बिर्तामोडमा खोप लुकाएको भन्ने आरोप गलत : स्वास्थ्य प्रमुख घिमिरे
बिर्तामोड । स्वास्थ्य कार्यालय झापामा प्रमुख योगराज घिमिरेले बिर्तामोडमा खोप लुकाइएको भन्ने आरोप गलत भएको जानकारी दिए । उनले स्वास्थ्य कार्यालय झापाबाट वैधानिक प्रक्रिया पुरा गरेर खोप उपलब्ध गराएको बताए ।
बिर्तामोडले खोप अभाव भएर माग गरेपछि १०३ भायल खोप पठाएको बताउँदै उनले आवश्यक प्रक्रिया पुरा गरेर पठाएको खोप लुकाउन कसैले नसक्ने बताएका छन् । इजलाससित कुरा गर्दै प्रमुख घिमिरेले स्वास्थ्य जस्तो गम्भीर विषयमा अफवाह फैल्याउनु दुखद् भएको बताए । उनले जनस्वास्थ्यका खोप प्राविधिक बालकृष्ण भण्डारी र अर्का कर्मचारी बिशाल घिमिरेको साथमा खोप पठाएको बताए । स्वास्थ्य कार्यालयको इ.एल.एम.आई.एस. प्रणालीमा दर्ता गरेर खोप विर्तामोड पठाइएको उनको भनाई छ । सो खोप पठाइएको बारे ३ बजेर १ मिनेटमा बिर्तामोड नगरपालिकालाई स्वास्थ्य कार्यालयले इमेल गरेको थियो ।
जनस्वास्थ्य प्रमुख घिमिरेले वैधानिक प्रक्रियाबाट पठाइएको खोपमा अनर्गल प्रचार भएको भन्दै आम जनसमुदायमा त्यस्तो नबुझ्न आग्रह गरेका छन् ।

हरेक पालिकामा कोभिड फोकल पर्सनलाई खोप जिम्मा दिने व्यवस्था छ, घिमिरेले भने – अथवा फोकल पर्सनले भनेको व्यक्तिलाई खोप बुझाइने गरेको छ । खोप लिएर गएका कर्मचारीलाई ओमजीले होटलमा छु , यहि ल्याइदिनु भनेपछि कर्मचारीले त्यहि पुराइदिएका हुन् । खड्का जी खाजा खान त्यहाँ गएकाले त्यहाँ नै खोप लिएर साथीहरु पुगेछन् । उहाँले एकैछिनमा नगरको गाडि बोलाएर लैजान्छु भनेपछि हाम्रा कर्मचारीले छोडेर आएको सत्य हो, उनले थपे । खोप लिन नगरको गाडि समेत होटल पुगिसकेको अवस्थामा त्यहाँ लुकाइएको आरोप लागेछ । त्यो गलत हो । अब, यो खोप अर्कैतिर पठाइदिन्छु । खोप पठाउँदा समस्या हुन्छ भने अरुतिर पनि अभाव छ, त्यतै पठाइदिन्छु ।

टाइमलेसमा खोप अवधिभरका लागि कर्मचारीलाई बस्न र खानपिनका लागि व्यवस्था मिलाइएको छ । सोही ठाउँमा खोप पुर्याउँदा समस्या भयो, अबका दिनमा कार्यालयमै छोड्नुपर्ने शिक्षा समेत प्राप्त भएको छ, घिमिरेले थपे । सो खोप पुनःस्वास्थ्य कार्यालयले जिम्मा लिएको छ । खड्कालाई आवश्यक सोधपुछपछि घर पठाइएको छ ।