बैशाख ११, २०८१ मंगलबार

समाधान महाधिवेशन र आम निर्वाचन नै हो

माधव विद्रोही

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्छ भनी नेपाली मतदाता र नेकपाका कार्यकर्ताको मान मर्दन हुनेगरी स्थायी कमिटीको बैठकले चर्चा चलाएको छ । त्यो स्थायी कमिटी कसरी स्थापित भयो भन्नेकुरा पनि हेक्का नराखी कसरी यो छलफल चलाइयो ? यस्तो छलफलले पार्टी कार्यकर्ता र जनतामा के असर पुग्छ भन्ने कुरा हेक्का नराखी कसरी बैठकमा ल्यायो ? कसको स्वार्थको लागि यो काम भइरहेको छ ? प्रधानमन्त्री ओली के त्यस्तो क्ष्मा गर्न पनि अयोग्य गलत काम गरे कार्यकर्ता बुझ्न चाहन्छन् । यस्तो हतारोका साथ पार्टीको एकताको महाधिवेशनसमेत पर्खन नसक्ने गरी, आम निर्वाचनसम्म टिक्ने धर्यता नराखी विधान नै मिचेर कसको स्वार्थको लागि दुबै पदबाट राजीनामा माग गरिएको हो ? सरकारले ६० वर्ष अघिदेखि भारतले हड्पेको नेपाली भूभागलाई नेपाली मानचित्रमा समावेश गरेको एक महिना पनि नवित्दै, विदेशबाट विवाह गरेर ल्याइएका बुहारीलाई ७ वर्ष पछि विदेशको नागरिकता त्याग गरेपछि मात्र नेपाली अंगिकृत नागरिकता दिइने व्यवस्था गरेको १५ दिन वित्न नपाउँदै यो राजीनामाको गृहकार्य हुनु कुन शक्तिको आडमा भइरहेको छ ? गम्भीर प्रश्न खडा भएको छ । अहिले के पी शर्मा ओली पार्टी र देशको कमाण्डर हुनुहुन्छ । कमाण्डरलाई कमजोर बनाउनु भनेको आफ्नो दस्ताप्रति अन्तरघात गर्नु हो । बलियो कमाण्डरले मात्रै युद्ध जित्न सक्छ । यसलाई नजरअन्दाज नगर्दा सबैको हीत हुन्छ ।

नेपाली जनताले हामी आफै सक्षम छौं भनेर आफ्नो संविधान बनाउन लागेको बेला भारतीय पक्षले संविधान जारी हुन नदिन निक्कै प्रयत्न ग¥यो । तर, केपी शर्मा ओलीको नेतृत्वमा संविधान जारी गर्नै पर्ने जिकीर लिएपछि संविधान जारी भयो । नेपालको संविधान जारी गर्ने बेलामा आफ्नो भूमिका खोजेको भारतले भूमिका नपाएपछि नेपाली जनताको विरुद्धमा नाकाबन्दी लगाएको थियो । त्यो बेलाका प्रधानमन्त्री शुशिल कोइरालाले नाकाबन्दी समेत भन्न हिच्किचाइरहेको अवस्था थियो । नेपाली जनतामा एउटा त्रास थियो अब भारतले के गर्छ भन्ने ? यो त्रास पैदा हुनु भनेको नेपाली जनतामा पराधिनताको मनोभावनाले घर गर्नु हो । जनता निरास थिए । देशैभरि अब के गर्ने भन्ने लाचार अवस्था थियो । ठीक त्यही बेला नेकपाका हालका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएकै दिनदेखि उहाँले नेपाली जनताका उत्साह भर्न थाल्नुभयो । नेपाल कसैको पराधिनतामा बस्दैन । नेपालमा थुप्रै सम्भावनाहरु छन् । ती सम्भावनाहरुलाई म उत्पादनसँग जोड्छु भनी प्रधानमन्त्री ओलीले भन्नुभयो । यो सम्भावनालाई उत्पादनसँग जोड्नु भनेको परनिर्भरता हटाउँदै नेपाललाई आत्मनिर्भर बनाउने र नेपाली राष्ट्रियताको जग बलियो बनाउने कार्यमा लाग्नु भयो । ओली सरकारले गरेको ८० ÷८५ वटा कामले नेपालको राष्ट्रियता बलियो बनाउने काम गरेको छ । परनिर्भरता हटाउने काम गरेको छ । अहिले प्रधानमन्त्रीको राजीनामा माग्दा वा नेपालमा कुनै नाकाबन्दीको वा कुनै आर्थिक घेराबन्दी भयोभने भन्ने कुराले जनतामा त्यति त्रास छैन किनभने त्यो त्रासलाई प्रधानमन्त्री ओलीले दिनुभएको विकल्पले नेपाली जनतालाई त्रासमुक्त बनाइदिएको छ ।

