बैशाख १४, २०८१ शुक्रबार

‘मुलधारको नेकपाले सुर्य चिन्ह नपाए कसैले पाउँदैन’

दलित समुदायको लागि ओलीले नेतृत्व गरेको पार्टी नै मुल पार्टी

विर्तामोड । पूर्व मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीले नै सुर्य चिन्ह पाउने बताएका छन् । उनले ओलीले नेतृत्व गरेको मुलधारको नेकपाले नै सुर्य चिन्ह पाउने बताएका हुन् ।

आइतवार दलित मुक्ति संगठनले बिर्तामोडमा आयोजना गरेको प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सुर्य चिन्ह ओली पक्षीय नेकपाले पाउनेमा विश्वस्त रहन आग्रह गरेका छन् । उनले भने, ओली पक्षले सुयै चिन्ह नपाए कसैले पनि नपाउने दावी गरे । उनले नेकपामा देखिएको समस्याको मुख्य कारण प्रचण्ड–माधव नेपालको कुर्सीको लडाइ भएको बताए । उनले कुर्सीकै लडाईका कारण सो समूह नेपालको कम्युनिष्ट ओन्दोलन सिध्यान लागेको आरोप लगाए ।
दलित मुक्ति संगठनको भेलालाई सम्बोधन गर्दै नेता विश्वकर्माले नेपाली दलित समुदायको जीवनस्तर उकास्न वर्तमान सरकारले इतिहासमै धेरै काम गरिरहेको बताए । गाँस, बाँस र कपासका लागि वर्तमान सरकारले दलित समुदायको लागि अनेकौ काम गरिरहेको नेता विश्वकर्माको दावी थियो । उनले दलित समुदायको लागि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै मुल पार्टी रहेको बताए ।

कार्यक्रममा उधोग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला विकले सरकारको लोकप्रियता बढ्दै गएपछि प्रचण्ड–माधव समूह विरक्तिएको आरोप लगाइन् । उनले नेपालको समग्र दलितको आवाजलाई ओली सरकारले मात्रै सम्बोधन गरिरहेको र गर्न सक्ने बताएकी छन् ।

कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्की, जीतु गौतम, दलित नेता नैन रुचाल, निवर्तमान प्रतिनिधिसभा सदस्य विमला विक, प्रदेश सभा सदस्य जसमाया गजमेर र झापाका जिसस प्रमुख सोमनाथ पोर्तेल लगायतले बोलेका थिए । खेम नेपालीको अध्यक्षमा भएको कार्यक्रममा दलित समुदायको अधिकारका लागि एकजुट हुन आव्हान गरिएको छ ।

बिशेष प्रस्तावहरु

नेपाल दलित मुक्ति संगठनको १ नं. प्रदेशस्तरीय भेला
विर्तामोड, झापा (२०७७ फागुन ९) द्वारा पारित
बिशेष प्रस्तावहरु

नेपाल दलित मुक्ति संगठनको १ नं. प्रदेशस्तरीय भेला संगठनका नेता, साविक नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय सभाका पूर्व सांसद् कमरेड खेम नेपाली, पार्टीका केन्द्रीय नेता, पूर्व मन्त्री एवं नेपालको दलित मुक्ति आन्दोलनका धरोहर कमरेड छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यता, नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री एवं पार्टी केन्द्रीय सदस्य कमरेड विमला वि.क. र संगठनका पूर्व अध्यक्ष, पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य कमरेड जितु गौतमको बिशेष आतिथ्यता तथा संविधानसभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य कमरेड दिपक कार्की, पूर्व सांसद् एवम् पार्टी केन्द्रीय सदस्य कमरेड विमला वि.क., १ नं. प्रदेशसभा सदस्य एवं पूर्व राज्यमन्त्री कमरेड जसमायाँ गजमेर, पार्टी केन्द्रीय सदस्यहरु कमरेड खड्गबहादुर दर्नाल, कमरेड चिन्तन पाठक सहित पार्टीका नेता तथा संगठनका नेता कमरेडहरुको आतिथ्यतामा १ नं. प्रदेशका १४ वटै जिल्लाका कमरेडहरुको उपस्थितिमा २०७७ फागुन ९ गते आइतबारका दिन झापा जिल्लाको विर्तामोडमा निम्नानुसारको ९ बुँदे बिशेष प्रस्तावहरु पारित गर्दै भव्यताकासाथ सम्पन्न भयो ।

१. हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टीका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीज्यूको नेतृत्वमा रहेको सरकारलाई चौतर्फी घेराबन्दी गर्ने, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिएर संगठन निर्माण र सुदृढीकरणको कामलाई अस्तव्यस्त बनाउनेगरी राष्ट्रियता, स्वाधिनता, स्वाभिमान र समृद्धिको यात्रालाई कमजोर बनाउँदै पार्टीलाई विभाजनको अवस्थामा पु¥याउने पार्टीभित्रका केही नेताहरुको कार्यशैलीको गम्भीर समीक्षा गर्दै विखण्डन, अस्थिरता र अराजकताको अन्त्य गर्दै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानलाई सफलीभूत बनाउनेगरी संसद्को विगठन गरी मिति २०७८ बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन गर्ने घोषणा गरी जनताको माझमा जाने निर्णयको यो भेला हार्दिक स्वागत र सम्मान गर्दछ ।

२. कम्युनिष्ट पार्टी टुटफुट र विभाजनको अवस्थामा जानुले समग्र दलित मुक्ति आन्दोलन नै कमजोर बन्ने भएको हुँदा सिंगो दलित आन्दोलनलाई एकताबद्ध रुपमा अघि बढाउनको लागि नेकपाका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा एकढिक्का भएर रहने प्रण गर्दै सम्पूर्ण उत्पीडित दलित समुदायका जनसमुदायलाई हाम्रो पार्टी र नेपाल दलित मुक्ति संगठनमा गोलबद्ध हुन हार्दिक अपिल गर्दछौं ।

