बैशाख १२, २०८१ बुधबार

दुबईका ७० प्रतिशत कम्पनी ६ महीनामा बन्द हुने प्रक्षेपण

एजेन्सी – कोरोनाभाइरस महामारीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका करीब ७० प्रतिशत कम्पनी आगामी ६ महीनामा बन्द हुनसक्ने एक अध्ययनले देखाएको छ।

दुबई चेम्बर अफ कमर्शले गरेको सर्वेक्षण अनुसार, दुबईका ९० प्रतिशतभन्दा बढी कम्पनीले २०२० को पहिलो त्रैमासमा आफ्नो बिक्री र मुनाफामा ठूलो गिरावट आएको बताएका छन्।

महामारीका कारण भएको विश्वव्यापी आर्थिक शिथिलताको सबैभन्दा ठूलो मार साना र मझौला उद्योगहरुमा परेको सर्वेक्षणमा उल्लेख छ।

पर्यटन क्षेत्रसँग जोडिएका अधिकांश कम्पनी, घरजग्गा व्यवसायसम्बन्धी आधाभन्दा बढी कम्पनी, होटल-रेष्टुरेन्ट व्यवसायी र उद्योगीहरुले आफ्नो व्यवसायमा ७० प्रतिशत गिरावट आएको र दोस्रो त्रैमासको नतिजा अझै खस्किने बताएका छन्।

सर्वेक्षणमा सहभागी ४८ प्रतिशत कम्पनीहरुले अहिलेको महामारीबाट पार पाउन आफूसँग कुनै योजना नरहेको बताएका छन्। यद्यपि कोरोनाभाइरस प्रकोपबाट हुने असर घटाउन केही उपाय भने गरेको उनीहरुको भनाइ छ।

असर न्यूनीकरणका सुझाव

दुबई चेम्बर अफ कमर्शले दुबईस्थित कम्पनीहरुमा कोरोनाभाइरस महामारीको असर कम गर्न के गर्न सकिन्छ भन्नेबारे केही सुझाव पनि दिएको छ।

कम्पनीहरुलाई घरभाडामा छूट दिनुपर्ने, उनीहरु जोडिएका सरकारी खर्च घटाउनु वा माफी दिनुपर्ने, कानूनी कारबाहीमा राहत मिल्नुपर्ने, वित्त सेवा उपलब्ध गराउनुपर्ने लगायत सुझाव दिइएको छ।

यूएईमा शुक्रबार दिउँसोसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २६ हजार ९ सय पुगेको छ। जसमध्ये १२ हजार ७ सय ५५ जना उपचारपछि निको भएका छन् भने २ सय ३७ जनाको मृत्यु भएको छ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ८ सय ९२ नयाँ संक्रमित भेटिएका छन्।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]