बैशाख ७, २०८१ शुक्रबार

प्रदेश–१ सरकारप्रतिको अविश्वास प्रस्ताव फिर्ता

मोरङ । प्रदेश–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

अविश्वासको प्रस्तावको समर्थक एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको प्रस्ताव फिर्ता लिए पनि राजनीतिक क्रान्तिको अध्याय समाप्त नभएको बताए । अविश्वासको प्रस्तावको समर्थकको तर्फबाट राजेन्द्रकुमार राईले नयाँ राजनीतिक स्थिति परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए ।
प्रस्ताव र समर्थक दुवै जनाले सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको, बजेट पारित भएसँगै खर्च कटौती गरेको, नयाँ योजना नल्याएको र पुरानै योजनाको भुक्तानी गर्न नसकेको प्रति सरकारको आलोचना गरे ।  सदनमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार काम गर्न नसकेको भन्दै सांसद कोष रकम कुनै पनि हालतमा काट्न नहुने बताए । उनले सरकारलाई खर्चमा मितव्ययिता अपनाउन र जनताप्रति उत्तरदायी बन्नुपर्ने भन्दै ‘जुँगा चल्यो, कुरा बुझ्यो’ मानसिकतालाई सरकारले त्याग्नुपर्नेमा जोड दिए ।

सङ्घीय समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार सङ्घीय सरकारमा निर्भर रहेकोले सङ्घीय राजनीतिको आधारमा प्रदेश संसद्लाई बन्धक बनाउन नहुने तर्क गरे । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाङ्फेले सरकार जनताप्रति उत्तरदायी नरहेको भन्दै सरकारमा सहमतीय प्रणाली लागू हुनुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले सरकारले विकास र  निकासको काम गर्न नसकेको भन्दै संसद् कोष अविलम्ब व्यवस्था गर्न माग गरे । अर्का सदस्य लीला सुब्बाले सरकारले संविधानको मर्म र भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै डढेलोमा परी समस्यामा परेका जनतालाई राहत वितरण गर्नु पर्ने माग गरिन् । सदस्य सञ्जाकुमार दनुवारले तीन वर्ष पूरा गर्न लागेको प्रदेश सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसक्दा दुःख लागेको बताए । प्रदेशसभाको अर्को बैठक यही चैत २६ गते २ः ०० बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]