बैशाख १३, २०८१ बिहीबार

आईसीसीले विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या बढायो

काठमाडौं । सन् २०२७ को अन्तर्राष्ट्रिय एकदिबसीय विश्वकप क्रिकेटमा १४ राष्ट्र सहभागी हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को परिषद्ले अर्को चक्रदेखि विश्वकप क्रिकेटमा सहभागी हुने राष्ट्रको संख्या बढाउने निर्णय गरेको हो ।

आईसीसीको मंगलबार बसेको परिषद् बैठकले सन् २०२३–२०३१ चक्रसम्मका लागि महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले प्रत्येक दुई वर्षमा आयोजना हुने विश्वकप टी ट्वान्टीमा २० राष्ट्र सहभागी हुने निर्णय गरेको छ । आईसीसीले ५० ओभरको च्याम्पियन्स ट्रफी समेत ब्युँताएको छ । च्याम्पियन्स ट्रफी सन् २०१७ पछि स्थगित भएको थियो । च्याम्पियन्स ट्रफीमा आईसीसीको एकदिबसीय वरीयताको शीर्ष स्थानमा रहने टोलि सहभागी हुँदै आएको छ । सन् २०२५ र २०२९ मा च्याम्पियन्स ट्रफी पुनः सुचारु हुने भएको छ ।

आईसीसीले विश्व टेष्ट च्याम्पियन्सलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । टेष्ट मान्यता प्राप्त नौ राष्ट्रले दुई वर्षको अबधिमा छ टेष्ट श्रृखंला खेल्ने क्रममा उत्कृष्ट हुने दुई टोलिले टेष्ट च्याम्पियनशीपको उपाधिका लागि स्पर्धा गर्नेछन् । टेष्ट च्याम्पियनशीप सन् २०२५, २०२७, २०२९ र २०३१ मा हुनेछ ।

आईसीसीको परिषद् बैठकले सबैभन्दा महत्वपूर्ण निर्णय भने विश्वकप क्रिकेटमा १४ राष्ट्रको सहभागिता हो । जसले गर्दा विश्वकपमा अब ५४ खेल हुनेछन् । सन् २०१५ को विश्वकप संस्करणपछि सहभागी हुने राष्ट्र १० मा सीमित गरिएको थियो । सन् २०२७ को विश्वकपमा भने सुपर सिक्स चरण हुनेछ । दुई समूहमा रहेको सात सात टोलिमध्ये तीन तीन टोलि सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सका चार शीर्ष टोलि फाइनल खेल्नेछन् ।

तर एशोसिएट राष्ट्रका लागि विश्वकप टी ट्वान्टीमा २० टोलि सहभागी हुने निर्णयले राहत दिएको छ । आईसीसीले क्रिकेटलाई बिस्तार गर्ने योजना अनुरुप चार समूह बनाएर पाँच पाँच टोलिलाई एउटा समूहमा राखेर प्रतियोगिता सुरु गर्नेछ । टी ट्वान्टी विश्वकप क्रिकेट सन् २०२४, २०२६, २०२८ र २०३० मा हुनेछ । प्रत्येक विश्वकपमा ५५ खेल हुनेछन् । नेपाल हाल टी ट्वान्टीको विश्व वरीयतामा १५ औं स्थानमा छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]