जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड गोल्डकप : सुनसरी अन्तिम चारमा

बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ ।
पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश गरेको हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमा दुवै टिमबाट गोल हुन नसके पनि पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट उत्कृष्ट गोल भएको थियो । राजन माझीले सम्झनलायक प्रहार गरेर १—० को स्थितिमा ल्याए ।


तर, तीन मिनेटपछि सुनसुरीको पाञ्चायनका लागि कप्तान तीर्थ बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म दुवै टिमको समान १—१ गोल रहेकोमा दोस्रो हाफमा गोलको वर्षा भएको थियो ।


पाञ्चायनका तर्फबाट दोस्रो हाफको १६ औँ मिनेटमा अजित चौधरी, २१औँ मिनेटमा अनिश राजधामी र २४ औँ मिनेटमा कप्तान तीर्थ बस्नेतको प्रहारले जाली चुमेको थियो । दोस्रो हाफको ४५ औँ मिनेटमा पाँचथरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा आरके कन्दङवाले गोल गरेका थिए ।


तर, त्यसको एक मिनेटमै सुनसरीका कप्तान तीर्थ बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै ५–२ गोलको फराकिलो अन्तर निकाले । टिमका लागि दुई गोलमा एसिस्ट रहेको तीर्थ बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारीले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।


रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् । भोलिको खेल मुनाल एफसी चन्द्रगढीविरुद्ध पूर्वेली युथ क्लब बिर्तामोडबीच हुनेछ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]