प्रमाणित भएमा पार्टीले कारवाही गर्छ : अध्यक्ष पाठक
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका जिल्ला कमिटी सदस्य खगेन्द्र पराजुलीले बिर्तामोड –१० मा रहेको २८ कठ्ठा जग्गा हत्याउन गरेको प्रयास बारे सार्वजनिक भएपछि पार्टीले चासो व्यक्त गरेको छ । पराजुलीले ९९ लाख १४ हजार ४ सय मुल्यको जग्गा हत्याउन विभिन्न खाले किर्ते कागज बनाएको इजलासले सार्वजनिक गरिसकेको छ ।

नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले जग्गाधनी अन्यायमा परेको पार्टीलाई जानकारी गराएमा कार्यदल बनाएर छानविन गर्ने बताए । उनले पीडितबाट न्यायमा परेको कुरा पार्टीलाई जानकारी दिनुपर्ने बताएका छन् । अध्यक्ष पाठकले भने, ‘यदि पीडितबाटै अनुरोध भएका पार्टीले घटनाबारे जानकारी लिने, अध्ययन गर्ने र प्रमाणित भएमा कारवाही गर्नेछ ।’
जिल्ला कमिटी सदस्य पराजुलीले बिर्तामोड –१० का गिरी दास र उनको दाजुभाईको जग्गा हत्याउन फरक–फरक विवरण भएको कागज तयार गरेको भेटिएको छ । ९ लाख बैना दिएर २० दिएको कागज बनाइएको समेत इजलासले प्रमाण फेला पारेको छ । झण्डै १ करोडको जग्गा ४५ लाख कायम गरेर कागज बनाएको थाहा पाएपछि स्थानीयबासीको सहयोगमा पीडित परिवारले बिर्तामोड नगरपालिकामा उजुरी गरेको थियो । उजुरी पछि बिर्तामोड नगरपालिकाले जग्गा रोक्काका लागि मालपोतलाई पत्राचार गरिसकेको छ ।
जग्गाको सम्झौता मुल्य, बैना र दिनुपर्ने रकम नै फरक–फरक लेखिएको कागजले ठगि गर्न खोजिएको स्पष्ट पारेको छ । जालझेल गरेर जग्गा हत्याउन तयार गरिएको कागजमा साक्षी र मिति समेत छैन । प्रिन्ट गरिएको लिखितममा हस्तलिखित गरेर ४५ पनि दिई सकेको उल्लेख गरिएको छ ।
र, यो पनि पढ्नुहोस् : किर्ते कागज बनाएर बिर्तामोडको २८ कठ्ठा जग्गा हत्याउन खोज्ने नेकपा झापाका जिल्ला सदस्यको कर्तुत सार्वजनिक