चैत्र १५, २०८० बिहीबार

पुष्पलाल, नेकपा र अबको बाटो

शिव ढुङगेल

कार्ल माक्र्सले कम्युनिष्ट घोषणा पत्र जारी गरिरहेको बेला नेपालमा सामाजिक जागरणको शृङ्खला प्रारम्भ भएकै थिएन । राणाहरुको जहानिया शासनको बर्बर दमनको बेला पुष्पलालले नेपालमा कम्युनिष्ट आन्दोलनको घोषणा पत्रको सुत्रपात गर्नुभयो । र, नेपाली कम्युनिष्ट आन्दोलनको घोषणा पत्र जारी गर्नुभयो । कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गरेसंगै नेपाली समाज संगठित रुपमा वर्गीय आन्दोलनको सुत्रपात भयो ।

पुष्पलाल नेपाली श्रमजीवी वर्गका प्रतिनिधि हुनुहुन्थ्यो । नेपाली जनताको मुक्तिका लागि सामन्तवादको अन्त्य, साम्राज्यवादको विरोध र समाजवादी लक्ष्य पुरा गर्न कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । त्यसपछि नेपाली जनताको आन्दोलनले स्पष्ट दिशा प्राप्त गर्यो ।
तत्कालीन शासकका क्रुर दमन, कठोर संघर्ष, पार्टी विभाजन, अभाव र रोगको आक्रमण हुदाँ समेत लक्ष्य प्राप्ति का लागि आजीवन संघर्षरत रहनुभयो । कमरेड पुष्पलालले तीन ‘स’ अर्थात सिद्धान्त, संगठन र संघर्षलाई क्रान्तीको स्वरुपमा व्याख्या गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, हामीले नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि आजसम्म देश र विश्व परिस्थितीको विश्लेषण गरेर क्रान्तिको सिद्धान्त र कार्यक्रम तय गरेका छौ । त्यसको विकास र विस्तार गर्दै आएका छौ । यो नै नेपाली जनवादी क्रान्तिको कार्यक्रम हो ।


पार्टीले आफ्नो सिद्धान्त तय गरेपछि त्यसलाई व्यवहारमा उतार्नको लागि सक्रिय र अनुशासित कार्यकर्ताको विसाल र सुदृढ संगठन बनाउनु पर्छ । पार्टीको नेतृत्वमा जनवर्गीय र पेशागत संगठनहरुका साथै सहयोगी र समर्थनहरुको व्यापक पङ्ती तयार गर्नुपर्छ । सुदृढ र सक्षम कार्यकर्ताहरुको संगठन नै कम्युनिष्ट पार्टीको मेरुदण्ड हो । जनवर्गीय र पेशागत संगठनहरु त्यसका अंग हुन् । पार्टी केन्द्र त्यसको मस्तिष्क हो ।


यी सबै कुरा व्यवस्थित अनुसाशित रुपले संगठित भएपछि नै हाम्रो सिद्धान्त अनुसारको क्रान्तितिर बढ्नका लागि विभिन्न खालका संघर्षहरु बढ्दै जान्छन् । यि नै कुरालाई कमरेड पुष्पलालले तीन ‘स’को सिद्धान्त भन्नुहुन्थ्यो ।


आज मुलुकमा नेपाल कम्युनिष्ट पार्टी दुई तिहाई मतका साथ सरकारमा छ । दुई ठुला सिद्धहष्त पार्टीको औपचारिक एकता सम्पन्न भएको एक बर्ष नाघिसकेको छ । यस अवधिमा पार्टीले आफ्नो प्रष्ट सैद्धान्तिक वैचारिक मान्यताहरु अगाडि सार्न सकेको छैन । पूर्व एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद र पूर्व माओवादीले अंगीकार गरेको एक्काइसौ शताब्दीको जनवाद हाललाई स्थगित गरिएको छ । पार्टीको तत्कालीन वैचारिक कार्यक्रम भनेर जनताको जनवाद भनिए पनि यो सैद्धान्तिक र कार्यक्रमिक हिसाबले अस्पष्ट र अपूर्ण छ । यहि सिद्धान्त प्रतिको अस्पष्टताले कम्युनिष्ट पार्टीलाई कमजोर बनाइरहेको छ ।