यो भावभूमिबाट नेपालको सत्ताको बागडोर सम्हाल्दै आउनु भएका राष्ट्रवादी नेता केपी शर्मा ओलीलाई जसरी पनि हटाउनु पर्छभनी भारतीय संस्थापन लाग्यो । र, ९ महिनापछि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्तामा स्थापित गराउन भारत सफल भयो । भारतले पटक पटक प्रचण्ड हाम्रो मान्छे हो भन्दै आएको छ । पछिल्लो अवस्थामा पनि भारतीय राजनीतिक विश्लेषक प्रो.एसडी मुनीले विविसीको हिन्दी सेवामा प्रचण्ड हाम्रो इमान्दार सहयोगी हो भन्दा पनि कार्यकर्ता पंक्तिले मौनता साँधेकै हो । तर पनि किन त्यसको प्रतिवाद नेतृत्वबाट हुन सकेन । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जसरी नाकाबन्दी लगाएको छ त्यसैगरी नाकाबन्दी खोल्नु पर्छ भन्नु हुँदा मधेशी नेताहरुले भारतले नाकाबन्दी लगाएको हैन हामीले नाका अवरोध गरेका हौं भनेका थिए । ठ्याक्कै त्यही शैलीमा केपी शर्माओलीले केही विदेशी शक्तिहरु र केही हाम्रै साथीहरुले मेरो राजीनामा मागिरहेका छन् भन्दा अर्का अध्यक्ष प्रचण्डले भारतले होइन मैले तपाईको राजीनामा माग गरेको हुँ भनेको कुरासँग भारतीय विश्लेषक प्रो.एसडि मुनीले भनेको भनाई मेल खाएनर ? कार्यकर्ताको शीर नुहुने गरी नेताहरु किन काम गर्छन ? यो जनताको प्रश्नको जवाफ नेतृत्वले दिनु पर्दैन ?

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामाको नाटक मञ्चन हुँदैछ । यो नाटक किन भनिएको भन्ने प्रश्न उठ्न सक्छ । प्रश्न उठाउनेले सो कमिटीको पूर्वाभ्यासलाई केलाउन जरुरी छ । यो स्थायी नामको अस्थायी कमिटीले गर्न सक्ने र नसक्ने कामको अभ्यास गर्दैछ । फेरि अर्को प्रश्न उठ्न सक्छ, स्थायी नामको अस्थायी भनेको के हो ? किनभने यो कमिटी दुई अध्यक्षले बनाएको हो । पार्टीको कुनै औपचारिक वा महाधिवेशनले पारित गरेको विधानसम्मत छैन । योदेखि बाहेक पनि एक व्यक्ति एक पद, स्थायी कमिटीको बहुमतले अध्यक्ष हटाउन सक्छ । यी यस्ता धेरै हास्यास्पद प्रश्नहरुको उत्तर महाधिवेशनले मात्रै दिन्छ । त्यसकारण नेकपालाई पङगुहरुको पार्टी हो भनेर संसार हँसाउने कम्युनिष्ट पार्टीलाई स्थगित गर्छु भनेर भन्नुहुने प्रचण्डलाई पनि अधिकार छैन् भने अरुलाई त हुने कुरै भएन ।

अरु त अरु दोस्रो पुस्ता भनिएका नेकपाका नेताहरुले पनि सही कुरा गर्न सकिरहेका छैनन् । अचम्म लाग्छ यी दोस्रो भनिएका पुस्ता पनि बुढो पुस्तामा गए झै लाग्न थालेको छ । उनीहरुले जनताको मत र कार्यकर्ताहरुको भावनाको सम्वोधन गर्न किन नसकेका हुन ? किन लाछी र कायर बन्दैछन् ? नेकपा कार्यकर्ताहरुले थामेको पार्टी भनेर भन्न पनि लाज लाग्ने गरी नेतृत्वले किन हास्यास्पद घटनाहरुको मञ्चन गर्दैछन ? यस्ता धेरै गम्भीर प्रश्नहरुको जवाफ कसले दिने ?

नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापना भएको धेरै भएको छैन । यसको एकता प्रक्रिया पनि पूरा भएको छैन् । यसले बनाएको सबै पार्टीगत संरचनाहरु र विधानसमेत तदर्थ छ । यसले महाधिवेशबाट मात्र पूर्णता पाउने छ । एकताको महाधिवेशनसमेत हुन सकेको छैन् । नेकपाको गठन पूर्व एमालेका अध्यक्ष के पी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको हो । उहाँहरु दुईजनाले दुई पार्टीको म्याण्डेट लिएर सम्पूर्ण कमिटीहरु र विधानसमेत निर्माण गर्नुभयो । सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, महानगर, उपमहानगर, नगर, गाउँ, वडा र टोल तथा सेल कमिटीसम्म बनाउने गरी निर्णय गर्नुभयो । अबभने पार्टीको यी सबै एकता प्रक्रियालाई पूर्णता दिन एकताको महाधिवेन गर्न बाँकी छ । यहाँ पनि प्रश्न छ दुई अध्यक्षले गर्नु भएको एकता विधी सम्मत, यथार्थ हैसियतमा छ कि छैन त्यो पनि एकता महाधिवेशनले फैसला गर्ने छ ।

नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यो भावभूमिबाट एउटा पार्टीको दुई अध्यक्ष हुनु भएको हो । दुबै अध्यक्षहरु कामको हिसावले पूर्ण हुनु भएको छ त नभनौं । केही कमी कमजोरी भने अवश्य रहेका होलान् । सरकारतिरको जिम्मेवारी लिनु भएका केपी शर्मा ओलीले मात्रै कमजोरी गर्नु भएको कुरा बाहिर आएको छ । अर्का कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनु भएका पुष्पकमल दाहालको कामको मूल्याङ्कनभन्दा बढी गुनासाहरु बाहिर आएको छ । त्यो गुनासो भनेको ओलीले यो गर्नु भएन उ गर्नु भएन भनेर । तर, कार्यकारी अध्यक्ष दाहालले के गर्नुभयो ? त्यो कुराको किन चर्चा भइरहेको छैन् ? अर्का बरीष्ठ नेताहरुले आफ्नो जिम्मेवारी के के गरी पूरा गर्नुभयो ? कामको मूल्याङ्कन गर्ने होभने दुबै अध्यक्षको गरौं । एकजनाको मात्रै किन ? कार्यकारी पद पाउनु भएका प्रचण्डले आफ्ना कमजोरी ओलीले गर्दा भएको भनेर मात्रै कार्यकर्ता मान्न तयार छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले थालनी गर्नु भएका सैयौं यस्ता कामहरु छन् । जसले नेपाली जनताको राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक स्तरलाई माथि उठाउँदैछ । नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउने, नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सडक, रेलमार्ग, जलमार्ग, हवाई मैदानहरु, उर्जा, पर्यटन र उद्योग तथा कलकारखाना, कृषिलाई आधुनिकिकरण गर्ने, सामाजिक सुरक्षा कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, अन्तराष्ट्रिय संधि सम्झौताहरु, शिक्षा, स्वास्थ्य, रोजगार तथा भौतिक तथा सामाजिक सुरक्षाको क्षेत्रमा सैयौ कामहरु अघि बढाएको ओली सरकारको गल्ती के थियो ? ओली सरकारले मन्त्रीहरुलाई समेत कामको मुल्याङ्कन गरी ग्रेडिङ गरेको थियो । विवादमा तानिएका वा पदीय दायित्व पूरा नगरेका केही मन्त्रीबाहेक सबैलाई विदा दिइएको थियो । केही राम्रा काम गर्ने मन्त्रीहरु पनि पार्टीको सिफारिसमा राख्न नसकेको र सचिवले नै खानेपानी मन्त्रीले घुस मागेको पत्रकार सम्मेलन गरेर जानकारी गराउँदा पनि अर्का अध्यक्ष प्रचण्डको आफन्त परेकोले उनले पद छोड्नु नपरेको जस्ता तिता कामहरु पनि यो सरकारले झेल्दै आएको तितो यथार्थ नेपाली जनता सामु छ ।

