बैशाख २९, २०८१ शनिबार

थारा, बुढा र रोगी गाई ल्याए कोरली गाई पाइने

सताक्षीधामको गौशाला : ठाँउ एक, उत्पादन र सुविधा अनेक

झिलझिले । झापाको सताक्षीधाममा पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदेसमा लोकप्रिय बनेको छ ।

गोलोक गोवर्धन गौशालामा गाईको नस्ल सुधार गरेर उन्नत जातका गीर, साहीबाल, हरियाणा र थारपारकर गाईका बाछा बाछी उत्पादन हुन थालेको गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताए । नस्ल सुधारका लागि गौशालाले नेपाल लगायत भारतका बिभिन्न ठाँउबाट वीउ गोरु ल्याएको थियो ।

गौसालामा उत्पादन भएका उन्नत जातका वीउ गोरु नस्ल सुधारका लागि समुहलाई पनि दिने गरेको उनले बताएका छन् । गौशालाबाट झापा सहित धनकुटा, इलाम, मोरङ्ग, सुनसरी, संखुवासभा, उदयपुरका जिल्लामा स्थानीयले वीउ गोरु लगेर नस्ल सुधार गरिरहेको गौशालाले जनाएको छ । भेटनरी अस्पताल, कृषक र बन लगायतका समुहले निशुल्क वीउ गोरु गौशालाबाट लैजाने गरेका छन् । यो संख्या २ सय बढी रहेको गौशालाका व्यवस्थापक लिलाशरण सुबेदीले जानकारी दिए ।
नस्ल सुधार कार्यक्रम सुरु भएपछि जुरो भएका गाईको संख्या गौसालामा बढ्दै गएको छ । गौसालामा गीर, साहीबाल, हरियाणा र थारपारकरका उत्नत जातका गोरु नस्ल सुधारका लागि राखिएका छन् । स्थानीयले नस्ल सुधारका गौसालामा गाई लगे कुनै शुल्क नलाग्ने गौशालाले बताएको छ । गौशालाको मुख्य उद्धेश्य गाईको नस्ल सुधार गर्नुपनि हो ।

गौशालाबाट सर्वसाधरण किसानले नस्ल सुधारको मात्र सुविधा पाएका छैनन् । खेत जोत्नका लागि गोरु पनि निशुुल्क पाएका छन् । आर्थिक अवस्था कमजोर भएका स्थानीयले गौशालाबाट खेत जोत्नका लागि गोरु लैजाने गरेका छन् । विपन्न परिवारलाई गौशालाले गोरु दिने गरेको छ ।
घरमा पालेको गाई बुढो भएर दुध दिन र ब्याउन छाडेको भए गौशालमा ल्याएर अर्को दुधालु गाई किसानले पाउने छन् । नेपालमा कयौ गौशाला भए पनि थारा, बुढा र रोगी गाई ल्याएर कोरली, दुधालु र उन्नत जातको गाई लैजान पाउने गोलोक गोवर्धन गौशाला नेपालमा एक्लो र पहिलो हो ।
स्थानीयले गौसालाबाट गाई निशुल्क ल्याएर पाल्ने गरेको बताएका छन् । शिवसताक्षी ८ का कृष्ण खरेलले गौशालाबाट बाछी ल्याएको बताए । उक्त बाछीमा उन्नत जातको वीउ गोरु लगाएर व्याएको बाछी लामो जुरो भएको र दुधालु रहेको पनि उनले बताएका छन् । उनले भने ‘दैनिक ५ लिटर दुध दिने गरेको छ ।’

गौशालाले नस्ल सुधारको मात्र कार्यक्रम ल्याएको छैन । गोबर र गोमुत्रबाट उपयोगी बस्तुको पनि उत्पादन हुन थालेको छ । बुढा र थारा गाईको संरक्षण गर्नुका साथै बेरोजगारलाई रोजगार र जैबिक कृषि एवं पर्यावरण रक्षामा गौशालाले अहम् भूमिका खेल्न थालेको स्थानीयले बताएका छन् ।
गौशालामा चारसय गाई गोरुहरु छन् । यहाँ रहेकाका अधिकांश गाई नेपालबाट भारत तर्फ बिक्रीका लागि लैजान लागिएका थिए । तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पालिकाले भारत लैजान लागिएका गाईलाई दशजगा क्षेत्रबाट समातेर गौशालामा ल्याएर संरक्षण दिने गरेका छन् । यसैका कारण गौशालामा गाईको संख्या बढेको हो ।

