बैशाख १२, २०८१ बुधबार

झापामा दुर्घटना न्यूनिकरण गर्न अभियान तीब्र, पुसमा १७ जनाको मृत्यू

विनोद सापकोटा

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रमअघि सारेको छ । केहि दिन यता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गुमाएकोले सवारी साधन चेकिङ्गमा तिव्रता दिईएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा दुर्घटना न्यूनिकरण गर्न बैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उनले भने, ‘अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने बैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी सडकमा आउँछ ।’
जिल्ला भित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरुलाई सचेतना, साईकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोसीलाई कार्वाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए ।

बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरित दिशाका दुई यातायातका साधनका चालक बीच बत्तिको समन्वयकारी भुमिका नहुँदा दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले बताए । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने राता बसको लापर्बाहीका कारणपनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याई छ ।

तर, तीन पाङ्गग्रे, मोटर साईकल र मालवहाक ट्रकका चालकका अनुसार राजमार्गमा अरुको जिन्दगीको सरोकार नराखी तीव्र गतिमा चल्ने राता बसको कारण दुर्घटना बढेको हो । ‘दश रुपैयाँका लागि यात्रु बोक्न राता बसले घ्याच्च बे्रक लगाउँदा पछाडी आउने यातायातका साधन दुर्घटनाको सिकार बन्नु परेको हो,’ अटो रिक्सा चालक शिवलाल सिवाकोटीले भने, राता बसका चालकले अरुको जिन्दगीलाई रत्तिभर गन्दैनन् । मनिष दर्जी मे १ ख ३०६४ नम्बरको यात्रुवहाक बसका चालक हुन् । उनले टाटाको मार्कोपोलो बसका चालकले लावार्बाही ढंगले सवारी चलाउने गरेको आरोप लगाए । आफु अशोक लिलेण्ड गाडीको चालक भएको बताउदै उनले भने ‘मेरो गाडि त कुद्धै कुद्धैन मार्कोपोलोको त राजमार्गमा जताततै दादागिरी नै छ ।’

मे १ ख ७४८१ का चालक टंक प्रसाद सुवेदीले बस स्टेण्ड बाहिरबाट यात्रु नउठाए रोजिरोटी नै नचल्ने बताए । उनले रहरले होइन कहरले अगाडी पछाडिको दुरी हेरेर राजमार्गका गैर बस स्टेडबाट यात्रु उठाउने गरेको स्वीकार गरे । टाईमकार्ड अनिवार्य लागु गरे चालकलाई कुनै हतारो नहुने उनको भनाई छ । ‘साहु खुसी भए घरका बालबच्चा पनि खुसी हुन्छन,’ उनले भने, ‘साहुलाई खुसी बनाउन गाडीको गति बढाएर यात्रु नउठाएर अर्को गाडिले उठाईदिन्छ । त्यसो नगरे भरे के खाने भन्ने पिर हुन्छ ।’

ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट प्रमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिदै आएको छ ।

झापामा पुसमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो । यो अन्य महिनाको भन्दा धेरै हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भीर प्रकृतिको अंगभंग भए भने ७८ जना घाईते भए ।

एक महिनामा यतिको संख्यामा सवारी दुर्घटना हुँदा प्रहरीले एउटै कारण ठानेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएको । ९७ वटा दुर्घटना झापामा हुँदा शिवसताक्षी नगरमा मात्रै १० वटा दुर्घटना भए । १० वटा दुर्घटना हुँदा ५ जनाको त ज्यान गयो । स्थानीय भन्छन, ट्राफिक प्रहरीले सवारी दुर्घटना सम्बन्धी चेतना मुलक काम गरिरहँदा पनि दुर्घटनाको संख्या भने घटेको छैन ।
एक महिनाको अवधिमा ट्राफिक प्रहरीले ५ हजार ८५ जना सवारीका चालकलाई कार्वाही गर्यो ।

नियम संगत सवारी नचलाएको कारण उनिहरु प्रहरीको कार्वाहिमा परेका हुन् । यो अवधिमा झापा ट्राफिकले ३६ लाख रुपैयाँ त राजश्व संकलन गर्यो । संकलित राजश्व मध्ये ट्राफिक प्रहरी पोष्ट झिलझिलेले मात्र ५ लाख ९७ हजार संकलन गरेको छ । प्रहरी साहायक निरिक्षक गणेश श्रेष्ठको नेतृत्वको टिमले जिल्लामै सवैभन्दा धेरै राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उक्त पोष्टले मात्र ९ सय ५० सवारीका चालकलाई कार्वाही गरेको छ । चालकलाई कार्वाहि गरेपछि राजश्व संकलन पनि बढेको हो । साउन यता झापा ट्राफिकले मात्र लकडाउनका बेला पनि १ करोड राजश्व संकलन गरेको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी पोष्ट झिलझिलेले संयुक्त रुपमा मंगलबार स्टिकर नभएका यातायातका साधनलाई रिफ्लेक्सन स्टिकर टाँसिदियो । झापामा पहिलो पटक झिलझिले ट्राफिक प्रहरी पोष्टले यो अभियान सुरु गरेको हो ।

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]