बिर्तामोड । शिखर बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले दुई वर्षमा ३३ करोड रुपैयाँ बचत फिर्ता गरिसकेको जनाएको छ । ३ करोड ४३ लाख ५९ हजार शेयर पुँजी रहेको शिखरले ३१ करोड ऋण लगानी गरेको छ ।

संस्थामा २७ करोड १५ लाख १२ हजार ५ सय ४१ रुपैयाँ सदस्यहरुको बचत रहेको अध्यक्ष दिपेन्द्र राउतको भनाई छ । उनले व्याज मात्रै १० करोड ७८ लाख उठाउन बाँकी रहेको जानकारी दिए । यस्तै, संस्थाका सञ्चालक र पूर्व सञ्चालकहरुले १० करोड कर्जा लिएको जनाएका छन् । सञ्चालकहरुले मात्रै कर्जा फिर्ता गरेमा संस्था सहज अवस्थामा फर्किने राउतको भनाई छ । शिखरबाट ४३६ जनाले ऋण लिएका छन् । बढिमा ४-५ करोडसम्म ऋण लिएको संस्थाले जनाएको छ । ऋण लगानी गर्दा ५० प्रतिशत सदस्यहरुले धितो राखेका छन् भने बाँकी ५० प्रतिशतले विना धितो ऋण लिएका छन् ।

संस्थाका अध्यक्ष राउतले बचतकर्ताको बचत फिर्ताका लागि अब बचतकर्ताकै सहयोग लिएर अघि बढ्ने बताए । उनले बचतकर्ताहरुको बचत आफूहरुले ऋण लगानी गरेको जानकारी दिए । हामीले बचत रकम नै ऋणमा लगानी गरेका हौं, ऋणीले नियम बमोजिम ऋण चुक्ता नगरेपछि बचत फिर्ता समस्या भएको हो, उनले थपे । सञ्चालकहरुले नै मोटो रकम ऋण लिएका कारण संस्था धरासयी बनेको आरोप छ । अध्यक्ष राउत भन्छन्, अब सबै ऋणीहरुलाई ऋण तिर्ने भाखा दिएका छौं, नतिरे कानुनी कारबाही प्रक्रिया अघि बढ्नेछौं ।

ऋणीहरुलाई असार मसान्तभित्र ऋण चुक्ता गर्न आग्रह गर्दै संस्थाले चुक्ता नगरेको खण्डमा कारबाहीको चेतावनी दिएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै असार मसान्तसम्म समय दिएको अध्यक्ष दिपेन्द्र राउतले जनाएका छन् । चुक्ता नगरेको खण्डमा बचतकर्ता सहित घर–घर, पसल–पसल आएर कानुनी तथा सामाजिक कारवाही गर्न बाध्य हुनेछौ, सूचनामा भनिएको छ । गरामनी, बिर्तामोड र राजगढ सेवा केन्द्र मार्फत सम्पुर्ण ऋणीहरुको ऋण रकमसहित नाम सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति : असार २१, २०८२ शनिबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]