समाधान के हुन सक्छ त

सबैभन्दा पहिला यो एकतालाई महाधिवेशनले अनुमोदन गर्नु प¥यो । यो एकता दुबै पार्टीका अध्यक्षहरुले मात्रै गर्नु भएको हो । उहाँहरुबीच कतिपय गोप्य सम्झौताहरु भएका भए पनि कुनै पनि तहका कार्यकर्ताहरुलाई नराखी गरेकोले अहिले त्यो सम्झौता मान्न कार्यकर्ता तयार छैनन् । त्यसकारण जे बाहिर ल्याइएको छ त्यो नै सम्पूर्ण कार्यकर्ताले मान्ने हो । तपाईहरुका भित्री स्वार्थ कार्यकर्ताहरु मान्न तयार छैनन् । यो विवादको जड भनेको एकता प्रक्रियाले वैधानिकता नपाउनु मात्रै हो । यो एकतामा माथिदेखि तलसम्म सबै तहको कार्यकर्ताको सुझाव संकलन गरेर अघि बढेको भए अहिले दुबै नेताहरुलाई विधिले पक्रने थियो । त्यसकारण पनि ओली र प्रचण्ड आफ्ना गोप्य सम्झौताअघि सार्दै लफडा गरिरहनु भएको छ । प्रधानमन्त्री र अध्यक्ष हुँदा ओलीले के के गर्ने वा कस कसले भनेको मान्ने भन्नेकुरा कुनै विधि बनाइएको छैन । अर्का अध्यक्ष प्रचण्डले पार्टी हाँक्ने विधि प्रक्रिया केही विधानले ल्याए पनि कार्यकारी अध्यक्ष भन्ने पनि छैन । त्यसकारण तपाई नेताहरु शक्तिको आडमा अहिले खेलो गर्दै हुनुहुन्छ त्यो गलत छ । तपाईको स्थायी समितिले यी दुबै अध्यक्षलाई छुन पनि सक्दैन । किनभने यो नेकपाको सिङ्गो पंक्तिले यसलाई अनुमोदन गरेको छैन । अब दीर्घकालिन निकास दिने होभने पहिला माधिवेशनबाट पार्टीलाई अनुमोदन गराउन जरुरी छ । त्यो महाधिवेशनले दिएको मार्ग निर्देश अनुसार सबै नेता तथा कार्यकर्ता परिचालित हुन जरुरी छ ।

दोस्रो, नेपाल कम्युनिष्ट पार्टीलाई बलियो एकमना एकता बनाउने होभने पुराना पाँच नेताले विदा लिनु पर्दछ । एक वा दुई नेता हटाएर एकमना एकता बलियो हुँदैन । इमान्दार भएर नेकपालाई बलियो बनाउने हो भने केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पार्टीको र संसदीय निर्वाचनको चुनावमा उठ्न नपाउने र उहाँहरु हालको पदीय मर्यादा अनुसार पार्टीको सल्लाहकार तथा भविष्यका राष्ट्रपति हुने गरी व्यवस्थापन गर्ने होभने समस्या स्थायी रुपले समाधान हुनेछ । तर, हालका नेताहरुमध्ये एक वा दुईलाई मात्र हटाउने होभने कुनै निकाश निस्कने छैन । त्यो हिम्मत छभने ओलीसहित पाँच नेताहरुले आगामी निर्वाचनबाट पार्टी र संसदीय पद त्याग गर्ने र दोस्रो पुस्तामा जसलाई नेतृत्व दिए पनि हुन्छ । नेतृत्व लिनेले आफ्नो कार्यकालको एजेण्डा प्रस्तुत गर्ने जसको एजेण्डा राम्रो हुन्छ उसैलाई नेतृत्व दिने होभने मात्रै नेकपा जनताको पार्टी हुन्छ यही अवस्था रहे नेपाली जनताको थुप्रै आलोचनाको सामना गर्नु पर्ने हुन्छ । जोर जबरजस्ती गरेर पार्टी अध्यक्ष वा प्रधानमन्त्रीलाई स्वघोषित बहुमतको नाममा बाहिर धकेल्ने प्रयास गरेमा कार्यकर्ताहरुले सबैको हिसाव किताव मिलाउने छन् । होस गरौं । विचार पु¥याएर निर्णय गर्रौ । हतारको निर्णय फुर्सदमा पछ्ताउने स्थिति नआओस् ।

प्रकाशित मिति : असार २२, २०७७ सोमबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]