१०२ वर्षीय न्यौपानेले सात दिनमै लेखे खण्डकाव्य
बिर्तामोड । एक सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेख्नुभएको छ । मोरंगको सुन्दरहरैचा –४ निवासी न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ ।
मोहन सिटौलाले प्रकाशन गर्नुभएको सो कृति १सय २ बर्षीय न्यौपानेले उहाँकै निवासमा लोकापर्ण गर्नुभयो । शास्त्रीय छन्दका १ सय ५५ श्लोक रहेको काब्य एकजना अपांगता भएकी ३७ बर्षीया युवतीका बारेमा लेखिएको छ । सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने,कान सुन्ने, कुरा बुभ्mने तर अभिब्यक्त गर्न नसक्ने झापा चारपानेकी लिला सिटौलाको अब्यक्त भावनालाई खण्डकाब्यमा उतारिएको छ । ती युवतीले सूर्य स्तुती मार्फत उज्यालोको खोजी गरिएको छ ।

सपनामा आफ्ना बारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले बताउनुभयो । लोकार्पण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । साहित्यकार गोपाल संग्रौलाले पुस्तकमा काब्य नायिकाले सूर्य स्तुती मार्फत आफ्ना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको बताउनुभयो । समाजशेवी प्रेम प्रकाश सिटौलाले उमेरले १ सय २ बर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झै रहेको बताउनुभयो । धरणीधर न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहपरीक्षा नियन्त्रण नन्द न्यौपानेले पुस्तकमा एक जना अपांङ्गता भएकी युवतीमार्फत आवाज विहीनको आवाज बुलन्द भएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेह्रथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौंलाई ज्योति प्रदान गर्नुभएको भन्दै न्यौपानेको प्रशंसा गर्नुभयो ।
तेहथुम चुहानडाँडाबाट ताप्लेजुङ्ग ढुगेसाँघु बसाई सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाउनु हुने गुरुलाई राष्ट्रले नै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । १ सय २ बर्षीय काब्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उहाँ अहिलेसम्म चश्मा नलगाइ लेखपढ गर्न सक्नुहुन्छ । केहि न केहि गरेर बस्ने धरणीधर न्यौपाने अहिले पनि अर्को काब्य सृजना गरिरहनुभएको छ । आज लोकापर्ण गरिएको कृति सहित उहाँका आधा दर्जन कृति प्रकाशित छन् । न्यौपाने वंशावली,ग्राहस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाब्य,गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन् ।