जेष्ठ ५, २०८२ आईतबार

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मेको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्वभर हिन्दु धर्मावलम्बीहरूले भक्ति योग, ज्ञान योग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी छन्। द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

राष्ट्रपतिले सन्देशमा भनेकी छन्, ‘यस पर्वले बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिएको छु ।’

राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन समेत सबैलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : भाद्र १४, २०७८ सोमबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]