उठाउन थालियो बिर्तामोडको फोहोर
बिर्तामोड । बिर्तामोडमा आजदेखि फोहोर उठाउन थालिएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँ अभावका कारण दुई सातादेखि फोहोर उठेको थिएन । फोहोर नउठाउँदा बिर्तामोडको चोक, गल्लीहरु दुर्गन्धित भएका छन् ।

मेयर धु्रव कुमार शिवाकोटीले आफ्नो निजी जमिनमा फोहोरको व्यवस्थापन गर्न ठाउँ उपलब्ध गराएपछि फोहोर उठाउन थालिएको नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए । उनका अनुसार मेयरको बिर्तामोड–७ मा रहेको निजी जग्गामा ठाउँ दिएपछि तत्कालका लागि फोहोर उठाएर पुरिएको छ । अल्पकालिन समाधानका लागि मेयरले जग्गा उपलब्ध गराएको कार्कीको भनाई छ ।
झण्डै १२ दिनदेखि बिर्तामोडमा फोहोर उठाइएको थिएन । फोहोर उठाउने जिम्मा पाएको निराकार सरसफाई सेवा प्रालिले ठाउँ अभावका कारण समस्या भएको जनाएको छ ।
प्रशासन प्रमुख कार्कीले ल्याण्डफिल्ड साइडका लागि जमिनको खोजी भइरहेको जानकारी दिए । उनले स्थानीय राजनीतिक दल, स्थानीय नागरिक र नगरपालिकाको समन्वयमा दीर्घकालिन व्यवस्थापनको लागि आवश्यक प्रयास भइरहको बताएका छन् ।