बैशाख ८, २०८१ शनिबार

चिनियाँ रक्षामन्त्री वेई फेङ्ह नेपाल आउँदै

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् । चिनियाँ रक्षामन्त्री नेपाल हुँदै बंगलादेश र पाकिस्तानको भ्रमणमा जानेछन् । चिनियाँ विदेशमन्त्री वाङ्ग यी नेपाल भ्रमणमा आउने चर्चा चले पनि अन्ततः रक्षामन्त्री नै नेपाल भ्रमणमा आउन लागेका हुन् ।

काठमाण्डौंस्थित चिनियाँ राजदूतावासले आयोजना गर्ने द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा समेत उनले सहभागी जनाउने छन् । उनको भ्रमणको विषयमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको भेटलाई नेकपाको विवादमा चीनले चासो दिएको अर्थमा चर्चा भए पनि भेटमा रक्षामन्त्रीको नेपाल भ्रमणबारे छलफल भएको स्रोत बताउँछ ।
तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए ।

पोखरेलको चिनियां रक्षामन्त्री फेङ्हेसँग राम्रो व्यक्तिगत सम्बन्ध समेत छ । उनको भ्रमणका बेला २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो ।

त्यसैको निरन्तरता स्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालीन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरीय भ्रमण भएको छैन् ।

चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् । उनी चिनियाँ राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलर समेत हुन् ।

यसअघि चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्स कमाण्डर रहेका उनी केन्द्रीय सैन्य आयोगका पहिलो नम्बरमा सदस्य हुन् । उक्त आयोगको चिनियाँ राष्ट्रपति सी अध्यक्ष हुन् । त्यसअघि उनी चिनियाँ जनमुक्ति सेनाको डेपुटी चिफ अफ स्टाफको जिम्मेवारीमा थिए ।

पछिल्लो समय भारतबाट उच्चस्तरको राजनीतिक भ्रमण भएसँगै चीनबाट पनि त्योभन्दा माथिल्लो स्तरबाट भ्रमण हुन लागेको हो । भारत र अमेरिकाबीच दक्षिण एसियामा रणनैतिक साझेदारी बढेसँगै यो क्षेत्रमा चिनियाँ चांसो पनि बढेको हो ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]