बिसाल र सुदृढ संगठन भएको नेकपा एमाले र सैनिकी संगठनमा रहेको माओवादीको एकताबाट कार्यकर्तामा उत्साह थपिनुको सट्टा आज संगठनहरु मुर्झाएका छन् । पार्टी एकताको एक बर्ष पछि तल्ला कमिटीहरुको संगठन निर्माण हुदैछ भने, जनवर्गीय र पेशागत संगठनहरुको सांगठनिक संरचना निर्माण हुन सकेको छैन । कार्यकर्ता परिचालित छैनन् । संगठन व्यवस्थित गर्न नससेकोले नेकपा आज कमजोर बन्दैछ ।


संघर्षको चरणमा हामी सरकार सञ्चालन गर्दैछौ । सरकारमा भएको बेला अधिक प्रगतिशील सुधारका काम गर्दै समाजवादबाट साम्यवादमा पुग्ने लक्ष्यका लागि शक्ति सञ्चय गर्नु अहिलको मुख्यकार्यभार हो । तर, तीनै तहका सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको नेकपाले शासन सञ्चालनमा जनताको मन जीत्न सकेको छैन । यसले संघर्षको चरण, क्रान्तिको चरण कमजोर हुने स्थिति देखिएको छ ।


सिद्धान्त र संगठन कमजोर भएपछि स्वभाविक रुपमा संघर्ष कमजोर हुन्छ । आज नेकपामा सैद्धान्तिक अन्योल छ । संगठन परिचालन कमजोर छ । सरकारमा पठाइएका जनप्रतिनिधिहरु पार्टीवाट निर्देशित हुन सकेका छैनन् । जनताको जीनवसँंग जोडिएका प्रश्नहरुमा सरकारले प्रभावकारी काम गर्न सकेको छैन । सरकारले भ्रष्टाचार, बेथिती रोक्न सकेको छैन ।

यो सरकारले एक्लै गर्न सक्ने कुरा पनि होइन । यो त बिसाल कार्यकर्ता पङ्ति परिचालन गरेर क्रान्तिको साधनको रुपमा प्रयोग गर्न सक्नुपर्छ । हरेक पार्टी सदस्यहरु सरकारको कामको सहयोगी बन्नुपर्छ । सरकार सञ्चालनमा पार्टीले नीतिगत निर्देशन गर्नुपर्छ र कार्यन्वयनमा पार्टी परिचालित हुनुपर्छ ।


कमरेड पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले ठुला–ठुला राजनीतिक परिवर्तनको नेतृत्व गर्यो । सामन्तवाद उच्छेद गर्यो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्यो । जनताअधिकार सम्पन्न भयो तर, अहिले पनि आर्थिक, सामाजिक रुपान्तरणको संघर्ष चलिरहेको छ । उत्पादनका साधनहरु अहिलेपनि सर्वहारा श्रमजीवीका वर्गको हातमा छैन । दलालपुजी व्याप्त छ । देशको अर्थतन्त्र अहिले पनि साम्राज्यवादी शक्ति र भारतीय विस्तारवादी शक्तिको नियन्त्रणमा छ । भ्रष्टाचार व्याप्त छ । प्रष्ट विचार र योजनाको अभावमा तिनै तहका सरकार कुहिराको काग बनेका छन् ।


पार्टीअन्योलमा सञ्चालन हुन सक्दैन । नेकपाले आफ्नो सिद्धान्तलाई प्रष्ट पार्नुपर्छ । पार्टीका सबै तह र तप्कामा संगठनलाई स्पातिलो बनाउन जरुरी छ । पार्टी सिद्धान्त र संगठनको बलमा आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारको अधिकतम प्रयोग गर्दै समाजवादी बाटो तय गर्नु अबको बाटो हुनेछ । यसो गर्न सकेमामात्रै कमरेड पुष्पलालप्रति सम्मान हुनेछ ।

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ११ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]