बैशाख २१, २०८१ शुक्रबार

बालकको मृत्युप्रकरणमा शंकैशंका

बिर्तामोड । हिरासतमा भएको बालक किरण कार्कीढोलीको रहस्यमय मृत्युको घटनाले आन्दोलनको तयारी गरिरहेका झापाका दलित संघ संगठनले इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुवास खड्कालाई निलम्बन गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा आइतवार दिउँसो भएको छलफलमा दलित अधिकारकर्मीले डिएसपी खड्काको निलम्बन माग गरेका हुन् । दलित अगुवा टिकाराम मंग्रातीले छानविनलाई प्रभावकारी बनाउन निलम्बन अनिवार्य भएको बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मानव अधिकारकर्मी, दलित अधिकारकर्मी , पत्रकार र सुरक्षा निकायका प्रमुखलाई डाकेर घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठलाई जानकारी दिन भनेका थिए । प्रजिअ दाहालले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठ र प्रदेश प्रहरी कार्यालय विराटनगरलदे अनुसन्धान टोली गठन गरेर काम अघि बढाएको जानकारी दिए । अधिकारकर्मीको माग अनुसार जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा पनि अनुसन्धान टोली बनाउन आफु तयार जानकारी गराएका छन् ।

छलफलमा प्रहरी प्रवक्ता श्रेष्ठले घटनाबाट प्रहरी पनि दुखित भएको भन्दै अनुसन्धानलाई तिब्र रुपमा अघि बढाइरहेको जानकारी दिए । उनले भने, घटनामा प्रहरीको त्रुटि हुन सक्छ । तर, नियतवस प्रहरीबाट यो घटना भएको होइन । हामी अनुसन्धानलाई जारी राख्छौ, उनले थपे– कसैलाई अन्याय हुन दिनेछैनौ । उनले छलफलमा सहभागिलाई बालकलाई अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरिरहेको जानकारी दिएका छन् । शुरुआतमा चोरीको घटना भनिरहेको प्रहरीले अहिले अभद्र व्यवहार भनेको छ । यसले प्रहरीमाथि आशंका गरिएको छ । अधिकारकर्मीले चोरीबाट अभद्र व्यवहारमा कसरी तथ्य मोडियो भनेका छन् । प्रहरीले चोरी प्रयाससँगै अभद्र व्यवहार गरेको बताएका छन् ।

बिर्तामोडको शान्ति टोलबाट चैत २९ गते पक्राउ परेका कार्कीढोलीको २ गतेसम्म म्याद थप गरिएको थिएन । विदाका कारण म्याद थप गर्ने काम हुन सकेको थिएन, बिर्तामोडका डिएसपी खड्काले भने – ३ गते म्याद थप गरेर प्रक्रिया अघि बढाउने तयारी थियो । घटना २ गते राती २ बजे भयो । घटनामा कुनै नियत छैन, उनले भने । अनुसन्धानमा दोषी ठहरिए सबैले कारवाही भोग्ने उनको भनाई छ ।

हिरासतमा बस्ने व्यक्तिको सुरक्षा जिम्मेवारी प्रहरीले लिनुपर्ने व्यवस्था छ । सो समयको सम्पूर्ण जिम्मेवारी प्रहरीको भएकाले यो घटना प्रहरीकै लापरबाहीको कारण भएको अधिकारकर्मी छविलला विश्वकर्माको भनाई छ । उनले सहजै वातावरणमा दोषी सार्वजनिक गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । असहज परिस्थितको सामना गर्न सजिलो नहुने भन्दै प्रशासन पक्षलाई तत्काल अनुसन्धान गरी दोषी सार्वजनिक गर्न चेतावनी दिएका छन् ।

मानव अधिकारकर्मी विष्णु खरेलले घटनाको प्रकृतिले पर्याप्त शंका उब्जाएको जनाएका छन् । उनले बालकको उमेर प्रहरीले ढाँटेको, आत्महत्या गरेको भनिएको ठाउँको अवस्था बलियो नभएको, सूचना संप्रेषणमा रोक लगाएको, पहिचानमा त्रुटि गरेको र पोष्टमार्टमसँगै परिवारसँगको सम्पर्क शंकास्पद रहेको बताएका छन् । ‘यो घटना नियत नभएपनि भवितव्य भएको छ’ खरेलले थपे– प्रहरीबाट नै कमजोरी भएको देखिन्छ ।

अनारमनीको हिरासतमा १ जना हवल्दार र ४ जना सिपाईँले रेखदेख गर्दै आएका छन् । ५ जना प्रहरी डिउटीमा हुँदा पनि १६ वर्षीय बालकले कसरी आत्महत्या ग¥यो भन्ने चौतर्फी सवाल उठेको छ । धेरैले नयाँ वर्षमा प्रहरी मादक पदार्थमा लठ्ठिएर कुटपिट गरेर हत्या गरेको र घटना लुकाउन आत्महत्याको नाटक मञ्चन गरेको आरोप लगाएका छन् । लागुऔषध प्रयोग गर्ने ति बालक चंन्चले स्वभाव भएकाले यताउति हिडिदिने गरेकोले प्रहरीबाट कुटपिट भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  १० : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]