जेष्ठ १०, २०८२ शुक्रबार

घरघरमा खीर खाएर मनाइयो साउन १५

झापा । नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मर मसलालगायत चीजबीच हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन शुरु भएको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुन सक्ने धर्मशास्त्रविद् गौतम बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्रद्धाका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् बनाउँछन् ।

यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।

नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीच बनाएर इष्ट मित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
खीर खाने पर्वका रुपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको थियो । मैतीदेवमा रातोपुल डेही सञ्चालन गर्दै आएका हरेन्द्र श्रेष्ठ आज धेरै ग्राहकलाई दूध विना नै फर्काउनुपरेको बताउँछन् ।

यसै वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डले खीर दिवसका रुपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोनाजस्ता भाइरसबाट बचाउन सफल हुने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]