जेष्ठ १, २०८२ बुधबार

६ महिनापछि आजबाट नियमित आन्तरिक उडान

झापा । छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।
सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।

बुकिङ उत्साहजनक
लामो समयपछि खुला भए पनि आन्तरिक उडानको टिकट बुकिङ उत्साहजनक नै रहेको छ । यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सोमबारको उडानका लागि ७० प्रतिशतसम्म टिकट बुकिङ भएको छ । अन्तिम समयसम्म पनि बुकिङ खुला रहने भएकाले यो सङ्ख्या अझ बढ्नसक्ने उहाँले बताउनुभयो । सोमबार यतीले ११ वटा उडान गर्नेछ ।
त्यस्तै बुद्ध एयरका दीपेन्द्र कर्णका अनुसार आइतबार दिउँसोसम्म ८० प्रतिशत टिकट बुकिङ भइसकेको छ । बुद्धले काठमाडौँबाट सोमबार १८ वटा उडान गर्ने अनुमति पाएको छ । श्री एयरलाइन्सले भने आन्तरिक कारण देखाउँदै भोलि उडान नगर्ने भएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]