बैशाख १३, २०८१ बिहीबार

दश महिनादेखि कचनकवलका शिक्षकले पाएनन् तलव

बिर्तामोड । कचनकवल गाउँपालिका क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीले तलव नपाएको गुनासो गरेका छन् । उनीहरुले दश महिनादेखि विधालयले तलव नदिएको इजलाससित बताए ।
महिनौसम्म तलव नपाएका शिक्षकले अब चरणबद्ध आन्दोलनको तयारी गरेको बताएका छन् । उनीहरुले बिहीवारदेखि हातमा कालो पट्टि बाँधेर पठनपाठन शुरु गरेका छन् । बिहीवार र शुक्रवारसम्ममा तलव नपाए आइतवारदेखि पेन डाउन गर्ने तयारी गरिएको छ ।

गाउँपालिकामा रहेको तीन वटा ‘प्लट टु’ मा कार्यरत २८÷२९ जना शिक्षक, कर्मचारीले तलव नपाएपछि बारम्बार स्थानीय तहलाई यसबारे ध्यानाकर्षण गराइदै आएको शिक्षक महासंघ कचनकवलका सचिव नविन ढुङ्गानाले जानकारी दिए । उनले गाउँपालिकाले शिक्षा क्षेत्रलाई नै लथालिङ्ग बनाएको आरोप लगाए । ढुङ्गानाले भने, – शिक्षा क्षेत्रमा राम्रा कार्यक्रम बनाएर गाउँपालिकाले सस्तो लोकप्रियता मात्रै कमायो । तर, कार्यान्वयन गर्न सकेन ।

गाउँपालिकाले निशुल्क शिक्षाको कार्यक्रम ल्याएपछि शैक्षिक संस्थालाई बुझाउनुपर्ने लाखौं रकम अझै बुझाएको छैन । रकम नबुझाएकै कारण शिक्षक कर्मचारीले तलव नपाएको बुझिएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गर्दा प्रति पिरियड ३५ मासिक दिने उल्लेख गरिएको छ । गापाको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार शिक्षक कर्मचारीले तलव लिन पाएका छैनन् ।

दश महिनादेखि तलव नपाउँदा घर व्यवहार लथालिङ्ग भइसक्यो, एक शिक्षक भन्छन् । उनीहरुले पटक–पटक गाउँपालिकालाई ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाई हुन सकेको छैन । बुधबार शिक्षक महासंघको अगुवाईमा विधार्थी प्रतिनिधि, प्रधानाध्यापक र विव्यसबिचको छलफलमा शिक्षकहरुले पेन डाउन गर्ने जानकारी गराएका थिए । पेन डाउन गर्दा विधार्थीको पठनपाठन नै अवरुद्ध हुने भएकाले पहिलो चरणमा पेन डाउनको विकल्प खोज्न आग्रह गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य रोशन लामाले बताए । उनका अनुसार पहिलो चरणमा शिक्षकहरुलाई कालो पट्टि बाँधेर काम गर्न सूझाव दिइएको लामाले बताए ।

यता, गाउँपालिकाले लकडाउन अवधिको तलव दिन नसकिने अडान राख्दै आएको छ । कचनकवलका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले प्रति पिरियडको भुक्तानी ३५ सयका दरले दिने सम्झौता भएको बताएका छन् । उनले पठनपाठन गरेको तलव दिने बताउँदै भने, उहाँहरु नपढाएको पनि माग्दै हुनुहुन्छ ।

पथरिया माविका प्रधानाध्यापक कृष्ण शर्माले गाउँपालिकाले ०७६ चैत १५ देखि तलव नपठाएको जानकारी दए । उनका अनुसार पटक–पटक डेलिगेशन जाँदा पनि तलव नपठाए पछि शिक्षक कर्मचारीलाई तलव खुवाउन नसकेको बताए ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]