३. हाम्रो पार्टीको एकता भएपश्चात् दलित समुदायको नेतृत्वदायी संगठनको रुपमा रहेका नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको बीचमा एकता भई नेपाल दलित मुक्ति संगठन बनेको भएपनि यसबीचको अवधिमा संगठनको केन्द्रीय कमिटीको एकताले नै पूर्णता नपाई रहेको कारणले गर्दा संगठनको कामलाई व्यवस्थित रुपमा अघि बढाउन नसकिएको हुँदा करिब तीन बर्ष सांगठानिक काम कमजोर भएको छ । तसर्थ, नेपालको दलित मुक्ति आन्दोलनले प्राप्त गरेका उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धी हासिल गर्ने दिशामा अघि बढाउनुपर्ने संगठनको कार्यभारलाई आत्मसाथ गर्दै संगठनको एकताको कामलाई जतिसक्दो चाँडो पूर्णता दिनको लागि यो भेला पार्टी केन्द्र र संगठनको केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउँदछ ।

४. जातीय भेदभावको अन्त्य गर्दै दलित समुदायको सबैखाले हक, हित र अधिकारलाई कार्यान्वयन गर्न-गराउनको लागि नेपालको संविधान र कानूनहरुमा भएको दलित समुदायमैत्री प्रावधानहरुको प्रभावकारी कार्यान्वयन गर्न-गराउन तथा सहानुभूति नभई समानुभूति हुनेगरीको नीति, कार्यक्रम अघि बढाउनको लागि यो भेला जोडदार माग गर्दछ ।

५. सिंगो मुलुककै समस्याको रुपमा रहेको भूमिहीन सुकुम्बासीहरुको समस्यालाई दीर्घकालीन रुपमा हल गर्नको लागि संघमा भूमि सम्बन्धि समस्या समाधान आयोग गठन भई मुलुकका ७७ वटै जिल्लाहरुमा जिल्ला समितिको कार्यालयहरुको गठन र स्थापना भएको छ । देशभरका सम्पूर्ण सुकुम्बासी दलितहरु र सबै सुकुम्बासी जनसमुदाय फेरी कहिल्यै सुकुम्बासी बन्नु नपर्नेगरी तत्काल समस्या समाधान गर्नको लागि सम्बन्धित निकाय समक्ष यो भेला जोडदार माग गर्दछ ।

६. नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनुभएकोमा पार्टी केन्द्रीय कमिटी सदस्य एवम् दलित मुक्ति आन्दोलनको सशक्त नेता कमरेड बिमला विकलाई यो भेला हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ । यसैगरी यसबीचमा भूमि सम्बन्धि जिल्ला समन्वय समितिहरुको जिल्ला अध्यक्ष (३ जना), विज्ञ सदस्य र सदस्य (६ जना) पदमा नियुक्त हुनुहुने सम्पूर्ण कमरेडहरु, यसबीचमा पार्टीको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी सहित मातहत कमिटीहरु र जनवर्गीय संगठनहरुको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्ण कमरेडहरुलाई यो भेला हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

७. हाम्रो पार्टीका आदरणीय नेता एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका पूर्व अध्यक्ष कमरेड लालबहादुर विश्वकर्मा, संविधानसभा सदस्य एवम् संगठनका पूर्व केन्द्रीय सदस्य कमरेड पुरनसिंह दयाल अस्वस्थ भई उपचाररत रहनुभएको हुँदा यो भेला वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

८. यसबीचमा हाम्रो संगठनका पूर्व केन्द्रीय सदस्य कमरेड डिल्लीश्वर दर्नालको असामयिक दुःखद् निधन भएकोले वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यो भेला शोक प्रस्ताव पारित गर्दछ ।

९. नेपाल दलित मुक्ति संगठनको झापा जिल्लाको विर्तामोडमा भव्यताकासाथ सम्पन्न भएको यस ऐतिहासिक भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित पार्टीका केन्द्रीय नेता, पूर्व मन्त्री एवं नेपालको दलित मुक्ति आन्दोलनका धरोहर कमरेड छबिलाल विश्वकर्मा, बिशेष अतिथिहरु नेपाल सरकारकी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य कमरेड विमला वि.क., संगठनका पूर्व अध्यक्ष, पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य कमरेड जितु गौतम अतिथिको रुपमा उपस्थित संविधानसभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य कमरेड दिपक कार्की, पूर्व सांसद् एवम् पार्टी केन्द्रीय सदस्य कमरेड बिमला वि.क., १ नं. प्रदेशसभा सदस्य एवं पूर्व राज्यमन्त्री कमरेड जसमायाँ गजमेर, पार्टीका केन्द्रीय कमिटी सदस्यहरु, जिल्ला कमिटीका कार्यालय सदस्य, सचिवालय सदस्य एवं जनसंगठनका केन्द्रीय नेता कमरेडहरु तथा सहभागी प्रदेशका १४ वटै जिल्लाका पार्टी तथा नेपाल दलित मुक्ति संगठनको विभिन्न जिम्मेवारीमा रहनुभएका कमरेडहरु र कार्यक्रमको भव्य आयोजनाको लागि अत्यन्तै कुशल व्यवस्थापन गर्नुहुने संगठनको झापा जिल्ला कमिटी र सम्बन्धित सबै कमरेडहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यो भेला धन्यवाद प्रस्ताव पारित गर्दछ ।

नेपाल दलित मुक्ति संगठन
१ नं. प्रदेश स्तरीय भेला आयोजक कमिटी

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]