गोबर र गोमूत्र द्वारा विभिन्न किसिमका मानव स्वास्थ तथा कृषिमा उपयोगी जैविक मल एवं किटनाशक औषधी उत्पादन समेत गौशालामा हुने गरेको छ । उन्नत जातका जुरो भएका स्थानीय जातका गाईको गहुंत प्रशोधन गरी मानव स्वास्थमा उपयोगी औषधी तथा रोग प्रतिरोधात्मक क्षमता भएको गौमूत्र अर्क समेत गौसालमा उत्पादन हुने गरेको छ । गोअर्कको व्यापार फस्टाएको बताउछन् स्थानीय बासिन्दा । नेपालका बिभिन्न ठाँउमा सताक्षीको गोअर्क विक्रि हुने गरेको छ । सर्बसाधरणले घरेलु औषधीको रुपमा गोअर्क प्रयोग गर्ने गरेका छन् ।

जानकारका अनुसार जुरो भएका र जंगल चरेका गाईको गंहुतमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । बजारबाट गोअर्कको माग आएकाले उत्पादन बढाउने तयारी गौशालाले गरेको व्यवस्थापक सुबेदीले बताए । उनि भन्छन ‘गौ अर्कको विक्रीबाट आएको पैसाले गौशालाको दैनिक खर्च धान्ने गरेको छ ।’
गौशालाबाट पंचगव्य घीऊ, गोमय दंत मंजन, गोबरद्वारा निर्मित धुप, हवन सामग्री समेत उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका हरेक बस्तु रसायनमुक्त भएको संरक्षक नन्दकिशोरले बताए । उनका अनुसार पर्यावरणमा पवित्रता ल्याउने अगरवत्तीको धुवांले मानव स्वास्थमा पुर्याउने हानीलाई रोक्नका लागि गोमय धुपको उत्पादन भएको हो । झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादित धुपको माग बढेको छ । गौशालाले भन्यो, ‘बजारमा माग बढेपछि गौशालामा उत्पादन पनि बढाउन थालिएको छ ।’

गोमूत्रबाट बनाएको गोनायल केमिकल मुक्त र सनातन हुंदा हरेक घरमा गोमूत्र गोनायल प्रयोग गरे घर स्वच्छ र पवित्र पनि हुने अध्यक्ष भारद्धाजको भनाई छ । ‘यसले फिनेलको काम गर्छ,’ उनले भने । गोबरबाटै बर्मीकम्पोष्ट जिबामृत झोल, गडेउले मल जस्ता जैबिक प्रांगरिक मल पनि गौशालाबाट उत्पादन हुने गरेको छ ।

किसानले बजारमा रासायनिक मल नपाएपछि गौशालाबाट सस्तो मूल्यमा जैबिक मल खरिद गर्न थालेका छन् । शिवसताक्षी ११ का किसान रामबहादुर दाहाल भन्छन, ‘एक ट्याक्टर गडेउले मल ल्याएर धानबारीमा लगाएको छु । बोट सप्रिएर आएको छ । धान उत्पादन पनि सायद बढ्छ ।’ रासायनिक मल अबदेखी खेतमा नलगाउने उनले बताए । जैबिक कृषिले मानव स्वास्थमा फाइदा पुर्याएकै कारण गोबरबाट उत्पादन हुने बस्तुको माग बढेको बताउँछन गौशाला संचालक ।
गोरक्षाले प्रकृति पर्यावरण जीव र वनस्पतिको रक्षा हुने र राष्ट्रिय जनावर गाईको पनि सुरक्षा हुने भएकोले गौरक्षाका लागि स्थापना भएको सताक्षीधामको गोलोक गोवर्धन गौशाला सहायक बनेको छ । पर्यावरण रक्षाका लागि पालिएका गाई बुढो भएर मरे सनातनी संस्कार गरेर समाधि स्थलमा एउटा वृक्ष रोप्ने चलन गौशालामा छ ।

मानिसको मृत्युपछि दाह संस्कारमा समेत गाईको गोबरलाई मेसिनद्वारा निर्माण गरिएको दाउराको प्रयोग समेत बढ्न थालेको छ । गौशालाले एउटा मानिसको मृत्यु पछि गरिने शवदहनका लागि एउटा वृक्षले मुर्र्नुपर्र्ने बाध्यतालाई न्यूनिकरण गर्न गोबरको दाउराको प्रयोग बढाएको हो ।
गोलोक गोवर्धन गौशालामा १ सय लिटर दूध, गोमूत्र अर्क ६० लिटर, गोनायल (फिनेल) ६० लिटर,. गोमय दंत मंजन ५ किलो ग्राम,. गोमय धुप ५ किलो ग्राम दैनिक उत्पादन हुने गरेको छ । यस्तै पंचगव्य घीऊ १ किलो ग्राम , प्रांगरिक मल १ सय किलो ग्राम , जीवामृत झोल १ सय लिटर, गडेउले मल १ सय किलो ग्राम र गोमुत्र किटनाशक ५० लिटर उत्पादन हुने गौशालाका अध्यक्ष नन्दकिशोर भारद्धाजले बताए ।

प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]