बैशाख ८, २०८१ शनिबार

‘चौथो पुस्तकको अन्तिम तयारीमा छु’

तीर्थ सिग्देल (लेखक)

लकडाउनको सदुपयोग मानिसहरुले कसरी गरिरहेका होलान् ? या लकडाउन छ भन्दै सुर्ताएर बसिरहका होलान् कि ? हुनतः लकडाउन भनेपछि घरबाहिर निस्कन नमिल्ने भएपछि धेरै ठुला काम गर्न त गाह्रै हुन्छ । तैपनि मानिसको जात हो । केही नै नगरी कहाँ बस्छ र ? अरु धेरै मानिसहरुको भिडमा थोरै मानिसले असहज परिस्थितिमा पनि आफ्नो पहिचानलाई कायमै राखेका हुन्छन् । सहज अवस्थामा त जसले पनि काम गर्न सक्छ, तर असहज परिस्थितिमा पनि नयाँ काम गरेर देखाउने नै महान हुन्छ । यसै प्रसंगमा झापामा बसेर अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील तीर्थ सिग्देलसँग लकडाउन संबाद गरेका छौं । फेरिदै गरेको परिचयलाई उजागर गर्ने र लकडाउनको समयलाई उहाँले कसरी सदुपयोग गर्नुभयो भन्ने सन्दर्भमा केही तथ्य केलाउने प्रयास गरेर उहाँलाई केही प्रश्न गरेका छौं ।

१) यहाँले लकडाउनको समयमा के नयाँ काम गर्नु भयो ?
लकडाउन भनेर चुप लागेर बस्ने कुरा पनि आउँदैन । किनभने कठिन समयले नै मानिसको परीक्षा लिइरहेको हुन्छ । कठिन अवस्था पार गर्न सकियो भने मात्र सफल भइने हो । हो, कोभिड १९ का कारण हाम्रो मनस्थिति खलबलियो । यसको अर्थ हामी पुरै अचेत थिएनौं । तसर्थ घर बसेरै गर्न सकिने कामहरु मध्ये सजिलो कामको रुपमा मैले लेखन कार्यलाई अगाडि बढाएँ ।

२) फेसबुकमा देखेको थिएँ । के नयाँ किताब आउन लागेको हो ?
हो, मेरो चौथो किताब निस्कन लागेको छ । एक दिन (समय कथा) नामको किताबको अन्तिम तयारीमा छु । सभवतः साउनतिर यो किताब आउनेछ ।

३) यो कस्तो किताब हो ? बिषयबस्तु बताउन मिल्छ ?
विस्तृतमा त अहिले नै के भनौं र ? यसका लागि त किताब नै पढ्नु पर्छ । तर, मोटामोटीरुपमा भन्नु पर्दा यो नियात्रा संग्रह हो । मुलुक बाहिरका धेरै त्यस्ता बिषय यसमा समेटिएका छन्, जसको बारेमा आजसम्म कमै मात्र चर्चा भएको छ । खासमा बिदेशतिरका मानिसका दुःखका कथा र हामी नेपालीहरुको अवस्थादेखि तुलनात्मक अध्ययनको दस्ताबेज हो यो ।

४) नामले अलिक कन्फ्युजन बनायो ? एक दिन (समय कथा) भनेको कस्तो नाम हो किताबको ?
हो, नाममा केही कन्फ्युजन हुनु अस्वाभाविकै हो । किनभने यो सर्वथा नौलो बिषय हो । जस्तोः हामी सय वर्ष बाँचे पनि खासमा जीवन एक दिन मात्र हो भन्ने मेरो तर्क छ । बिहान उठेदेखि रातमा सुतेसम्म गरिने कर्मले नै मानिसलाई महान र बेकारको बनाएको हुन्छ । त्यो समयभित्र उसले गर्ने काम र क्रियाकलाप नै जीवन हो । त्यो एक दिनले नै उसलाई चिनाएको हुन्छ । त्यही एक दिनले नै उसलाई छिनाएको हुन्छ ।
भोलि त कहाँ हुन्छ र ? भोलिले त निरासा जन्माउँछ । जे गर्ने हो आजै गर्नुपर्छ । जे गर्न सकिन्छ वा सकिदैन, त्यो दिन आजै हो । त्यो एक दिन हो । यही एक दिनमा संसारले गरेका प्रगतिका कथा र अधोगतिका पिडा यसमा समेटिएका छन् ।

५) खासमा यो कथा हो कि यात्रा संस्मरण ?
यो यात्रा संस्मरण हो । तर, हरेक बिषयभित्र कथा लुकेको हुन्छ । हरेक मान्छेका कथा हुन्छन् । मैले यस किताबमा ती मानिसहरुको कथा लेखेको छु । जसले एक दिन गरेका संघर्ष र त्यही एक दिनको पर्खाइमा वषौं बिताएका प्रसंग छन् ।

६) उसोभए, नेपालको सन्दर्भमा यो किताबले के बोकेको छ त ?
जस्तोः विश्वले गरेको प्रगतिभित्र नेपालको अवस्थाको चित्रण छ यहाँ । एउटा नेपाली जहाँ पुगेपनि यसको मन नेपालमै हुन्छ । उसको मनले घर परिवारलाई सम्झिरहेको हुन्छ । मैले पनि यस किताबमा एउटा प्रयोग गरेको छु । त्यो के भने, यात्राका क्रममा भोगेका घटना, देखेका कुरा र सन्दर्भहरुलाई नेपालसँग तुलना गरेको छु, बिष्लेषण गरेको छु र निष्कर्ष निकाल्ने प्रयास गरेको छु । यात्रा केवल मनोरंजनका लागि मात्र हुँदैन । जीवन यात्रा र भोगाइ हो । त्यसक्रममा समेटिएका बिषयबस्तुलाई अध्ययनसहित तथ्यको खाजी गरेर पस्कने प्रयास गरेका छु ।

७) अन्त्यमा, केही भए…
त्यस्तो अरु कुरा केही भन्नु छैन । मैले लकडाउनको सदुपयोग मात्र गरेको हुँ । यस अघिका मेरो किताबहरु (जीवनको गति, पूर्वको राजनीति र मनोनेट)ले झैं पाठकहरुको मनमा घर बनाउने बिश्वास छ । म पाठकहरुको मन मर्न दिने पक्षमा छैन । त्यस्तै साथ पाउने आशा छ ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]