चैत्र १५, २०८० बिहीबार

व्यापारीबाट कोहि पनि ठगिएको सुन्नु नपरोस् : महासचिव मैनाली

कोरोना महामारीले सबै क्षेत्र प्रभावित छ । व्यापार व्यवसायको क्षेत्रमा कोरोनाको प्रभाव डरलाग्दो छ । पहिलो चरणको कोरोनाबाट प्रभावित निजी क्षेत्र विस्तारै उठने तरखरमा थियो । तर, उठ्न नपाई दोस्रो लहरले फेरि असर पुर्याएको छ । यसै सन्दर्भमा झापाको बिर्तामोड उयोग वाणिज्य संघका महासचिव एवम् डायनमिक क्लब झापाका अध्यक्ष समेत रहनु भएका सफल व्यवसायी अर्जुन कुमार मैनालीसँग कोरोनाले निजी क्षेत्रमा पारेको समस्या तथा अन्य समसामयिक विषयमा गरिएको कुराकानी :

१.महामारीको समयमा व्यवसायीहरूलाई के कस्ता समस्या छन् ? के गर्नु पर्ला अहिले ?
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरसँगै विश्वव्यापी महामारीले निम्त्याएको ‘लकडाउन’ ले झन्डै एक महिनादेखि आर्थिक गतिविधि ठप्प छ । अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन । अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले गम्भीर असर पारिसकेको छ । यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन् । यसको असरबाट कुनै क्षेत्र पनि अछुतो छैन । बिर्तामोडको अवस्था हेर्ने हो भने पनि यहाँका सबै क्षेत्र अस्तब्यस्त अवस्थामा छन ।

यातायात, पर्यटन, होटेल ब्यबसाय, निर्माण व्यवसाय देखी उधोग कलकारखाना, ठुला, मझौला र साना व्यापार सबैमा कोभिडको असर छ । बिप्रेशण देखी कृषि उत्पादनसम्म जटिलता थपिदिएको छ ,महामारीकले । इतिहासकै चुनौतीपूर्ण अवस्थामा हामी छौं । यसकारण एक जुट भएर निस्कनु पर्ने बेला पक्कै आएको छ । हाम्रो जस्तो ४ हजार भन्दा बढी सदस्य भएको संस्था, सञ्जाल ठूलो छ । त्यसकारण समाज, देश र अर्थतन्त्रलाई कोरोना भाइरसबाट बचाउँदै स्वास्थ्य सम्बन्धी मापदण्ड र नियमको सम्मान गर्दै यस संकटको घड़ीमा मिलेर सबै निजी क्षेत्रका व्यवसायी एक भएर अगाडी बढ्नु आजको आवश्यकता हो ।

२. यो संकटबाट अर्थतन्त्र जोगाउन के गर्न सकिएला ?
कुनै पनि महामारी पहिले नै थाहा दिएर आउदैन र त्यसले पार्ने जोखिम पूर्व अनुमान गर्न सकिदैन । तर पनि यस प्रकारका महामारी, प्राकृतिक बिपत्तिहरु बेला बेलामा आइरहने छन् । यसबाट पर्न जाने जोखिमको न्यूनिकरणका लागि सरकार तथा हामी जनताले पूर्व तयारीका साथ सचेत रहन जÞरूरी छ । सामान्य आँखाले हेर्दा कुनै पनि रोग जनस्वास्थ्यको विषय मात्रै हो जस्तो लाग्छ । संक्रमण फैलनु, बिरामी हुनु जनस्वास्थ्यको विषय त हो तर, त्यो भन्दा बढी आर्थिक, सामाजिक अनि राजनीतिक सवाल पनि हुन् ।

सामाजिक यो अर्थमा हो कि यस किसिमको भाइरसको उत्पत्ति देखि संक्रमण फैलिनु, मृत्यु हुनुका पछाडि खास सामाजिक कारणहरू छन् । विभिन्न अध्ययनले कोरोना जस्ता विभिन्न भाइरसहरु मानवीय क्रियाकलापको कारण सिर्जित समस्या हो भन्ने देखाएका छन् । चीनको वुहानमा देखिएको केहि समयमै संसारभरी फैलनुमा समकालीन विश्वले अवलम्बन गरिरहेको विश्व व्यापीकरणको भुमिका छ । सम्बन्धित देशको स्वास्थ्य नीति, स्वास्थ्य सेवाको अवस्था लगायतका सवालले यसको मृत्युदरमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । यो अवस्थामा अल्पकालिक र दीर्घकालिक सोचका साथ राज्य अघी बढनु पर्छ जÞस्तो लाग्छ ।

