चैत्र १६, २०८० शुक्रबार

पाथीभराको ७० क्विन्टल सिक्का झारियो

ताप्लेजुङ – पाथीभरा मन्दिरमा जम्मा भएको ७० क्विन्टल ३० किलो सिक्का काफ्लेपाटी झारिएको छ । भेटीपाती व्यवस्थापन समितिले अघिल्ला वर्षदेखि थन्किएको पैसा स्थानीय जनशक्ति प्रयोग गरेर झारेको हो ।

लकडाउनको समयमा स्थानीयलाई रोजगारी पनि हुने र पैसा पनि सदरमुकाम पुर्‍याउने उद्देश्यले झारिएको भेटीपाती व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । मादेनका अनुसार काफ्लेपाटीदेखि सदरमुकामसम्म गाडीमा ल्याइने छ । मन्दिरबाट झारिएको सिक्का काफ्लेपार्टीको सूचना केन्द्रको भवनमा राखिएको छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरबाट काफ्लेपाटी ४।५ किलोमिटर दूरीमा छ । त्यहाँसम्म ल्याउनेलाई प्रतिकिलो १६ रुपैयाँका दरले ढुवानी भाडा दिएको समितिका कर्मचारी राजेन्द्र महत बताउछन् । पैसा बोक्न ६० जना मन्दिर पुगेका थिए । उनीहरु माथिल्लो फेदी, काफ्लेपाटी, फावाखोला, फुरुम्वू, लिंखिमका हुन् । ओरालो झार्नुपर्ने भएकाले लड्ने र घाइते हुनसक्ने भन्दै एकजनालाई ५० किलोसम्म मात्रै बोक्न दिइएको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इन्चार्ज धनराज तुम्बापोले बताए ।

‘धेरै बोके धेरै पैसा हुन्छ भनेर बल गर्छन्,’ तुम्बापोले भने, ‘तर ढुंगा ओछ्याएको बाटोमा लडिहालेको खण्डमा जोखिम हुनसक्छ भनेर सबैले निर्णय नै गरेर बोक्ने क्षमता अनुसार बढीमा ५० किलो मात्रै दियौं ।’ ५० किलो बोक्नेले एक पटकमा ८ सय रुपैयाँ कमाइ गरे । सहज अवस्थामा यतिको परिमाणमा सिक्का पैसा बोक्न कम्तिमा दुई महिना लाग्थ्यो । महतका अनुसार पैसा बोक्न मजदुर पाउनै मुस्किल थियो । तर यो पटक तीनदिनमै बोकी सकिएको उनले जानकारी दिए । अरु सामानको तुलनामा सिक्का पैसा बोक्न कठिन हुने बोक्नेहरु बताउँछन् । बोरामा बोक्दा ढाडमा घोच्ने र बोकेर हिँड्न कठिन हुने भएकाले अधिकांशले ढाकर र डोको प्रयोग गरेका थिए ।

तस्बिर सौजन्य स् धनराज तुम्बापो
पहिला धेरैजसो तीर्थालुहरु बली चढाउन बोका पाठा लिएर जान्थे । पछिल्लो समय बली प्रथा कम हुँदै गएको छ । पाथीभरामा माना, पाथी र मुठीले भरेर सिक्का चढाउने क्रम बढेको छ । अधिकांशले सिक्का बोकेर लाने र पाथीमा भरेर तीन फन्का मन्दिर घुमाएर चढाउने गरेको पुजारी डिल्ली आचार्य बताउँछन् । यो क्रम बढेपछि मन्दीरमै पनि सिक्का पाउने व्यवस्था समितिले मिलाएको छ । आठ हजार नोट दिए एक पाथी सिक्का पाइने महतले बताए । एकपाथीमा २२ किलो सिक्का हुन्छ । सफा सिक्काको तौलको आधारमा नोट सटही हुन्छ । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम तौल हुन्छ । सुकिलो सिक्का भए ४ किलोको एक हजार रुपैंया हुन्छ । गन्न झन्झट हुने भएकाले सिक्का सटही गर्नेले यसरी नै हिसाव कारोबार गर्ने बैंकहरुले जनाएका छन् । भिज्न र माटोमा पर्न नदिइ राखे सिक्का नबिग्रने बैंकको दाबी छ ।

गत वर्ष झापा दमकको कन्काइ बैंकले धुने, टल्काउनेसमेत जिम्मा लिएर सिक्का लगेको थियो । राष्ट्र बैंकले माटो लागेको सिक्का रिट्ठाको धुलो, सरफ पानीले धोएर धानको ढुटोले सफा गर्न सुझाउने गरेको छ । दर्शनार्थीको भीड हुने सिजनमा दैनिक दुई क्वीन्टल बढी सिक्का जम्मा हुनेगरेको छ । एकै दिनमा १६ पाथीसम्म जम्मा भएको कर्मचारी राजेन्द्र महत बताउछन् । मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दसैंको सिजन असोजदेखि मध्य मंसिरसम्म मानिसहरुको अधिक भीड लाग्ने र धेरै सिक्का जम्मा हन्छ । यो वर्षको यो सिजनमा भने लकडाउनका कारण सिक्का जम्मा भएन ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  १ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]