बैशाख २६, २०८१ बुधबार

दलितलाई न गणतन्त्र न लोकतन्त्र

सन्तोष परियार

पश्चिम रुकुमको अपराध यतिबेला चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालदेखि देश तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममा घटनाको चर्चा छ । कतै जातीय विभेद् अन्त्य भइनसकेको तर्क छ त कतै जातीय विभेद्लाई बढावा दिने प्रतिक्रिया आइरहेका छन् । धेरैको प्रतिक्रियामा जातीय विभेदमाथि नैतिक समर्थन देखिन्छ । यो घटनाले सबैलाई तौलिने अवसर पनि प्रदान गरेको छ ।
एउटा विश्वकर्माको छोराले कथित उपल्लो जातिको छोरीलाई विवाह गर्न खोज्दा हत्यासम्म भयो । यो घटनामा गुमाइफिराई तर्क गर्नेहरु विभेद्का पक्षधर हुन् । उनीहरुसँग धेरै सवाल जवाफको जरुरत नै छैन । र, ति घुमाउरा तर्क यहाँ उल्लेख गर्न चहान्न पनि ।

देशभर अहिले नवराज विकको न्यायको लागि आवाज उठिरहेको छ । पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म उनको न्यायका लागि खवरदारी चलिरहेको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले एउटा राष्ट्र सेवक गुमाएका छौं । अर्थात, गणतन्त्र खल्लो लागेको छ ।

पश्चिम रुकुमको त्यो अपराधले अझै नेपाली समाजमा जातीय भेद्भावको बर्बरता बाँकी रहेको पुष्टि गरेको छ । नेपाल प्रहरीमा जागिरे बन्न लागेका नवराजले एउटा उदीयमान जीवनलाई दलित भएकै कारण त्याग्नु परेको छ । उनको पवित्र प्रेममा तरागो बनेको जातले उनलाई बाँच्न त दिएन, उनको प्रेमलाई हुर्काउन पनि दिएन । नवराज विकको खेल कौशलमा ति किशोरीको आकर्षण भयो । उनको खेलमा जातको कुरा थिएन । जब बिवाहसम्म कुरा पुग्यो तब , जात बार बनिदियो । प्रेम सम्बन्धमा बाँधिएकी किशोरीले जातको तगारो झेल्न सकिनन् । अन्ततः उनीहरु बिचको सम्बन्ध सधैंको लागि अन्त्य भएको छ ।

मानवी सुनारले चुलो छोएको निहुँमा मर्नु पर्यो । संगीता परियारले अन्तरजातीय प्रेमकै कारण मर्नु पर्यो । अजित मिजारले पनि अन्तरजातीय विवाहकै कारण मर्नु परेको छ । देशमा यस्ता कयौं श्रृङ्खला चलिनै रहेको छ । यस्ता घटना उल्लेख गरिसाध्य छैन । आखिर पलपलमा मरिरहेका दलितहरुको जीवनमा कहिले आउँछ गणतन्त्र , कहिले आउँछ लोकतन्त्र ?

लोकतन्त्र र गणतन्त्रका लागि बगेको रगतमा दलितको पनि रगत मिसिएको थियो । परिवर्तनमा रगत बगाएका दलितको सपना अझै पुरा भएको छैन । नेपाली समाजमा जरा गाढेको जातीय विभेद् सबैभन्दा ठुलो अपराध हो । देशमा संविधान बन्यो । गणतन्त्र आयो । तर, मान्छेको सोचमा परिवर्तन आउन सकेन । संविधानका धेरै पानाहरु दलितका अधिकारले भरिएका छन् । त्यै पनि नवराज विकहरु दलित भएकै कारण मर्नु परिरहेको छ । जस्तोसुकै व्यवस्था आओस् । जबसम्म मानिसको सोचमा परिवर्तन आउन सक्दैन, तबसम्म दलितले मर्नैपर्छ ।

समाज रुपान्तरणमा लागेका गैर सरकारी संस्था होस् या दलित अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरु हुन्, आजसम्म यिनिहरुले गरेको कामको परिणाम यहि हो ? अनेकौ परिवर्तनको मूख्य भूमिकामा रहेका राजनीतिक दलले जनतामा दिएको चेतना यत्ति हो ? जबसम्म दलहरु यस मामिलामा क्रुर बन्न सक्दैनन् तबसम्म नेपालमा जातीय विभेद्को अवस्था उस्तै रहन्छ । र, नेपाली समाज यहाँभन्दा विकास पनि हुन सक्दैन ।

अहिले कोरोना भाइरससँग लडिरहेका छौं । एउटा भाइरसले संसारलाई अछुत बनाएको छ । मानवरुपी भाइरसले जातीय विभेदमा परेका दलितहरु कति पीडित होलान ? एक पटक सोचौं । म मेरो परिवारलाई सचेत गराउन सक्छु भन्ने ल्याकत छ ? छैन भने आफुलाई मानवको दर्जाभन्दा बाहिरै राखौं ।

समाजमा परिवर्तन ल्याउने मुख्य जिम्मेवारीमा राजनीतिक दलको भूमिका महत्वपूर्ण छ । तर, ति दलित जसले गणतन्त्र नेपाल बनाउन बगाएको रगतको जगमा टेकेर संसद् छिरेका सांसद र मन्त्रीहरुले अझै मुल्य तिर्न सकिरहेका छैनन् । जब सत्तामा उनीहरुको उदय हुन्छ तब दलितको मुद्धा छाँयामा पर्छ । त्यसको मुख्य कारण भनेको राजनीतिक लाभ नै हो । लाभले मुद्धालाई कमजोर बनाएको छ । संसद् छिराएको दलित मुक्तिको लागि हो । जब दलित मुक्तिको मुद्धा नै ओझेलमा पर्छ भने उनीहरु दलितको प्रतिनिधि बन्न सक्दैनन् । यसैले दलित मुक्तिको लागि सबै जातजातिको साझा एकता जरुरी छ । समाजमा रहेका सबैखाले विभेद् अन्त्यका लागि आवाज उठाऊ ।

फेरि, नवराजहरुको जातकै कारण हत्या नहोस् । पवित्र प्रेमहरु हुर्कन पाउन्, पलपलमा दलितले मर्न नपरोस् । बाँकी बहस पछि गरौला ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]