बैशाख १३, २०८१ बिहीबार

ढल्केबर सबस्टेसन तयार, नेपाल–भारत विद्युत् व्यापार सहज हुने

झापा । नेपालको आन्तरिक विद्युत् प्रवाह सुदृढीकरण तथा नेपाल भारत दुई देशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको धनुषामा निर्माणाधीन चार सय केभी ढल्केबर सबस्टेसन तयार भएको छ । २२० केभी क्षमतामा सञ्चालनमा ल्याइएकामा सबै प्राविधिक उपकरण जडान तथा परीक्षणपछि अहिले चार सय केभीए पूर्ण क्षमतामा सञ्चालन गर्न नो लोड चार्ज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसको निर्माण १२ सय मेगावाट विद्युत् आदान–प्रदान गर्नसक्ने गरी जीआईएस प्रविधियुक्त स्वचालित रूपमा गरिएको छ । सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ट्रान्समिटर छन् । अहिले ती ट्रान्सफर्मर चार सय केभीमा सञ्चालन गर्नेगरी नो लोड चार्ज सुरु गरिएको ढल्केबर सबस्टेसन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिनुभयो । ३१५ एमभीएका तीन ट्रान्सफर्मरलाई चार सय केभीएमा सञ्चालन गर्नेगरी २२० केभी ब्याक फिडबाट चार्ज गर्न सुरु भएको छ, उहाँले भन्नुभयो, “अहिले एउटा सुरु गरिएको छ, त्यसपछि बाँकी दुई चार्ज हुनेछन् । ”
असार मसान्तभित्रै यस्तो चार्ज गर्ने लक्ष्य प्राधिकरणको थियो तर कोरोना महामारीका कारण जारी बन्दाबन्दीले चीनबाट उपकरण आउन पाएका थिएनन् । कोरोना त्रासका कारण केरुङ नाका बन्द हुँदा हाई भोल्टेज टेस्टिङ मेसिन ल्याउन ढिला भएको होे ।

निर्माण सम्पन्न हुनैै लागेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न यो सबस्टेसन अत्यावश्यक रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सेनाले बताउनुभयो । तामाकोसीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन यो सबस्टेसनले भूमिका खेल्नेछ, उहाँले भन्नुभयो, “ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात तथा निर्यात गर्न पनि यो प्रसारण लाइन प्रयोगमा आउने छ । ”

माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोङ्गरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याउन लागिएको छ । यसका लागि आयोजनाले गोङ्गर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ । सबस्टेसन तयार भएसँगै नेपाल–भारत विद्युत् व्यापारका लागि बन्दै गरेको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन पनि अब चार सय केभीमा सञ्चालन गर्न लागिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिनुभयो ।

भारतको मुजफ्फरपुरमा रहेको एक टावरमा करिब दुई सय मिटर तार चार सय केभीमा सिफ्ट गर्ने काम मात्र बाँकी छ । यो काम पनि आगामी नोभेम्बर १० भित्र सक्ने जानकारी भारतीय पक्षले गराएको छ, कोइरालाले भन्नुभयो, “नेपाल–भारत विद्युत् व्यापारका लागि हामी प्राविधिक रूपले चुस्त भएका छौँ । ”

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपियाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्यास इन्सुलेटेड यो सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेको छ । सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ देखि ठेक्का प्रक्रिया थालिएको थियो । निर्माण थालिएको करिब साढे दुई वर्षमा यो सबस्टेसन तयार भएको हो ।

प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]