बैशाख ६, २०८१ बिहीबार

कचनकवलको निशुल्क शिक्षा कार्यक्रम घोषणा मात्रै, लक्ष्मी क्याम्पसले माग्यो विधार्थीसँग शुल्क

प्रदीप परियार

बिर्तामोड । कचनकवल –६ मा रहेको लक्ष्मी क्याम्पसले अध्ययनरत छात्रालाई शुल्क बुझाउन सार्वजनिक अपील गरेको छ ।

कचनकवलले सो क्याम्पसमा अध्ययन गर्ने छात्राहरुका लागि गत वर्ष छात्रवृत्ति दिने घोषणा गरेको थियो । क्याम्पस तह अध्ययन गर्ने छात्रालाई निशुल्क शिक्षा दिने घोषणा गरेको कचनकवलले क्याम्पसलाई बुझाउनु पर्ने रकम उपलब्ध नगराएको क्याम्पस प्रशासनले जनाएको छ । गापाबाट रकम उपलब्ध नभए पछि विधार्थीलाई रकम बुझाउन सूचना जारी गरिएको क्याम्पस प्रमुख मोती राजवंशीले जानकारी दिए ।

गत बुधबार सूचना जारी गर्दै लक्ष्मी क्याम्पसले गाउँपालिकाले उपलब्ध गराउनुपर्ने रकम अपुग भएकाले बाँकी रकम बुझाउन विधार्थीसँग ताकेता शुरु गरेको छ । छात्राहरुको एक वर्षभरिको हुन आउने सम्पूर्ण शुल्क गाउँपालिकाबाट प्राप्त नभएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । रकम नआए पछि सञ्चालक समितिको बैठकबाट छात्रासँग शुल्क उठाउने निर्णय गरिएको हो ।

विधार्थी माथि खेलवाड भयो : क्याम्पस प्रमुख
क्याम्पस प्रमुख मोती राजवंशीले गाउँपालिकाले लोकप्रियताको नाममा विधार्थीको भविष्यमाथि खेलवाड गरेको बताएको छन् । इजलाससित कुरा गर्दै प्रमुख राजवंशीले गाउँपालिकाले ५० प्रतिशत रकम मात्रै बुझाएको जानकारी दिए । उनले पटक–पटक गापा अध्यक्ष अन्जार आलमसँग भुक्तानीको कुरा गर्दा विधार्थीसँगै उठाउन भनेको बताए । गाउँपालिकाले नीति तथा कार्यक्रममा छात्रालाई निशुल्क शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले कार्यक्रममै निशुल्क शिक्षा व्यवस्था गरेपछि क्याम्पसले सो क्षेत्रका २ सय ५१ जना छात्रालाई छात्रवृत्ति दिएको थियो । वर्षभरीको ४३ लाख हुन्छ, राजवंशीले भने – आधा पैसा आइसक्यो , अब विधार्थीसँग उठाउनुपर्ने बाध्यता बन्यो ।
कार्यक्रममा निशुल्क शिक्षाको व्यवस्था मिलाए पछि गाउँपालिकाले विधार्थीको तथ्याङक मागेको थियो । क्याम्पसलाई दररेट अनुसार भुक्तानी दिने बताए पनि गाउँपालिकाले परीक्षाको मुखमा विधार्थीलाई समस्यामा पारेको छ ।

आदीवासी बाहुल्य रहेको कचनकवलमा निशुल्क शिक्षा कार्यक्रमले अध्ययनमा राहतमा मिलेको थियो । क्याम्पस प्रमुख राजवंशी भन्छन्, ‘हामीले शिक्षामाथि नै गाउँपालिकाले यत्तिका खेलवाड गर्ला भन्ने सोचेका पनि थिएनौं ।’ मंसिर २८ गते देखि चौथो वर्ष अध्ययनरत विधार्थीको परीक्षा हुदैछ, अहिले आएर विधार्थीसँग पैसा माग्ने कुरा असान्दर्भिक भएको राजवंशीको भनाई छ । उनले गाउँपालिकाले समस्यामो समाधान खोजेर निकास दिनुपर्ने बताए । निकास दिएमा गाउँपालिका, क्याम्पस र विधार्थीको भलाई हुनेछ, राजवंशीले भने ।

क्याम्पसले शुल्क बढायो : अध्यक्ष आलम
कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जर आलमले क्याम्पसले शुल्क बढाएको आरोप लगाएका छन् । उनले गापाबाट बजेट दिने भनेपछि क्याम्पसले शुल्क बढाएको बताए । भर्ना र मासिक शुल्क बढाएको कारण अनुमानित बजेटले नपुगेको प्रतिक्रिया दिए ।
क्याम्पसले पारदर्शी हिसाव समेत बुझाएको छैन, लकडाउनमा पढाएको पनि छैन , आलम भन्छन्– नपढाएको पैसा कसरी दिने ? उनले यसबारे गाउँपालिकामा छलफल पछि मात्रै के गर्ने भन्ने ठाउँमा पुगिने बताए ।

अनेरास्ववियू आन्दोलित
गाउँपालिकाले छात्राहरुका लागि दिनुपर्ने बजेट नदिएकोमा अनेरास्ववियू आन्दोलित बनेको छ । अनेरास्ववियू लक्ष्मी क्याम्पस कमिटीले छात्रवृत्ति वापतको रकम नदिए गाउँपालिका विरुद्ध चरणबद्ध आन्दोलन शुरु गर्ने चेतावनी दिएको छ ।
अनेरास्ववियू झापाका सदस्य रोशन लामाले क्याम्पसलाई गाउँपालिकाले धोका दिएको बताएका छन् । उनले तत्काल अपुग बजेट क्याम्पस पठाउन आग्रह गर्दै विधार्थीको भविष्यमाथि खेलवाड गरे दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार  १२ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]