बैशाख २९, २०८१ शनिबार

झापा इनर्जीले एक वर्षभित्र उर्जा उत्पादन थाल्ने

विर्तामोड । एक सय करोड लगानीमा झापामा सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी कम्पनीले एक वर्षभित्र १० मेगावाट विद्युत उत्पादन गर्ने गरी कामलाई तीव्रता दिएको छ ।


झापाको विर्तामोडमा शनिबार आयोजित कम्पनीको प्रथम साधारणसभामा सञ्चालक समितिका अध्यक्ष लालप्रसाद साँवाले एक वर्षभित्र उत्पादन शुरु गर्ने गरी कामलाई तीव्रता दिइएको बताए । सौर्य उर्जा उत्पादनसम्बन्धी लामो अध्ययन–अनुसन्धानपछि झापाको शिवसताक्षी नगरपालिकाको वडा नं ३ र ४ मा आयोजना सञ्चालनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अघि बढाइएको अध्यक्ष साँवाले जानकारी दिए ।
२६ जना संस्थापक शेयर सदस्य रहेको कम्पनीको दर्ता प्रक्रिया र विभिन्न निकायबाट लिनुपर्ने अनुमतिको कागजी प्रक्रिया पूरा भइसकेकोले आवश्यक रकम जुट्नासाथ आयोजना निर्माणको चरणमा प्रवेश गरिने अध्यक्ष साँवाको भनाइ छ ।


‘कागजी सबै प्रक्रिया पूरा भइसकेको छ, प्राविधिक पक्षको पनि अध्ययन गरिसकिएको छ, कार्यालय व्यवस्थापन गरिसकेका छौं, शेयर रकम संकलन भइरहेको छ’, अध्यक्ष साँवाले भने– ‘जमीन खरिदको कागजी प्रक्रिया पूरा हुनेवित्तिकै सौर्य प्यानल जडानलगायतका प्राविधिक काम शुरु हुन्छ ।’ आयोजनामा ७० प्रतिशत लगानी कोरियन कम्पनीको रहने बताइएको छ ।


सञ्चालक समिति सदस्य शिव ढुंगेलले सञ्चालन गरेको साधारणसभाले अध्यक्ष साँवाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र सदस्य सुवास भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो । कूल शेयर सदस्य २४२ जना रहेको कम्पनीमा दुई करोड १३ हजार रुपैयाँ जम्मा भइसकेको छ भने दोस्रो किस्तावापतको शेयर रकम पनि जम्मा हुन थालेको भट्टराईले जानकारी दिए ।


नयाँ सञ्चालक समिति
गत भदौमा झापाका उद्योगी–व्यवसायी, काठमाडौंका उद्यागी–व्यवसायी र प्रवासी नेपालीहरुको संयुक्त भेलाबाट झापा इनर्जी कम्पनी लिमिटेड स्थापना भएको थियो । सो भेलाले गठन गरेको ११ सदस्यीय तदर्थ समितिलाई भंग गरी साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ ।
लालप्रसाद साँवाकै अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।

समितिमा भलकसिंह दर्लामी, वसन्त वानियाँ, रामचन्द्र उप्रेती, ज्ञानुराम प्रसाईं, सुवास भट्टराई, गणेश ढकाल, नारायण पोखरेल, केदार सञ्जेल, द्विधराज शर्मा शिवाकोटी, र नरहरि फूँयाल सदस्य रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार  ३ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]