चैत्र १६, २०८० शुक्रबार

गौरीगञ्जको कृषि अनुदान घोटला : मोहन टुडुको कार्यदलले वर्षदिनमा पनि बुझाएन प्रतिवेदन

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले विभिन्न घटनामा पार्टीका नेता कार्यकर्ता संलग्न भएको आरोप लागेपछि छानविन गर्न कार्यदल बनाउने गरेको छ । पार्टी बैठकबाटै कार्यदल बनाएर छानविन गर्ने भनेपनि कार्यदलले प्रतिवेदन समेत नबुझाउने गरेको बुझिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका जिल्ला कमिटी सदस्य खगेन्द्र पराजुलीले बिर्तामोड–१० मा २८ कठ्ठा जग्गा हत्याउन गरेको किर्ते कागजात बारे सार्वजनिक भएपछि पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले पीडितबाट उजुरी आएमा कार्यदल बनाएर छानविन गर्ने दोहो¥याएका छन् । घटनालाई तत्कालका लागि साम्य बनाउन कार्यदल बनाउने गरिएको नेकपाको कार्यदल अभ्यासले देखाएको छ । कार्यदल बनाउने र समयमै प्रतिवेदन नबुझाउँदा आरोपीहरुले उन्मुक्ति पाउने गरेको पार्टीमा चर्चा हुने गरेको छ ।

मोहन टुडु

गत वर्ष गौरीगञ्ज – २ का किना राजवंशीले किसानको लाखौं रुपैयाँ अनुदान घोटला गरेको समाचार सार्वजनिक भएको थियो । नेकपा झापा जिल्ला कमिटी सदस्य राजवंशीले कृषि ज्ञान केन्द्रले चैते धानका लागि किसानलाई अनुदान वापत दिएको १९ लाख २० हजार ३ सय घोटला गरेको आरोप लागेको थियो । सो घटना लगत्तै पार्टीको जिल्ला कमिटी बैठकले अध्ययन गर्न कार्यदल बनाएको थियो ।

नेकपाका नेता मोहन टुडुको संयोजकत्वमा बनाएको कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको थियो । टुडुको नेतृत्वमा रहेको कार्यदलमा मदन अधिकारी र राधाकृष्ण खनाल सदस्य थिए । सो कार्यदलले एक वर्ष वितिसक्दा पनि १५ दिनमा पार्टीलाई बुझाउनु पर्ने प्रतिवेदन बुझाएको छैन । जिल्ला अध्यक्ष चिन्तन पाठकले प्रतिवेदन नबुझाएको कुरा स्वीकार गरेका छन् । उनले विभिन्न व्यस्तता र कोरोनाका कारण समयमै प्रतिवेदन बुझाउन नसकेको जानकारी दिएका छन् ।

किना राजवंशी

कार्यदलका संयोजक टुडुले कोरोनाका कारण प्रतिवेदन बुझाउन नसकेको बताए । मुद्धा साउनको हो, कोरोना चैत देखि शुरु भयो भने कसरी कोरोनाले रोक्यो भन्ने जिज्ञासामा टुडुले भने – कार्यदललाई समय थप भएको थियो । सचिवालयले बनाएको कार्यदलले सचिवाललाई नै प्रतिवेदन बुझाउने हो , त्यसपछि सचिवालय बैठक बसेको छैन । उनले सचिवालय बैठक नै नबसेकोले प्रतिवेदन नबुझाएको जानकारी दिएका छन् ।

अनुदान घोटला भएको थाहा पाएपछि किसानले वडा कार्यलय नै घेराउ समेत गरेका थिए । माङसावा कृषक समूहका अध्यक्ष किरण राईले वडा कार्यलयमा भएको छलफलमै अनुदान वापत आएको रकमबाट किना राजवंशीले लाखौ रुपैयाँ लगेको सार्वजनिक गरेका थिए । कृषि अनुदान ल्याउनका लागि सहयोग गरे वापत राजवंशीले सो रकम बुझेको राईको भनाई थियो ।

चैतेधानका लागि आएको अनुदान बजेट ०७६ असार १५ भन्दा अगाडि कृषक समूहको खातामा जम्मा भएको थियो । सो अनुदानका लागि किसानको नक्कली कागजात र विवरण भरेर फरफारक गरिएको प्रमाण सार्वजनिक भइसकेको छ । किना राजवंशीले सोहि वडाका एक जना सदस्यलाई साथमा लिएर मृतक र जमिन विहीन नागरिकको नाममा समेत अनुदान रकम निकासा गरेर घोटला गरेका थिए । अनुदानमा घोटला भएपछि अख्तियारको इटहरी कार्यलयले अनुसन्धान अघि बढाइरहेको छ ।

यो पनि पढ्नुहोस् : नेकपाका झापा जिल्ला सदस्यद्वारा कृषि अनुदानमा घोटला

यो पनि पढ्नुहोस् : अनुदान घोटलाका आरोपी किना राजवंशीको छानविन गर्न नेकपा झापाले बनायो कार्यदल

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]