अल्पकालिक रूपमा राहत तथा सहयोगको प्याकेज निर्धारण गर्न सरकारले एउटा उच्चस्तरीय समिति गठन गरेर कोरोना र लकडाउनले विभिन्न क्षेत्रमा पारेको नकारात्मक प्रभावको अध्ययन र अनुसन्धान गरेर प्रभावित क्षेत्रको क्षति न्यूनिकरण र पुर्नजीवन सहितको बृहत प्याकेजको घोषणा गर्नु पर्दछ । प्याकेज निर्धारण गर्दा अहिले सरकारले दिएको अतिरिक्त सहूलियत कर्जा, सरकारी अनुदान, ऋण मिनाह, करको दर पुनर्मूल्यांकन आदिका माध्यमबाट सहयोग गर्न जÞरूरी देखिन्छ । दीर्घकालिन रूपमा अहिलेको यसप्रकारको अवस्थाबाट पाठ सिक्नुपर्ने कुरा के हुन्छ भने बैदेशिक रोजगारमा अकुशल श्रमिक पठाएर प्राप्त हुने विप्रेषणअर्थतन्त्रको लागि दिगो हुदैन । त्यसकारण वयवसायिक शिक्षाको विकास गरी देश भित्र नै रोजगार सिर्जना गराउने र बैदेशिक रोजगारमा पठाउदा पनि कुशल श्रमिक मात्र पठाउने नीति लिनु जरुरी हुन्छ ।

३. कोरोनाको दोस्रो लहरमा वाणिज्य संघ के गर्दैछ ?
ज्यान रहे ज्ञान रहन्छ भने झै कोभिडको दोस्रो लहरको संक्रमणबाट बच्न सके मात्र व्यापार गर्ने जीवन रहने हो । तसर्थ यो लहरको महामारीमा सबैले स्वास्थ्य मापदण्ड र व्यक्तिगत स्वास्थ्यमा ध्यान दिऊ भने त्यो नै राज्य र समाजका लागि ठुलो योगदान हुनेछ । मानव जीवन संकटमा छ । बिपद्को यस घड़ीमा भौतिक दूरी कायम राखी सकेको सहयोग गरौ भन्ने अपील पनि गर्न चहान्छु । वाणिज्य संघले महामारीको बिपद्मा आक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन बिर्तामोड क्षेत्रमा व्यापक सक्रियता बढ़ाएको छ । कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन तिब्र पारेको छ । संक्रमित व्यवसायीको घर परिवारको अवस्था बुझ्ने र आवश्यक मद्दतको लागि सहयोग र समन्वय गर्ने काम गरी रहेको छ ।

४. कालोबजारी नियन्त्रणमा संघको भूमिका कस्तो रहन्छ ?
हामीले स्थानीय सरकार, स्थानीय प्रशासन, स्थानीय सरोकारवाला सबैको सहयोग र समन्वयमा बिर्तामोडमा हुन सक्ने कालोबजारी नियंत्रित गर्न बजार अनुगमन र सचेतना कार्यक्रम संचालन गरी रहेका छौं । यसबाट जनमानसमा सकारात्मक प्रभाव परेको छ भन्ने मलाई लाग्छ । हाम्रो प्रयास बिर्तामोडका कुनै पनि व्यवसायीले गैरकानुनी काम गरेको देख्न सुन्न नपरोस भन्ने नै हो । र, मलाई बिश्वास छ हाम्रो नगरमा कालोबजारी हुने पनि छैन । यदि कही कतै कालोबजारी गरेको थाहा पाउनु भएको छ भने हामीलाई सूचना दिनुहुन अनुरोध समेत गर्दछु ।

५. संघको प्रभावकारी भूमिका नदेखिएको गुनासो छ नि ?
महामारीको समय छ । यति भयानक अवस्था छ कि यहाँ अहिले गरेर देखाउन सक्ने अवस्था पनि छैन । किनभने, संक्रमणको जोखिम डरलाग्दो छ । संघको भूमिका नै देखिएन भन्ने कुरा गलत हो । हामीले संघको तर्फबाट व्यवसायी र आम नागरिकको निम्ति काम गरिरहेका छौं । हाम्रो मुख्य भूमिका भनेकै संक्रमण दर कम गर्न सचेतना जगाउने हो । व्यवसायको क्षेत्रमा जोखिम कम गर्ने, कालाबजारी रोक्ने, नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने हो । भर्खरै हामीले संघकै पहलमा ६ लाख बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेका छौं । यस्तै यस्तै सामाजिक काममा भूमिका निर्वाह भइरहेको छ । यसलाई सबैले स्वीकार गर्नैपर्छ ।

६, अन्त्यमा , व्यवसायीलाई के आग्रह गर्न चहानुहुन्छ ?
यो समय भनेको सेवा गर्ने समय हो । जसले सेवाको नाममा गलत काम गर्छ त्यो अपराध ठहरिने छ । मानव जीवन मै संकट आइरहेको बेला कोहि कसैबाट गलत काम हुनुहदैन । म तमाम व्यवसायीहरुमा आग्रह गर्न चहान्छु, सकेको सेवा सेवा गरौं । कसैले गलत गर्दैछ भने सम्झाई बुझाई गरौं । हाम्रो जीवन रहेछ भने फरि मज्जाले व्यापार गरौला । यो महामारीमा कसैले पनि व्यापारीबाट ठगिएको सुन्नु नपरोस् । व्यवसायी र आम उपभोक्तालाई आफ्नो जीवन रक्षाका लागि निषेधाज्ञाको पालना गर्न आग्रह गर्दछु ।

प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]