जेष्ठ ५, २०८२ आईतबार

कृषिमा संभावना देखेर करोडौं लगानी

बिर्तामोड । झापाको बिर्तामोड वडा नं. २/३ मा पूर्वी किरण कृषि फर्म शुरु भएको एक वर्ष पुग्न लाग्यो । गत साल मंसीरबाट थालिएको कृषि फर्ममा अहिले माछादेखि पाडासम्म हुर्किरहेका छन् ।

विभिन्न क्षेत्रमा रहेका चार जना व्यक्तिले कृषिमा संभावना देखेर करोडौं रुपैयाँ लगानी गरिसकेका छन् । एक वर्षको अन्तरालमा २ करोड लगानी भइसकेको सञ्चालक विष्णु खरेलको भनाई छ । उनका अनुसार अब तत्कालै थप एक करोड लगानी थप गर्न लागिएको छ । कृषि फर्ममा माछा, लोकल कुखुरा,हाँस, टर्की, बट्टाई, लोकार्ड, पाडा, जंगली बँदेल र बाख्रा पालिएको छ । कृषिमा अभिरुची भएका सञ्चालकहरुले १० जनालाई रोजगार दिएका छन् ।

फर्ममा थोरै क्षेत्रफलमा धेरै माछा उत्पादन गर्न सकिने प्रविधि बायोफ्लक समेत राखिएको छ । तीन वटा पोखरीमा हजारौ माछा हुर्किरहेका छन् भने त्यस्तै गरि बायोफ्लकमा पनि माछा बाक्लै गरि हुर्किरहेका छन् । खरेलसँगै अनुप निरौला, अभि रिजाल र हेमा दंगलाले फर्ममा लगानी गरेका छन् । कृषि क्षेत्रमा पर्याप्त संभावना भएर पनि जोखिमका डरले धेरै जना कृषिलाई अंगाल्न नसकेको खरेलको भनाई छ । फर्मभित्र हाँसका लागि अलग्गै सानो पोखरी बनाइको छ भने लोकल कुखुराको चरनको लागि घाँसबारीको व्यवस्था मिलाइएको छ । खरेलले परेवाका लागि समेत संरचना निर्माण सकिएको जानकारी दिए ।

६ विगाह जमिन भाडामा लिएर कृषि फर्म सञ्चालन गरिरहेको समुहले सञ्चालनको पहिलो वर्षलाई उत्पादन वर्ष मानेको छ । अहिलेसम्म व्यापार नै शुरु गरिसकेको छैन, खरेल भन्छन् – ‘अब २ महिनापछि उत्पादनहरु विक्रि योग्य हुनेछन् । अहिले पनि छिटपुट व्यापार त भइरहेकै छ ।’ २ वर्षको व्यापारबाट लगानीलाई शुन्यमा झार्ने योजना रहेको सुनाएँदै खरेलले कृषि क्षेत्रमा लाग्न चहाने युवाहरुका लागि आवश्यक सहयोग समेत गर्ने बताए । फर्ममा ह्याचरिङ पनि गर्न थालिएको छ । चल्लामा आत्मनिर्भर हुन ३ हजार क्षमताको ह्याचरिङ मेसिन समेत प्रयोगमा ल्याइएको खरेलको भनाई छ ।

अन्य क्षेत्रमा काम गरेर जीवनको लामो अनुभव अन्यत्रै भएका व्यक्तिहरुले सञ्चालन गरेको कृषि फर्म लोभलाग्दो छ । कतै पाडाँ कराइरहेको छ त कतै हाँस पौडिरहेको छ । ठुला पोखरीका माछा देखिने गरि खेलिरहेका छन् भने अर्का तिर बाख्रा मज्जाले कराइरहेका छन् । म प्रायःदिनभर यहि फर्ममा बस्छु, खरेलले भने– जीवजन्तु, पशुपंक्षीसँग रहँदा धेरै आनन्द लाग्दो रहेछ ।

कृषि कर्मका लागि धेरै चुनौति भएको वितेको एक वर्षमा खरेलले अनुवभ गरेका छन् । धेरै तितामिठा अनुभव गरिसकेका खरेलले काम गर्ने श्रमिक पाउनै मुस्किल भएको सुनाए । स्थानीस्तरबाट काम खोज्न कोहि आउँदैन, आउनेहरु पनि एक/दुई महिनामा काम सिकिसकेर गइहाल्छन्, उनले थपे । कृषि कर्जा लिन उस्तै समस्या भोग्नुपर्ने अनुभव छ । कृषिका लागि सरकारी बैंकबाट कर्जा झिक्न अत्यन्तै लामो र झन्झटिलो प्रक्रिया भएको खरेलले बताए । उनका अनुसार प्राइभेटमा १/२ प्रतिशत व्याज महंगो हुन्छ, तर प्रक्रिया सहज छ ।
उनले बजारमा उत्पादन लैजान पनि समस्या हुने बताए । व्यापारीलाई उत्पादन दिँदा उचित मुल्य नपाइने भएकाले आफै विक्रि कक्ष निर्माणको तयारीमा रहेको बताएका छन् । खरेलले भने, हामी हाम्रो उत्पादनलाई मोवाइल विक्री गर्ने तयारीमा छौं । सेल्स काउण्टर बनाएर व्यापार गर्ने भन्दै खरेलले विचौलियाको मारमा नपर्ने गरि योजना बनाएको बताए ।

प्रकाशित मिति : भाद्र १४, २०७८ सोमबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]