चैत्र १५, २०८० बिहीबार

आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपु-याउनेछ ।

त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो । जसको प्राथमिकतामा ज्येष्ठ नागरिक परेका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार उच्च जोखिम समूहमा रहेकालाई खोप उपलब्ध गराइनेछ । ‘खोप आएलगत्तै कुन समूहलाई लगाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ,’ उनले भने, ‘सम्भवतः ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सम्भावना बढी रहन्छ । खोप थप सुनिश्चितता भए ठूलो संख्यामा लगाउन सकिनेछ ।’

डा. पोखरेलका अनुसार संक्रमण जोखिम हेरेर ठाउँ विशेषमा खोप लगाउन सकिने र राष्ट्रिय खोप कार्ययोजनाअनुसार अभियान अघि बढ्नेछ ।

खोप उपलब्धता आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये ‘कसलाई पहिले दिने ?’ भन्ने तय गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६५ वर्षमाथि ९ लाख बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् ।

त्यस्तै, अर्थ मन्त्रालयका अनुसार कोभिड रोकथाम, नियन्त्रण र उपचारक्रममा पछिल्लोपटक ३३ लाख ६३ हजार ४ सय ५४ थान विभिन्न मेडिकल उपकरण र औषधि खरिद गरिएको छ । २५ हजार ५ सय ५२ केजी सेनिटाइजर, ८ सय ७० केजी कोभिड टेस्ट किट र ६ हजार भायल्स रेम्डिसिभर खरिद गरेर ल्याइएको छ ।

देशका विभिन्न स्थानमा रहेका अस्पतालका लागि अक्सिजन प्लान्ट खरिद तथा जडान, एचडीयू थप स्थापना गरी सञ्चालन र कम्प्युटेट रेडियोग्राफी एक्सरे र इकोकार्डियोग्राफर खरिद गर्न ९ करोड ५ लाख ७० हजारसम्मको प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका महारानीलाई पत्राचार गर्दै नेपालका लागि अत्यावश्यक कोभिड भ्याक्सिन उपलब्ध गराउन सहयोग आग्रह गरेकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत २४ घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, नेपालगन्ज र लुक्ला विमानस्थलबाट विभिन्न वायुसेवाले १ सय ५६ आन्तरिक उडान भरी ३ सय ८२ यात्रु उद्धार गरेका छन् । कुल उडानमध्ये मेडिकल उद्धार उडान संख्या ५५ रहेको छ ।

यसैबीच, देशभर सोमबार ६ हजार ४ सय ९१ संक्रमित निको भएका छन् । संक्रमित निको हुने दर ७९ दशमलव ७ प्रतिशत छ । हालसम्म देशभर ४ लाख ४७ हजार ४ सय ४६ संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार देशभर सोमबार १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४ सय २५ को एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख ६ हजार ४ सय ७० संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ सय १४ संक्रमितको मृत्यु भएको छ । ६ सय ८९ क्वारेन्टाइनमा छन् । देशभर सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४ सय ७० जना रहेको छ । देशभरका अस्पतालमा १ हजार ४ सय ९२ आईसीयू र ४ सय २४ संक्रमित भेन्टिलेटरमा छन् । प्रदेश १ मा २ सय २७ आईसीयू र ६३ भेन्टिलेटर, प्रदेश २ मा १ सय २६ आईसीयू र २८ भेन्टिलेटरमा उपचाररत छन् ।

बाग्मती प्रदेशमा ७ सय ४४ आईसीयू र २ सय ६५ जना भेन्टिलेटर, गण्डकी प्रदेशमा १ सय ५२ आईसीयू र ३१ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ५२ आईसीयू र २३ भेन्टिलेटरमा, कर्णालीमा ५१ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४० आईसीयू र नौ जना भेन्टिलेटरमा छन् । राजधानीबाट

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]