बैशाख १२, २०८१ बुधबार

एसईई परीक्षा राष्ट्रिय स्तरमै

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ । कानुनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अब अगाडि बढ्न बाटो खुलेको बताउनुभयो । प्रदेशलाई एसईई सञ्चालन गर्न स्पष्ट कानुन तथा परीक्षा सञ्चालन गर्न सक्ने विश्वसनीय संस्थाको अभावमा बोर्डले नै परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अब प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले परीक्षाको तयारीलाई अगाडि बढाउने छ । खासगरी उत्तरपुस्तिकाको छपाइको आर्थिक जिम्मेवारी प्रदेश सरकारसँग रहेकोले समन्वयबाटै काम गर्नुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ । हाल एसईईको परीक्षा फाराम भर्ने कार्य चलिरहेको छ । यसका साथै प्रश्नपत्र निर्माणलगायतका परीक्षासँग सम्बद्ध काम अगाडि बढाइएको छ । बोर्डका अध्यक्ष पौडेलले एसईई आउँदो वैशाखभित्रै गर्न बोर्ड सक्षम रहे पनि विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चितता हुन नसकेकाले परीक्षाका लागि जेठ उपयुक्त हुने देखिएको बताउनुभयो ।

बोर्डले परीक्षाबारेमा आधिकारिक निर्णय भने गरिसकेको छैन । यसका साथै शैक्षिक सत्रको व्यवस्थापनको अधिकारसमेत बोर्डलाई दिइएको छ । हाल विद्यालयको पठनपाठन भौतिक रूपमा सञ्चालन गरिएको भए पनि शैक्षिक सत्रको सुरुवात र शैक्षिक सत्र समापनको विषय स्पष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : माघ २८, २०७७ बुधबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]