बैशाख ८, २०८१ शनिबार

असार १ गतेबाट विद्यालय भर्ना सुरु गर्ने

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा उहाँले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको हो ।

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै उहाँले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्न निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘असार १ गतेबाट भर्ना प्रकृया सुरु गर्नेछौँ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस् ।’

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराउनुभयो । ‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गरिने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै उहाँले त्यसको लागि योजना निर्माण भइरहेको जानकारी गराउनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताउनुभयो । उहाले भन्नुभयो, ‘गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्नेछौँ ।’

बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताउनभभयो । उहाँले मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै भन्नुभयो, ‘करिब एक महिना अघि तत्कालिन स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिनुभएको थियो ।’

सो पत्र कार्यान्वयन गर्न पुनः मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिनभएको छ । बैठकमा जनक शिक्षा सामग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगावै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गर्नुभएको थियो । लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्राचार गर्ने बताउनभयो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगावै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न प्रकृया अघि बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बजेटमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले कार्ययोजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]